PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१० रुपैयाँ तिरेर किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन



पहिलोपोस्ट

१० रुपैयाँ तिरेर किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन
फोटोः रोशन खड्काको फेसबुकबाट

काठमाडौँः जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले आजबाट प्राथमिक शेयर निष्कासन गरेको छ। कम्पनीको शेयरमा पहिलो आवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले शेयर आवेदन भरेका हुन्।

कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रूपमा शेयर निष्कासन गरेको हो। जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर आफूले किन्ने घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीको घोषणासँगै धितोपत्र बोर्डले रातारात शेयर निष्कासन प्रक्रियालाई सहजीकरण गरेको थियो। क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि फुकाएको थियो।

शेयरधनीहरुले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्नेछन्। बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्कासन गर्नेछ। हाल प्रतिकित्ता १० रुपैयाँमा शेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा शेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा वैशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीको जारी पुुँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अधिकृत पुँजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको छ। सर्वसाधारणको लागि छुट्टाएको मध्ये तीन प्रतिशत अर्थात् एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरूको लागि सुरक्षित गरेको छ।

कर्मचारीहरूलाई दिएर बाँकी रहेको ३५ करोड ९३ लाख ८५ हजार रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको हो। सर्वसाधारणका लागि छुट्टाएको शेयर मध्येकै १० प्रतिशत अर्थात् तीन करोड ७० लाख ५० हजार रुपैयाँ सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो। आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ। मेरो शेयरमा खाता हुनेले अनलाइन आवेदन दिन सक्ने छन्।

 

यस्तो छ कम्पनीको अवस्था

सरकारले प्रवर्द्धन गरेको यो आयोजना नुवाकोट र रसुवा जिल्लाको सिमानामा छ। ३७ मेगावाट क्षमताको यो आयोजनाको निर्माण २८.९ प्रतिशत सकिएको छ। आयोजनाको निर्माण लागत प्रतिमेगावाट २२ करोड २३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

कम्पनीको लगानी फिर्ता हुने अवधि ७.९५ वर्ष रहेको छ। त्यस्तै डिस्काउन्टेड लगानी फिर्ता अवधि ११.८२ वर्ष रहेको छ। कम्पनीले प्रक्षेपण गरे अनुसार आर्थिक वर्ष २०७८/७९ बाट नाफामा देखिने छ। नाफामा देखिँदा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ हुने अनुमान गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा प्रतिशेयर आम्दानी ३३ रुपैयाँ हुने कम्पनीले अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell