PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लैंगिक हिंसा नियन्त्रणको माग गर्दै २३, २४७ पत्र गृह मन्त्रालयमा



विधुर ढकाल

लैंगिक हिंसा नियन्त्रणको माग गर्दै २३, २४७ पत्र गृह मन्त्रालयमा

काठमाडौं: एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यको माग राख्दै संकलित २३ हजार बढी पत्र बिहीवार गृहमन्त्रालयलाई बुझाएको छ। विभिन्न समयमा हुने लैंगिक हिंसाका घटनाका दोषीलाई कारवाहीको माग गर्दै देशका विभिन्न स्थानबाट लेखिएका २३ हजार २४७ पत्रहरू गृह मन्त्रालयलाई ‍बुझाएको हो।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले पत्रहरु गृहमन्त्रीका सल्लाहकार/विज्ञ सूर्यप्रकाश सुबेदीलाई उक्त पत्रहरू बुझाएको हो।

एम्नेस्टीले सन् २०१८ मा २० दिन पत्र संकलन अभियान चलाएको थियो। विश्वभर सन् २०१८ को २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म 'राइट फर राइट्स' अभियान चलाएर पत्र संकलन गरिएको थियो।

पत्रहरूमा नेपालमा स्थायी सरकार आए पनि महिला माथि हुने हिंसामा कमी नआएको र दण्डहीनताको अवस्था डरलाग्दो भएको भन्दै हिंसा अन्त्यका लागि माग गरिएको छ। महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदमहरू चाल्न, पीडकहरूलाई कानूनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एक वर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानून संशोधनको प्रकृया अघि बढाउन समेत माग गरिएको एम्नेस्टी इन्टरनेसनलको नेपाल कार्यालयले जनाएको छ।

२०७४ साल माघमा ललितपुरमा यामकुमारीमाथि भएको सांघातिक आक्रमण, २०७४ श्रावण १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तमाथि भएको बलात्कार र हत्या, कात्तिक २६ गते उदयपुरमा १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या, कात्तिक महिनामै सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटनाको विषयमा पत्र मार्फत ध्यानाकर्षण गरिएको छ।

त्यस्तै २०७५ सालको कात्तिक महिनामा जुम्लामा चार महिला बलात्कृत भएको घटनासहित चालु वर्ष साउनदेखि असोजसम्म ९३ दिनमा ६०१ वटा बलात्कारका उजुरी दर्ता भएको सन्दर्भमा पीडकमाथि कारवाहीको माग गरिएको छ।

त्यस्तै रौतहटकी दिदी–बहिनी सम्झना कुमारी दास र १५–वर्षीया सुष्मिता कुमारी दासमाथि भएको तेजाव आक्रमण र मृत्युको विषयमा पनि प्रश्न उठाइएको छ।

के हो राइट फर राइट्स?

हरेक वर्ष नोभेम्बर-डिसेम्बर महिनामा एम्नेस्टी इन्टरनेसनलले राइट फर राइट्स  अभियान सञ्चालन गर्दछ। यस अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यहहरूलाई  अन्यायविरुद्ध आवाज उठाउन आह्वान गर्दै पत्र लेख्न आग्रह गर्छ।

यस अभियानका क्रममा विश्वभर भएका मानवअधिकार उल्लंघन तथा महिला हिंसाविरुद्धको ऐक्यवद्धता जारी गरिन्छ। सार्वजनिक रुपमा आह्वान गरिने यो अभियानका क्रममा विभिन्न घटनामा संलग्नलाई कारवाहीको माग गर्दै राज्यका विभिन्न अधिकारीलाई पत्र लेखिन्छ।

यसरी लेखिएका पत्र सम्बन्धित सरोकारवाला निकायमा बुझाइन्छ। सन् २०१८ मा एम्नेस्टी नेपालले विश्वका विभिन्न भागका ६ जना महिला मानवअधिकार रक्षकहरुका लागि अभियान सञ्चालन गरेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूद्वारा ब्राजिलकी मारिएल फ्रान्को, भारतकी पवित्री माझी, इरानकी अटेना डेमी, किर्गिस्तानकी गुल्जार दुइश्नोभा, युक्रेनकी भितालिना कोभल, र दक्षिण अफ्रिकाकी नोन्हले मुठूमा जस्ता महिला मानवअधिकार रक्षकहरूका पक्षमा पत्र संकलन गरिएको छ।

फ्रान्सको २०१८ मार्च १४ मा हत्या गरिएको थियो। मानवअधिकारवादी फ्रान्कोको हत्यारालाई कारवाहीको माग गर्दै विश्वभरबाट आवाज उठेको छ।

मानवअधिकारवादी तथा रियो दी जेनेरियोकी सिटी काउन्सिलरसमेत रहेकी उनको हत्यामा हालका राष्ट्रपति जैर वोल्सोनारोका छोरा फ्लाभियो आवद्ध संस्था मिलिसिका समूहको संलग्नता रहेको बताइँदै आएको छ। गरिब, अल्पसंख्यक तथा काला जातिका नागरिकको अधिकारको पक्षमा फ्रान्कोले वकालत गर्दै आएकी थिइन्। उनको हत्याको एक वर्षपछि दुई जनालाई पक्राउ गरिएको छ। उनीहरुको निकटता राष्ट्रपतिको परिवारसँग रहेको बताइएको छ।

त्यस्तै भारतकी पवित्रा माझीमाथि सन् २०१८ को अप्रिलमा दिइएको धम्कीको विरोधमा विश्वभरबाट आवाज उठेको थियो। छत्तिसगढ राज्यको भंगारी गाउँ परिसदको आदिवासी स्रपञ्चको रुपमा निर्वाचित उनले आदिवासी समुदायका नागरिकहरुलाई जालझेल गरी दुई निजी थर्मल प्लान्ट कम्पनीहरुले जग्गा हत्याएको भन्दै मुद्दा दर्ता गराएकी थिइन्। मुद्दा फिर्ता लिन उनलाई धम्की दिइएको थियो

त्यस्तै इरानकी अटेना डेमीले मृत्युदण्डको विरोध गरेको अभियोगमा जेल सजाय भोगिरहेकी छन्।

किर्गिस्तानकी गुल्जार दुइश्नोभाले त्यहाँ अपांगता भएकाहरुको अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्। उनीमाथि महिला भएकै कारणले अपमान हुँदै आएको छ। युक्रेनकी भितालिना कोभल लैंगिक अल्पसंख्यक अधिकारवादी हुन्। उनीमाथि २००८ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला अधिकार दिवसको कार्यक्रममा सहभागि हुने क्रममा आक्रमण भएको थियो। उनको आँखामा केमिकल हालेर जलाइएको थियो। दक्षिण अफ्रिकाकी नोन्हले मुठू त्यहाँका माइनिङ कम्पनी विरुद्ध अभियान चलाउँदै आएकी छन्।

यो अभियानका क्रममा उनीहरुका पक्षमा १ लाख ५२ हजार ९६७ वटा पत्रहरू सम्बन्धित देशका अधिकारीहरूलाई पठाइने एम्नेस्टी इन्टरनेशनल नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell