PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मृत्युसँग संघर्षरत् बिरामीलाई बीचमै उतारेर फरार ट्याक्सी चालक पक्राउ



पहिलोपोस्ट

मृत्युसँग संघर्षरत् बिरामीलाई बीचमै उतारेर फरार ट्याक्सी चालक पक्राउ

काठमाडौँ : बिरामी व्यक्तिलाई ट्याक्सीबाट उतारेर भाग्ने ट्रायक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको टोलीले दोलखा मेलुङ घर भएका कमलप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी सुनिल मल्लले जानकारी दिए। ‘लुकिछिपि बसिरहेको अवस्थामा धेरै खोजी गरेपछि पक्राउ गर्न सफल भएका हौं,' उनले भने।

गत बुधवार चालक श्रेष्ठ बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ का ६० वर्षीय गोपालकार रञ्जितलाई ट्याक्सीबाट उतारेका थिए। त्यसको केही समयमा नै गोपालकारको मृत्यु भएको थियो।

घटना के थियो?

गत बुधवार सवा ९ बजे मधुमेह र उच्च रक्तचाप भएका ६० वर्षीय बुबालाई उपचार गराउन प्रविन घरबाट हिँडे। उनीसँग मोटरसाइकल थियो। बुबालाई रोगले चापेका कारण ट्याक्सी बुक गराएर चावहिलको मेडिकेयर अस्पताल पुर्‍याए।

करिव सवा घण्टामा बुबाको उपचार सकियो। घर लैजान पहिलेकै उपाय अपनाए उनले। श्रेष्ठले चलाएको बा १ ख ३८५१ नम्बरको ट्याक्सी बोलाए। बुबालाई ट्याक्सीमा हालेर आफू मोटरसाइकलमा हुइँकिए। चावहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल नजिकै पुगेपछि ट्याक्सीमा चढेका ६० वर्षीय रञ्जितकार उफ्रिन थाले। चालक श्रेष्ठ डराए। गुडिरहेको ट्याक्सी रोके। ढोका खोलेर रञ्जितकारलाई झारे। ‘जवर्जस्ती झारेको देखिन्छ। आफू डराएर झारेको बयान चालकले दिएको छ,' डिएसपी मल्लले भने।

रञ्जितकार छटपटिरहेका थिए। स्थानीयले देखेर अस्पताल पुर्‍याए। तर, उनी बाँच्न सफल भएनन्। ‘चालकले आफ्नो दायित्व पूरा गरेनन्। नजिकै अस्पताल थियो पुर्याएको भए वा प्रहरीलाई खबर गरेको भए हुन्थ्यो। भागेको कारण नियन्त्रणमा लिएका हौं,' डिएसपी मल्लले भने।

चालकको लापरबाहीको कारण मृत्यु भएको भन्दै प्रहरीले खोजी शुरु गरेको थियो। चालक श्रेष्ठ मोबाइल नै फेरेर भागेकाले विभिन्न सुचनाको आधारमा पक्राउ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell