PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

निर्मला प्रकरण: यातना र प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी विष्टसित साढे १० लाख धरौटी माग



एम बम

निर्मला प्रकरण:  यातना र प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी विष्टसित साढे १० लाख धरौटी माग

कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट र यातना दिएको आरोप लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी लिई रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ। 

न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले तत्कालीन एसपी विष्टसित धरौटी माग गरेको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

'प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख धरौटी माग गरिएको छ,' अवस्थीले भने।

चैत ५ गते अदालतमा हाजिर भएका विष्टलाई प्रमाण नष्ट र यातना दुवै मुद्दाको अलग अलग बयान लिइएको थियो। त्यसपछि थुनछेकको बहस शुक्रबार सकिएपछि आज आइतबार धरौटीमा रिहा गर्ने आदेश दिइएको हो।

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ।

यसअघि हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका ८ प्रहरीमध्ये ६ प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन ३० गते कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको थियो।  

अदालतले इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

अब मुद्दा परेका मध्ये केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँबाट अनुसन्धानका लागि खटिएका डिएसपी अंगुर जीसीमात्र अदालतमा उपस्थित हुन बाँकी छ।  

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell