PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बढ्यो राजपाको सक्रियता: फोरमसँग एकीकरणका लागि प्रक्रिया शुरु



बढ्यो राजपाको सक्रियता: फोरमसँग एकीकरणका लागि प्रक्रिया शुरु

काठमाडौं: मधेश राजनीतिको समीकरणमा फेरबदल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सक्रियता बढेको छ। सरकारबाट समर्थन फिर्ता लिएको राजपाले सदन अवरुद्ध गर्दै संसदमा आफ्नो सक्रियता बढाएको छ।

त्यसैगरी, आफ्ना नेता तथा कार्यकर्तालाई इंगेज गराउन विभिन्न योजनाहरुलाई अगाडि सारेको छ भने पार्टी एकीकरणको प्रक्रिया पनि अगाडि बढाएको छ।

करिब दुई वर्षअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो। एक वर्षभित्र महाधिवेशन सम्पन्न गरी पार्टी एकीकरणलाई पुर्णता दिने भनेपनि अहिलेसम्म महाधिवेशन हुने छाँटकाँट देखिएको छैन।
 
तर, अहिले राजपाले महाधिवेशनको तयारी गरिरहेको नेता महेन्द्र राय यादवले बताए। तोकिएको समयमा ढिलाइ हुन सक्छ तर महाधिवेशन २०७६ भित्रै हुने उनले दाबी गरे।

राजपा स्रोतका अनुसार राजपाले मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको र संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै सडक संघर्षको तयारी पनि राजपाले गरेको छ।

एकीकरणका लागि चहलपहल

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन भएपछि मधेश राजनीतिमा थप एउटा दल थपिएको छ। यसले मधेश राजनीतिमा रहेका राजपा र फोरम नेपाललाई यस घटनाले सक्रिय बनाएको छ।

गत मंसिर २३ गतेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठकले राजपासहितसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो। उक्त समितिले पार्टी एकीकरणका लागि राजपालाई पत्राचारसमेत गरेको थियो।

तर, राजपाले उक्त पत्रको जवाफ दिएको थिएन। अनौपचारिक रुपमा राजपा नेताहरुले सरकार छोडेर आएमात्र एकीकरणको विषयमा वार्ता गर्ने प्रतिक्रिया दिएका थिए।
 
तर, अब राजपाले एकीकरणको पहल आफै अगाडि बढाएको छ। काठमाडौंको होटल हायतमा फागन २९ गतेदेखि १ फागुनसम्म बसेको राजपा शीर्ष नेताको गोप्य बैठकले पार्टी एकीकरणका लागि फोरमसँग प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

मधेशको राजनीतिक समीकरणमा देखिएको फेरबदलका विषयमा राजपाले छलफल गरेको छ। उक्त बैठकबाट राजपाले आगामी रणनीति पनि तय गरेको नेता केशव झाले जानकारी दिएका छन्।

झाका अनुसार पार्टी एकीकरणका लागि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा समिति गठन भएको छ। समितिले अब केही दिनभित्रै आफ्नो काम थाल्नेछ। वार्ता समितिमा झासहित वृषेशचन्द्र लाल, रमेश यादव र सुनिल रोहित छन्।
 
यसैगरी, अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समिति, अनिल झाको संयोजकत्वमा स्थानीय तह संयोजन समिति समेत गठन गरिएको छ। त्यसैगरी प्रशिक्षणका लागि राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग गठन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell