PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विप्लवलाई नियन्त्रण गर्न राज्य लागिसक्यो, फर्कन सरकारको ब्याक गियर छैन: प्रधानमन्त्री ओली



विप्लवलाई नियन्त्रण गर्न राज्य लागिसक्यो, फर्कन सरकारको ब्याक गियर छैन: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको बचाउ गरेका छन्। उनले आजको संसद बैठकमा बोल्दै सरकारले विप्लव समूहका विध्वंसात्मक क्रियाकलापमा प्रतिबन्ध लगाएको बताए।

'विप्लव समूह भनेर चिनिने एउटा समूह छ। सरकारले धेरैपल्ट आग्रह गर्‍यो। मैले पनि धेरै पल्ट आग्रह गरेँ। चुनाव पनि हुन दिन्न भन्ने। निर्दोष मान्छे मार्ने। उम्मेद्वारको खुट्टा काट्ने,' उनले भने, 'चन्दाका नाममा चन्दा होइन चन्दाका नाममा लुटपाट गरिएको छ। डर धम्की देखाएर। यस्तो नगर्न धेरै पटक भनियो। तर भएन। त्यसैले त्यो समूहका गतिविधिमाथि निषेध गर्‍यो।'

उनले विप्लवमाथि लगाइएको प्रतिबन्धको विरोध भइरहेका बेला त्यस्तो विरोध गर्नेलाई उल्टै प्रश्न गरे। 'त्यो समूह कतै दर्ता छैन। जसको ठेगाना छैन। त्यो समूहका क्रियाकलाप अपराधिक छन्। नीतिहरु अपराधिक छन्। सरकारले विध्वंस गर्न पाइँदैन। निषेध भन्यो,' उनले अगाडि भने, 'कतिलाई हनहनी ज्वरो आयो । यो त लोकतान्त्रिक भएन भन्ने। अनी बम पड्काउन पाउने भन्ने हुन्छ लोकतन्त्रमा? उम्मेद्वार मार्न पाउने हुन्छ? जन्तीका बस जलाउने हुन्छ लोकतन्त्रमा? चन्दाका नाममा लुट्न पाउने हुन्छ लोकतन्त्रमा?'

सम्झाउँदा पनि नलागेपछि सरकारले नियन्त्रण गर्न लागेको बताए। 'सम्झाउँदा नलागेपछि राज्यले नियन्त्रण गर्छ। राज्य नियन्त्रण गर्न लाग्यो लाग्यो। ब्याक गियर छैन,' उनले श्रीकृष्णको उदाहरण दिँदै अगाडि भने, 'सबैलाई थाहा हुनुपर्ने श्रीकृष्णलाई सारै सम्झाउन आउँथ्यो द्वापर युगमा। तर पनि औँलोमा चक्र घुमाएर हिँड्थे। सम्झाउँदा भएन भने....। सम्झाउँदा मात्र पार लाउने भए चक्र किन बोक्थे श्रीकृष्णले?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell