PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राजपा - फोरमबीच एकताका लागि पत्राचार, सरकारले परिवर्तनकारीलाई धम्क्याएको आरोप



बीपी साह

राजपा - फोरमबीच एकताका लागि पत्राचार, सरकारले परिवर्तनकारीलाई धम्क्याएको आरोप

काठमाडौं: मधेशको राजनीतिक समीकरण फेरबदल आएपछि मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको चर्चा चलाइएको छ।

दुबै दलले एकीकरणको आवश्यकता रहेको भन्दै पत्राचारमार्फत वार्ता प्रक्रिया अगाडि बढाएको जनाएका छन्।

सत्तारुढ संघीय समाजवादी फोरमले पुस १९ गते पहिलो पत्र राजपालाई पठाएको थियो। त्यसपछि राजपा नेताहरुको गोप्य बैठक पछि फागुन ३० गते फोरमलाई पुनः पत्र पठाइएको थियो।

उक्त पत्रमा सरकारले परिवर्तनकारी शक्तिलाई धम्याउन खोजेको आरोप राजपाले लगाएको छ।

राजपाले पठाएको पत्रमा भनिएको छ, ‘ससफो, नेपालका यी बुझाइहरु अत्यन्तै यथार्थ र बस्तुपरक छन् तर व्यवहार र हातेमालो मात्र हैन त्यो पार्टीले त्यसै यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नलाई पुग्ने गरी दुई तिहाइको संसदीय गणितलाई ग्यारेन्टी गर्दै मजबुती प्रदान गर्ने काम गरिरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ।’

‘त्यसर्थ, वर्तमान अवस्थामा केन्द्रिय राजनीतिको दुई ध्रुब सत्ता पक्ष र प्रतिपक्षमा रहेका हामी बीच कसरी एकता वार्ता गर्ने ? एकता वार्ता अगाडी बढाउन ससफो नेपाललाई वार्ताको वातावरण बनाउन आग्रह गर्दछौं।’ राजपाको पत्रमा उल्लेख छ।

उक्त पत्रको जवाफ दिदै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत्र ६ गते पत्र पठाएका छन्।

‘हामीले एक–अर्कामाथि आरोप प्रत्यारोपमा समय र शक्ति खर्च गर्नु भन्दा पनि मुलुकको वर्तमान परिस्थिति, आवश्यकता र शोषित, पीडितजनताको मुक्तिको सवाललाई नै महत्व दिई देश र जनताको भविष्यलाई ध्यानमा राखेर कार्य गर्नु नै उचित हुने जस्तो लाग्दछ। हामीहरु मध्ये कोही सरकारमा र कोही प्रतिपक्षमा भएकै कारणले मात्र पार्टी एकीकरण जस्तो महत्वपूर्ण कार्यमा बाधा अवरोध हुनु हुँदैन। यो नीतिगत सवाल नभई रणनीतिक तथा कार्यनीतिक सवाल मात्र हो जूनकी समय सापेक्ष परिवर्तनशील भइरहने हुन्छन्। पार्टी एकीकरण गर्न पार्टीहरुकोबीच उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्नु पर्दछ। हाम्रा दुई पार्टीहरुबीच एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहाँ रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने हो? एकीकरण पछि बन्ने एकीकृत पार्टीले सो सम्बन्धमा निर्णय गरे अनुसार नै हुने गरी पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ अथवा आपसी सहमति र समझदारी कै आधारमा यस्ता विषयहरु हल गर्न सकिन्छ। हाम्रो पार्टीको तर्फबाट पार्टी एकता र एकीकरण गर्न वार्ता समिति गठन भैसकेको व्यहोरा अवगत नै छ। त्यहाँबाट पनि वार्ता समिति गठन गरी एकीकरणको प्रक्रियालाई समयमै टुङ्गो लगाउने गरी निर्णय गर्नु हुनेछ भन्ने अपेक्षा सहित। हार्दिक अभिवादन,’ फोरमको पत्रमा उल्लेख छ।

तर, फोरमले गोप्य भनेको पत्र सार्वजनिक गरेपछि राजपाको नेताहरुमा संशय छाएको छ। फोरम नेपालले एकीकरणको प्रक्रियाका विषयलाई सार्वजनिक गरेर एकीकरण गर्न नचाहेको राजपाका एक नेताले बताए।

उनले भने, ‘एकीकरण यसरी सम्भव हुँदैन। हामीले ६ वटा पार्टी मिलेर एकीकरण गरेका थियौं। सबै गोप्य थियो। तर उपेन्द्र जीको पार्टीले सबै कुरा सार्वजनिक गर्दै हुनुहुन्छ। अर्थात यो स्टन्ट जस्तो लाग्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell