PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रुप फेर्दै पूर्व पश्चिम राजमार्ग, कोशी ब्यारेज नगई पूर्वतिर लाग्ने तयारी



पहिलोपोस्ट

रुप फेर्दै पूर्व पश्चिम राजमार्ग, कोशी ब्यारेज नगई पूर्वतिर लाग्ने तयारी

काठमाडौं : पूर्व - पश्चिम ( महेन्द्र ) राजमार्ग अन्तर्गतको नारायणगढ - बुटवल सडक चार लेनको बनाउन सुरु गरिने भएको छ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर औपचारिक रुपमा काम सुरु गर्न लागिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

उनका अनुसार बुटवलदेखि नारायणगढसम्म विस्तार र स्तरोन्नती गर्नका लागि टेण्डरको सबै प्रक्रिया पूरा गरेर निर्माण व्यवसायीहरु उपकरणहरुसहित साइटमा मोविलाइज भैसकेका छन्। 'सबै तयारी भैसकेको छ प्रधानमन्त्री ज्यूबाट शिलान्यास भएपछि युद्धस्तरमा काम काम थाल्नेछौं,' उनले भने।  

मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म पहिलो चरणमा विस्तार र स्तरोन्नतीको काम सुरु गर्न लागिएको हो। विस्तारै अरु खण्डमा पनि काम सुरु गर्ने तयारी भैरहेको महासेठले जानकारी दिए। कमलादेखि कन्चनपुर खण्डको काम सुरु गर्नका लागि टेण्डर मुल्याङकन भइरहेको छ। 'केही समय टेण्डर मुद्दा मामिलामा रोकियो अदालतले क्लिन चिट दिएपछि अहिले टेण्डरको अन्तिम मुल्याङकन भइरहेको छ,' महासेठले भने, 'सम्भवत हामी एक महिनाभित्रै साइटमा काम नै सुरु गर्छौं।'

संरचना केही फेरिँदै

मन्त्रालयका अनुसार यस राजमार्गको थोरै संरचना परिवर्तन गर्न लागिएको छ। विराटनगर, काँकडभिट्टा  पुग्नका लागि कोशी ब्यारेज प्रयोग गर्न नपर्ने गरी एलाइन्मेन्ट तयार पारिएको छ। भण्टाबारी र इनरुवाको बाटो समेत जान नपर्ने गरी कन्चनपुरदेखि पकली पुग्ने गरी नयाँ एलाइन्मेन्ट तयार पारिएको छ। नयाँ एलाईनमेन्टले दूरी समेत घटाउने मन्त्रालयको तर्क छ।

'नयाँ एलाइन्मेन्टको प्रस्ताव क्याविनेटमा पेश गरिएको छ, यही साताभित्र स्वीकृत हुन्छ हामी त्यसपछि डिजाइन र ड्रइङ सुरु गर्छौं,' महासेठले भने। आगामी वर्षबाट काम नै सुरु गर्ने तयारी मन्त्रालयको छ। बाँकी खण्डहरुको पनि सर्भे लगायतका प्रक्रियाहरु सुरु गर्न लागिएको छ।

नारायणगढदेखि पथलैया ,पथलैयादेखि कमला, कन्चनपुरदेखि काँकडभिट्टा खण्ड बनाएर सर्भेको काम सुरु गर्न लागिएको मन्त्री महासेठले जानकारी दिए।

करिव एक हजार किलोमिटर लामो राजमार्ग विभिन्न खण्डहरु साँघुरो भएपछि विस्तार र स्तरोन्नती गर्न लागिएको हो। सरकारले चार वर्षभित्र उक्त सडकको अधिकांश खण्ड फराकिलो बनाउने लक्ष्य राखेको छ। यो आयोजना सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) मातहत निर्माण हुनेछ ।

यो सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ। यो सडक खण्डलाई पनि दुईवटा प्याकेज बनाएर निर्माण गर्न लागिएको छ। दुईवटै प्याकेज निर्माणको जिम्मा सोही चिनियाँ कम्पनीलाई दिइएको छ।

सबै भन्दा कम कवोल गरेको चिनियाँ कम्पनीले ठेक्का पाएको हो। उक्त चिनियाँ कम्पनीले प्याकेज १ मा ९ अर्ब १३ करोड रुपैयाँ र प्याकेज दुईमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबर कबोल गरेको थियो। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार करीब १ सय १५ किलोमिटर लामो नारायणगढदेखि दाउन्ने ६५ किमी र दोस्रो दाउन्नेबाट बुटवल बाँकी ५० किमी रहेको छ।  

कडा प्रावधानसहित बन्दै

यस सडकमा ६१ वटा पुल निर्माण हुनेछन्। जसमा ४१ वटा ठूला र २० वटा साना पुल पर्दछन्। राजमार्ग दुई लेनको मात्रै रहेको छ। उक्त सडकलाई स्तरोन्नती गरेर चार लेनको बनाउन लागिएको हो। दुवैतिर ७/७ मिटरको क्यारिज वे हुनेछ। एउटा लेन ३.५ /३.५ मिटर बराबर हुनेछ। भने २.५ मिटरको सोल्डर निर्माण गरिने छ। वस्ती भएका क्षेत्रहरुमा सर्भिस लेन समेत बनाउन लागिएको छ।

आयोजनाले गरेको सर्भे र डिपिआरले दाउन्नेको उकालोमा चारलेनमा सडक विस्तार गर्न नसकिने भएपछि करीब १२ किलोमिटर खण्डमा तीन लेनको मात्रै सडक निर्माण गर्न लागिएको हो। उकालो चढ्नका लागि दुईवटा लेन र एक लेन ओरालो झर्न प्रयोग  हुनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको हो। 

यस सडक कडा प्रावधान राखेर निर्माण गर्न लागिएको छ। डिफेक्ट लायविलिटी पिरियड ( डिएलपी ) पाँच वर्षको राखिएको छ। निर्माण गर्ने कम्पनीले ५ वर्षसम्म सडकमा कुनै समस्या आए आफैँले मर्मत सम्भार र जिम्मा लिनु पर्नेछ।

अहिले नेपालमा निर्माण भएका वा निर्माणाधीन सडक आयोजनाहरुमा १ वर्षको डिएलपी राखिएको छ। कामको गुणस्तर सुनिश्चित गर्नका लागि निर्माण कम्पनीसँग यस्तो प्रावधान राखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell