PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीके राउतको कार्यक्रममा बजेको राष्ट्रिय गीतबारे प्रधानमन्त्री पनि झुक्किए, सहमतिका दिन खुसीयाली नमनाएकाले आजै दिपावली गर्न सुझाव



सीके राउतको कार्यक्रममा बजेको राष्ट्रिय गीतबारे प्रधानमन्त्री पनि झुक्किए, सहमतिका दिन खुसीयाली नमनाएकाले आजै दिपावली गर्न सुझाव

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँगको सहमतिलाई ऐतिहासिक उपलब्धिको रुपमा अर्थ्याएका छन्। आज संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

'यसबीचमा ऐतिहासिक उपलब्धि। राष्ट्रका निम्ति सारै ठूलो र ऐतिहासिक उपलब्धि भएको छ राजनीतिक हिसाबले,' उनले अगाडि भने, 'देशमा रहेको पृथकतावादी विचार विखण्डनबादी त्यस्तो विचार बोक्ने समूहहरु ती अन्त्य भएका छन्। अब विखण्डनवाद विखण्डनवादी संगठन छैनन्।'

यसैबीच प्रधानमन्त्री ओलीसमेत जनकपुरमा भएको स्वतन्त्र मधेश गठबन्धनको कार्यकारिणी समितिको बैठकमा बजेको गीतमा झुक्किए।

‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली...’ बजाउँदै गत चैत ३ गते स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक सुरु भएको विषय राष्ट्रिय मिडियाका चर्चित हेडलाइन बनेका थिए। व्याकुल माइलाले सिर्जना गरेको यो राष्ट्रगान फरक देश बनाउने अभियानमा जुटेका राउतको गठबन्धनमा बज्नु 'राष्ट्रवाद'को अनुपम नमुना भए झैँ मिडियाबाट सार्वजनिक भयो।

रोचक के रह्यो भने, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता, अभियन्ता र पत्रकारहरुले यही समाचार यति धेरै सेयर गरे कि - ... एउटै माला नेपाली ...' गाउनु मात्र देशलाई स्वीकार्नु हो।

'परिषद् बैठकमा 'राष्ट्रगान' त बजेकै हो तर नेपालको होइन ‘मधेशको राष्ट्रिय गान,

‘कोशी, कमला, गण्डक-काली,

जनक सीता बुद्ध-धारी,

अनन्त उर्वर जय मधेश,

जय जय जय मधेश जय..’ बोलको मधेशको राष्ट्रिय गीत बजेको थियो। यसका सर्जक सीके राउत नै हुन्।

प्रधानमन्त्री ओलीले पनि संसदमा राष्ट्रिय गान सयौँ थुंगा फूलका हामी बजेको भनेर बताए।

'हिजो राष्ट्रियगान राष्ट्रिय झण्डा बनाएर हिँड्ने संगठन आज नेपालको झण्डा र राष्ट्रिय गान 'सयौँ थुंगा फूलका हामी...' गाएर आफ्नो कार्यक्रम गर्न थालेको छ,' उनले भने।

उनले जनमत संग्रहको विषयमा भएको विरोधको विषयमासमेत स्पष्टिकरण दिए। 'जनमत संग्रह कहिँ भनिएको छैन्। कसैले अनौठो शब्द सिर्जना गर्‍यो। जनमत संग्रह भयवाहको रुपमा अर्थ्यायो,' उनले भने, 'जनमत संग्रह लोकतन्त्रमा वाह्य कुरा नभएको दाबी गरे। देशको अखण्डता राष्ट्रिय स्वाधीनताको विषयमा जनमत संग्रह नहुने र त्यसको विषयमा जनमत संग्रह गर्ने भनिएको पनि छैन। हिजो उहाँहरुको मत जनमत संग्रह थियो। अब जनअभिमतमा हिँड्छौँ भनेका छौँ। अहिलेको व्यवस्था जनअभिमतको हो। सरकार जनअभिमतको हो। संसद जनअभिमतको हो। अहिलको प्रणाली जनमत हो।'

उनले विखण्डन एजेण्डा र विचार समाप्त भएको दाबी गरे।

'विखण्डनको एजेण्डा समाप्त भएको छ। खुसियाली मनाए हुन्छ। सहमतिका दिन खुसीयाली नमनाएकाले आज साँझ दिपावली मनाए हुन्छ,' उनले भने।

अहिले आफूलाई लोकतान्त्रिक भन्ने व्यक्तिहरुले नै फालिएको राजतन्त्र व्यूताउन जनमत संग्रहको माग गर्दै हिँड्न थालेको भन्दै 'जोगीले फेरी' लगाएर हिँडेको टिप्पणी गरे।

'कोही आफूलाई लोकतान्त्रिक भन्नेहरुले नै यस (राजतन्त्र)को पक्षमा त्यो जोगीले के लगाउँ छ नी त्यो फूक्ने अँ फेरी लगाउने फेरि लगाएर हिँड्या छन्,' उनले भने, 'अडाइ सय वर्ष अगाडि कुनै विश्वविद्यालय पढेका थिएनन् होला गोरखाका घलेहरुले बुझ्या थिए। कुदेर प्रथम हुनुपर्छ। जन्मसिद्ध कोही पनि हुँदैन्। आज सचेत विश्वविद्यालय पढेका मान्छेहरु नागरिक भएकोमा गर्व गर्न नसक्ने रैतान हुँन पाउँ हजुर भनेर दर्खास्त हाल्ने। नागरिक भएकोमा गर्व छैन रैतान हुने इच्छा छ।'

यसैबीच प्रधानमन्त्री ओलीले नेपालमा खाद्यान्न अभाव हुन नदिने दाबी गरेका छन्। उनले त्यसका लागि चिनियाँ बाटो पनि प्रयोगमा ल्याइएको बताए।

'खाद्यान्नको अभाव कहिँ हुन दिँइएको छैन। कही अभाव हुन्छ भने हामी त्यहाँ खाद्यान्न पुराउने व्यवस्था गरेका छौँ,' उनले भने 'त्यसका लागि हामीले चीनको बाटो पनि प्रयोग गरेका छौँ।'

उनले महिलाहरुलाई उपचार अभावले मर्न नदिने बताए।  'कहिँ प्रजनन पीडामा परे अफ्ठेरामा परे भने हेलिकप्टर पठाएर भए पनि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने व्यवस्था गरेका छौँ,' उनले भने।

उनले धान उत्पादनमा बृद्धि भएको बताए। सिँचाइको प्रवन्धका लागि यसै वर्ष भेरी वबइ डाइभर्सन सम्पन्न गरे। 

उनले यो वर्ष उपलब्धिको वर्ष भएको बताए।

'मैले यो सरकारले यसरी गरेको छ भनेको छु। के भयो केही भएनन केही भएन भन्ने सुनिन्छ। यस वर्ष ८०० किलोमिटर सडक कालोपत्र भएको छ। नेपालको इतिहासमा एक वर्षभित्र यति भएको थिएन्,' उनले भने, 'धेरै दुरगामी महत्त्वका काम भएका छन्। आगामी वर्ष पनि धेरै हुने छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell