PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्रीलाई गच्छदारको काउन्टर: गोलमटोल भाषण दिएर विप्लवलाई नियन्त्रण गर्छु नभनौं, कांग्रेसबाट सिकौ



प्रधानमन्त्रीलाई गच्छदारको काउन्टर: गोलमटोल भाषण दिएर विप्लवलाई नियन्त्रण गर्छु नभनौं, कांग्रेसबाट सिकौ

काठमाडौं: नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले लोकतन्त्र गणतन्त्र र संविधान कुनै एउटा पार्टीले संघर्ष गरेर नआएको भन्दै साझा उपलब्धि आएको बताएका छन्।

उनले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताए। भने, 'सरकार संसदप्रति उत्तरदायी भएको देखिएन। संसदमा धेरै प्रश्नहरु उठेका छन्। तर सरकारले यो सदनको उपेक्षा गरेको छ।'

सदनभित्र उठेका प्रश्नको जवाफ दिन सरकार तयार नभएको आरोप लगाए।

'शान्ति सुरक्षाको अवस्था दिनानुदिन विग्रिँदै गएको छ। लज्जा बोध हुन्छ हामीलाई एउटा बालिका निर्मला पन्तको हत्या हुन्छ। अहिले सम्म सरकारले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन,' उनले थपे, 'एक वर्ष एक महिना सात दिन भएको छ सरकार बनेको। यो बीचमा कति हत्या भए। कति हत्यारा गिरफ्तार भए भनेर प्रधानमन्त्रीले किन रेकर्ड दिन सक्नु भएन। यसबाट पुष्टि हुन्छ। शान्ति सुरक्षाको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ।'

उनले दुई हप्तादेखि सदन अवरोध भइरहेको प्रसंगलाई जोड्दै सरकारले गिरिशचन्द्र लालको प्रतिवेदन सरकारले सार्वजनिक गर्न नसकेको बताए। 'राजपाले सदन अवरोध गरेर सार्वजनिक गर्न भनेको छ। प्रधानमन्त्री अझै गोलमोटोल जवाफ दिएर भइहाल्छ। भइहाल्छ भनेर हुन्छ? कति समय लाग्छ अध्ययन गर्न एक वर्ष त बतिसक्यो।'

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनले बताए।

'नियन्त्रणमा भएको भए प्रधानमन्त्री जीले भनिदिनुपर्थ्यो वाइडबडी कहाँ गयो? आकाशमा विलायो वाइडबडी प्रकरण?'

उनले प्रश्न गरे, '३३ किलो सुन बरामद भयो। खोज्दै जाँदा ठूलो माछा पक्राउ पर्न लाग्यो भन्ने आयो। खोइ कहाँ पुग्यो प्रधानमन्त्रीले भन्नु भएन। ठूलो माछा भन्ने सरकारको कार्यकारी प्रधानमन्त्री हो?'

उनले विप्लवलाईसमेत वार्तामा ल्याउनुपर्ने बताए। जसरी सीके राउतलाई सुटुक्क ल्याउनु भयो। ठूला ठूला भाषण दिएर चुनौती दिएर विप्लवलाई नियन्त्रण गर्छु भनेर हुँदैन। वार्तामा ल्याएर समाधान गर्नुपर्छ।

'जसरी हिजो कांग्रेसको सरकारले माओवादीलाई दमन गरेको थियो। एमाले पनि सहभागी थियो। अहिले सभामुखको कुर्सीमा हुनुहुन्छ,' उनले अगाडि भने, 'शक्तिको प्रयोग हिजोको सरकारले पनि गरेको थियो हिजोको माओवादी माथि। जसरी हिजो वार्ता गरेर शान्ति प्रक्रियामा ल्याएर गर्‍यो त्यसरी नै विप्लवलाई वार्तामा ल्याउनुपर्छ।'

उनले संविधान संशोधनको प्रस्ताव आउन नसको भन्दै सरकारसँग प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell