PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

उत्तर कोरियालाई सहयोग गरेको भन्दै अमेरिकाले लगायो चिनियाँ कम्पनीमाथि प्रतिबन्ध



उत्तर कोरियालाई सहयोग गरेको भन्दै अमेरिकाले लगायो चिनियाँ कम्पनीमाथि प्रतिबन्ध
फोटो :REUTERS

सियोल : अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसंघीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ।

अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको अमेरिकी आरोप छ। यस्तो कार्यमा अरु एक दर्जन कम्पनी संलग्न रहेको भन्दै सूक्ष्म अनुसन्धान भइरहेको अमेरिकाको अर्थ मन्त्रालयले जनाएको छ।

भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता विफल भएपछि पछिल्लो प्रतिबन्ध लगाइएको हो।

अमेरिकाले उत्तर कोरियामाथि आणविक हातहतियारको उत्पादन र क्षेप्यास्त्र प्रणाली विकास कार्यक्रम स्थगित गर्न एवं आफूसँग रहेका सबै किसिमका आणविक अस्त्र नष्ट गर्न दबाब दिइरहेको छ। उत्तर कोरियाले भने राष्ट्रसङ्घीय प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने शर्त राख्दै आएको छ।

सन् २०१७ मा उत्तर कोरियाले आणविक हातहतियार र ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेलगत्तै राष्ट्रसंघले उत्तर कोरिया विरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा गरिएको थियो। उक्त प्रतिबन्धहरुमा उत्तर कोरियाले प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न र कोरियाबाट कोइला निर्यात गर्न नपाइने उल्लेख छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार गत वर्ष कम्तीमा २६३ ट्याँकर प्रशोधित पेट्रोलियम गैरकानुनी किसिमबाट उत्तर कोरिया भित्रिएको थियो। यदि ती ट्याँकर पूरा भरिएको अवस्थामा रहेका भए कोरियाले करिब ३७ लाख ८० हजार ब्यारेल इन्धन आयात गरेको देखिन्छ।

राष्ट्रसंघले तोकेको भन्दा यो झण्डै ८ गुणा बढी आयात हो। प्रति वर्ष पाँच लाख ब्यारेल तेल मात्र उत्तर कोरियाले आयात गर्न पाउने गरी राष्ट्रसंघले सीमा तोकेको छ। रासस/योनहाप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell