PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्राध्यापक मदनकुमार दाहालको निधन : देशको अवस्थाबारे तीन साताअघि दिएका थिए यस्तो अभिव्यक्ति



पहिलोपोस्ट

प्राध्यापक मदनकुमार दाहालको निधन : देशको अवस्थाबारे तीन साताअघि दिएका थिए यस्तो अभिव्यक्ति

काठमाडौं : अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो।

सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले धेरै विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए। 

साढे चार दशकदेखि एउटै पेशा र क्षेत्रमा रहेका काम गरेका श्रीलंकाका लागि नेपालका राजदूत प्रोफेसर बिश्वम्भर प्याकुरेलले दाहालको निधनले आर्थिक उदारीकरणका क्षेत्रमा गम्भीर क्षति पुगेको बताए।

कसैको चित्त नदुखाउने मानिसका रुपमा सम्झँदै प्याकुरेलले आर्थिक क्षेत्रमा प्रोफेसर दाहाल 'क्रिटिकल अप्रेजल' गर्ने ब्यक्ति भएको बताए। प्याकुरेलले भने- 'उनी साँचोलाई साँचो झुठोलाई झुठो भन्ने मान्छे थिए। कसैको प्रभावमा पर्दैनथे।'

मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। अर्थशास्त्रमा विद्यावारिधि दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन्। संघ अर्थशास्त्रीहरुको संगठन हो। 

उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए। 

उनले तीन साता अघि मुलुकको अवस्थाप्रति चिन्ता जनाउँदै फेसबुक स्टाटस लेखेका थिए। 

यस्तो थियो उनको स्टाटस

नेपाल र नेपालीको दुर्भाग्य !

(1) नेपालको राजनीतिमा विगत ३० वर्ष देखि आज सम्म नेताहरू निरन्तर कुर्सीको लडाईमा नाङ्गो रूपमा भिडन्त गर्दै छन्। परिणाम स्वरूप आर्थिक विकासको क्रम अवरूद्ध हुनुका साथै अर्थतन्त्र पूर्ण रूपमा धराशयी भयो। संसारको चौथो गरीव मुलुक नेपाल दक्षिण एसियामा सवै भन्दा पछि पर्न गयो। भ्रष्ट्राचार केन्द्र देखि प्रदेश र स्थानीय निकाय सम्म संस्थागत रूपमा झाङ्गियो। विगत देखिनै भ्रष्ट्राचारलाई खुड्किलो वनाएर राष्ट्रको सम्पति दोहन गर्ने क्रम निरन्तर जारी छ। भ्रष्ट्राचारीहरू सम्पन्न वर्गमा उक्ले।

(2) यो ३ दशकमा नेपाल र नेपालीले अकल्पनीय दुर्दशा भोग्नु पर्‍यो ! अव राष्ट्रको अस्मिता वचाउन वर्तमान सरकारवाट विगत ३ दशक देखि आज सम्म उच्च पदमा आसिन सवै क्षेत्रका भ्रष्ट्राचारीलाई सम्वन्धित निकायवाट कानूनी कारवाही शुरू गरिनु पर्दछ। अन्यथा जनतालाइ सह्य हुने छैन; जनतालेनै अर्को सरकार र अर्को सम्विधान खोज्ने दिन आउन सक्छ। कुनै कुरा निर्विकल्प छैन। जनताले चाहे अनुरूपको परिवर्तनलाई कुनै शक्तिले रोक्न सक्तैन- चेतना भया!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell