PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : नेपाल र भारत उपाधिका लागि भिड्ने



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिप : नेपाल र भारत उपाधिका लागि भिड्ने

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र भारत भिड्ने भएका छन्। विराटनगरमा भइरहेको च्याम्पियनसिपमा बुधवार भएको सेमिफाइनल खेल जित्दै नेपाल र भारतले उपाधि भिडन्त पक्का गरेका हुन्।

विराटनगरस्थित शहिद रंगशालमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको थियो।

दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४-० ले नै हरायो। भारतका लागि इन्दुमतिले दुई तथा डालिमा छिब्बरले एक गोल गरिन्। पहिलो हाफमा तीन गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको हो।

१८औँ मिनेटमा डालिमाले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। इन्दुमतीले २२औँ मिनेटमा अग्रता दोब्बर पारिन्। ३७औँ मिनेटमा इन्दुमतिले नै सन्ध्याको क्रसमा गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाइन्।

दोस्रो हाफको निर्धारित समयमा बंगलादेशले भारतलाई गोल गर्न दिएन। तर इन्जुरी टाइममा वैकल्पिक खेलाडी मनिसाले गोल गर्दै भारतलाई ४-० को जित दिलाइन्।

भारतले समूह चरणमा माल्दिभ्सलाई ६-० र श्रीलंकालाई ५-० ले पराजित गरेको थियो। यसअघिको सबै संस्करणको उपाधि जितिसकेको भारत लगातार पाँचौ पटक च्याम्पियन बन्ने योजनामा छ।

जितपछि भारतीय प्रशिक्षक मायामोल नेदुगाडन रकीले खेलाडीहरुले राम्रो खेलेको र नतिजाबाट आफू सन्तुष्ट रहेको बताइन्। केटीहरुले राम्रो खेले। खेलबाट सन्तुष्ट छु।' रकीले भनिन्। 'सेमिफाइनल, नकआउट खेलहरु कहिल्यै सजिलो हुँदैन। बंगलादेश विरुद्ध सुरुको दश मिनेट हामीले संघर्ष गर्नुपर्‍यो। तर त्यसपछि चाडै गोल भएपछि हामीलाई सजिलो भयो।' रकीले भनिन्। 'बंगलादेशले पनि दोस्रो हाफमा राम्रो खेल्यो।'

'हामीले खेलअघि केही योजनाहरु बनाएका थियौँ र खेलाडीले त्यसलाई लागु गरे।'

यस्तै बंगलादेशका प्रशिक्षक गोलान रोबानी छोतानले सुरुमा राम्रो खेलेपनि पहिलो गोल खाएपछि खेलाडीहरु केही नर्भस भएको प्रतिक्रिया दिए। '१७ मिनेटसम्म हामीले राम्रो खेलेका थियौँ। सानो गल्तीका कारण पहिलो गोल खायौँ। त्यसपछि खेलाडीहरु नर्भस भए।' छोतानले भारतीय टिम राम्रो रहेको र आफ्नो टिममा युवा खेलाडीहरु बढि भएकोले बताए।

'यदी हामीले पहिलो गोल चाँडै नखाएको भए खेलको नतिजा नै अर्कै हुन सक्थ्यो।'

बंगलादेशी प्रशिक्षकले उपाधिका लागि भारत र नेपाल कुन फेभरेट भन्ने पक्षमा नेपाल नै रहेको बताए। उनले नेपाललाई घरेलु मैदान र दर्शकको साथ भएकोले नेपाललाई उपाधिको दाबेदार मानेका छन्।
 

भारतसँगको जिंक तोड्ने नेपालको लक्ष्य

भारत यसअघिको लगातार चार संस्करणमा च्याम्पियन बनेको थियो भने नेपालले तीन पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन। श्रीलंकालाई सेमिफाइनलमा ४-० ले पराजित गरेको नेपालको अबको एउटै लक्ष्य भारतलाई हराउनु रहेको छ।

चौथो संस्करणमा भने नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो। यसअघिका चारवटै संस्करणमा नेपाल भारतसँग मात्र हारेको थियो।

यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ साफको लागि तयारी गरेको नेपालले घरेलु मैदानमा भारतलाई हराउँदै उपाधि उचाल्ने लक्ष्य राखेको छ। साफकै तयारी स्वरुप भारतमा भएको हिरो गोल्डकपमा नेपालल भारतलाई २-१ ले पराजित गर्दैं ऐतिहासिक जित हात पारेको थियो।

त्यसपछि नेपाली महिला टोलीको मनोबल समेत बढेको छ।

नेपालले घरेलु मैदानमा भइरहेको साफ च्याम्पियनसिपमा फाइनल पुग्ने क्रममा १० गोल गर्दा कुनै गोल खाएको छैन। नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई समान ३-० ले पराजित गरेको थियो।

उता भारतले समूह चरणमा माल्दिभ्सलाई ६-० र श्रीलंकालाई ५-० ले हराएको थियो। भारतले अहिलेसम्म तीन खेलमा कूल १५ गोल गरेको छ।

साफ च्याम्पियनसिप बाहेक साग गेम्समा पनि नेपाल दुई पटक भारतसँग पराजित भएको थियो। त्यसबाहेक म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग बराबरी खेलेको थियो भने हिरो गोल्डकपमा नेपालले भारतलाई पहिलो पटक हराएको थियो।

 

साफ नेपाल भर्सेस भारत हेड टु हेड:

पहिलो साफ २०१०

फाइनलमा नेपाल भारतसँग १-० ले पराजित

दोस्रो साफ २०१२

फाइनलमा नेपाल भारतविरुद्ध ३-१ ले पराजित

तेस्रो साफ २०१४

फाइनलमा नेपाल भारतविरुद्ध ६-० ले पराजित

चौथो साफ २०१६

सेमिफाइनलमा भारतविरुद्ध ३-१ ले पराजित

 

नेपालले गोल गरेको : २, नेपालले गोल खाएको : १३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell