PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'काभ्रे फाइरिङ'मा पक्राउ परेकालाई तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने प्रतिबन्धित नेकपाको चेतावनी



'काभ्रे फाइरिङ'मा पक्राउ परेकालाई तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने प्रतिबन्धित नेकपाको चेतावनी
फाइल फोटो

काठमाडौं: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएको छ।

पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली 'सुदर्शन'ले वक्तव्य जारी गर्दै सरकार, गृह प्रशासन, गृह प्रशासनअन्तर्गत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको आरोप लगाएका हुन्।

वक्तव्यमा सरकार दलाल पुँजीवादबाट सामाजिक फाँसीवादतर्फ पतन भएकोसमेत उल्लेख छ। 'नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी-पीके सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासीवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रममले राम्रोसँग पुष्टि गरेको छ,' वक्तव्यमा अगाडि भनिएको छ, 'हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फाँसीवादको भद्दा नमुना हो।'

प्रतिबन्धित नेकपाले सरकारले पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलगायत दर्जनौं कमरेडहरूलाई गिरफ्तार गरेको र काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको भन्दै विरोधसमेत गरेको छ।

'काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव भिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ,' वक्तव्यमा भनिएको छ, 'निहत्या, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकबास गरिएको छ। यो झट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ।'

वक्तव्यमा अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारिएको छ।

'अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादकाविरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर जवाफी कारबाही गरेको बकबास गरेको छ,' वक्तव्यमा अगाडि भनिएको छ, 'सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न घालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ।'

प्रतिबन्धित नेकपाले पार्टीका नेता तथा कार्यकर्ताहरुको शीघ्र रिहा गर्न माग गर्दै तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने चेतावनीसमेत दिएको छ।

यस्तो छ विज्ञप्ति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell