PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


'चेन ब्रेक' रणनीति फेल खाँदा हेमन्त ओली पक्राउ : प्रहरीको पटक पटकको सर्च अभियानपछि समातिए


पहिलोपोस्ट

'चेन ब्रेक' रणनीति फेल खाँदा हेमन्त ओली पक्राउ : प्रहरीको पटक पटकको सर्च अभियानपछि समातिए

काठमाडौं : पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो तहका नेता हेमन्तप्रकाश ओली शुक्रवार राति प्रहरीको जालमा परे। यसअघि पटकपटक उम्केका उनी यसपटक प्रहरीको घेरामा परेको पत्तै पाउन सकेनन्।

गएको एक साताभित्र पटक पटकको प्रहरी अटेम्टलाई वेवास्ता गर्दै काभ्रेमा रहेका उनी अन्तत: प्रहरीको नियन्त्रणमा पुगे। उनीसँगै ८ जना नेकपाका कार्यकर्ता पनि समातिए।

हेमन्तप्रकाश ओली काभ्रेको दुर्गम क्षेत्रमा बसिरहेको जानकारी प्रहरीसँग यसअघि नै थियो। तेस्रो तहका नेतासमेत रहेका ओलीलाई नियन्त्रणमा लिन सके विप्लवको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का पुग्ने प्रहरीको विशेष टोलीले विश्लेषण गरेको थियो।

त्यसैले राजधानीका कलेजहरुमा विप्लव समूहसँग जोडिएका विद्यार्थीहरु निगरानीमा थिए। हेमन्तप्रकाश ओली उर्फ सुदर्शनलाई पक्रन विद्यार्थीदेखि कार्यकर्तासम्मबाट सहयोग लिन सक्ने प्रहरीको अनुमान थियो। त्यसैका आधारमा प्रहरीले गत साता डेकेन्द्र राई प्रकाउ परे। प्रहरीले विप्लव समूहका अरु नै नेता पछ्याउनेक्रममा बालाजुबाट डेकेन्द्र समातिएका थिए।

डेकेन्द्र राई नख्खुमा फागुन १० गते भएको विस्फोटमा संलग्न रहेको प्रहरीले दावी गर्दै आएको थियो। ‘वाइ चान्स’ समातिएका राईमार्फत प्रहरीको पन्जा नीरबहादुर विकसम्म पुग्यो।

समातिएका राई र विकलाई उठाएपछि प्रहरीले उनीहरुकै साथ लिएर काभ्रेका डाँडाहरुमा अपरेसन सुरु गर्‍यो। त्यही अपरेसनका क्रममा गत साता गोली हानाहानको अवस्थासम्म पुग्यो- विप्लव समूह र प्रहरीबीच।

हेमन्त ओलीसहितको टोली काभ्रेमै रहेको बलियो सूचना पाएको प्रहरीको टोली र विप्लवका कार्यकर्ता काभ्रेमा आमने सामने भएका थिए। प्रहरीको नियन्त्रणमा रहेका दुई जनाको गेस्चरका आधारमा प्रहरीले शंका गरे पनि उनीहरुले आमने सामने भएका व्यक्तिलाई नचिनेको बताएका थिए। तर, प्रहरीले पुन: उनीहरुलाई फलो गर्न थालेपछि सुरु भएको थियो फायरिङ।

हेमन्तप्रकाश ओलीको खोजीमा हिँडेको प्रहरीले भेटेको व्यक्ति थिए विशाल तामाङ। वसुन्धरामा भएको विस्फोटको समयमा तामाङ त्यही क्षेत्रमा रहेको प्रहरी अनुसन्धानमा देखिएकाले घटनामा उनको संलग्नता रहेको प्रहरीको अनुमान थियो।

विप्लवका सहयोगी शिव धिताल त्यही समातिए। एक युवक भने त्यहाँबाट उम्किन सफल भए। उनैबाट प्रहरी परिचालन भएको सूचना हेमन्तसम्म पुग्यो।

प्रहरीलाई चक्मा दिन ‘चेन ब्रेक’ रणनीति अपनाउँदै आएका ओलीको चक्करमा काठमाडौंदेखि खटिएका प्रहरी र काभ्रेका प्रहरीले दुर्गम ठाउँमा सर्च अभियान जारी राखेका थिए। कार्यकर्तालाई समेत पूरा जानकारी नदिने र मोबाइल फोन पनि खासै प्रयोग नगर्ने उनको त्यही चेन ब्रेक रणनीति प्रहरीको सर्च अभियानका क्रममा शुक्रवार राति तोडियो।

पढ्नुस् :

राति काभ्रेको प्रहरी सर्चमा समातिए हेमन्तप्रकाश ओली, एकको ज्यान लिनेगरी भएको विस्फोटको जिम्मा लिएका थिए



'चेन ब्रेक' रणनीति फेल खाँदा हेमन्त ओली पक्राउ : प्रहरीको पटक पटकको सर्च अभियानपछि समातिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट