PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रिपरिषदले किन्ने निर्णय गरेको डीइएमयु रेल कस्तो?



दिनेश खड्का

मन्त्रिपरिषदले किन्ने निर्णय गरेको डीइएमयु रेल कस्तो?

काठमाडौं : रेल किन्न सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेलमार्ग निर्माण भइसकेको छ। यही रेल चलाउन सरकारले रेलसहित डिब्बा किन्न यो रकम दिने निर्णय गरेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीइएमयु) मा आधारित रेल किन्न लागेको हो।

मन्त्रिपरिषद बैठकले भारतको सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडसँग दुई सेट रेल किन्न सहमति दिएको हो। जनकपुर-कुर्था ३९ किलोमिटर रेलमार्ग विच्छ्याएर परीक्षण समेत भइसकेको छ। रेल अभावका कारण सञ्चालनमा भने आउन सकेको छैन।

सुरुमा सरकारले वेट लिजमा रेल ल्याएर संचालनको निर्णय गरेको थियो। तर, भाडामा ल्याउनुभन्दा किनेर नै संचालन गर्दा फाइदा हुने भन्दै निर्णय परिवर्तन गरिएको थियो। रेल विभागका महानिर्देशक बलराम मिश्रले वैसाखसम्म रेल खरीद गरेर जेठ महिनासम्म संचालनमा ल्याइसक्ने बताए।

मिश्रका अनुसार भारतीय सरकारले तोकिदिएको सरकारी संस्थानसँग रेल खरीद गर्न लागिएको हो। विभागका अनुसार एउटा ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन्। त्यसमा एउटा मुख्य र अर्को सहायक इन्जिनको डिब्बा हुन्छ। रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ। यसलाई नमोडी संचालन गर्न सकिने र छोटो दुरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने भएकाले खरीद गर्न लागिएको हो।

गत असोज २८ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्माणाधीन जयनगर- जनकपुर खण्डमा आफ्नै रेल चलाउने निर्णय गरेको थियो। रेल आफैले खरीद गर्ने भए पनि संचालनका लागि केही समय भारतीय प्राविधिकबाट सहयोग लिइने जनाइएको छ। नेपाली प्राविधिक सक्षम भएपछि नेपालीले नै यसको संचालन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell