PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा

विराटनगर : श्रीलंकालाई पराजित गर्दै नेपाल पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहिद रंगशालमा भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो।

घरेलु टोली नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरिन्। सावित्राले यस संस्करणमा गरेको यो तेस्रो गोल हो भने पुनम र रेखाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

पहिलो हाफमा नेपालले लगातार आक्रमण बनाएपनि गोल गर्न ४२ मिनेटसम्म कुर्नुपरेको थियो। तर दोस्रो हाफमा भने नेपालले पाएको अवसर सदुपयोग गर्दै तीन गोल गर्न सफल भयो।

४२औँ मिनेटमा डिफेण्डर पुनम जर्घा मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। सावित्रा भण्डारीको हेडिङमा पुनमले 'वाच टच' गोल गरेकी हुन्।

दोस्रो हाफमा नेपालका प्रशिक्षक हरि खड्काले कप्तान निरु थापको स्थानमा युवा फरवार्ड रेखा पौडेललाई मैदान पठाएपछि नेपालले तीन गोल थपेको हो।

६८औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। ८३औँ मिनेटमा सावित्राले नेपालको लागि तेस्रो गोल गरिन्। त्यसको दुई मिनेटपछि नै रेखाले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाएकी थिइन्। श्रीलंका विरुद्ध गोलसँगै सावित्रा नेपालको लागि सर्वाधिक गोल गर्नेमा जमुना गुरुङसँगै दोस्रो स्थानमा उक्लेकी छिन्। दुवैले २५ गोल गरेका छन्। अनु लामाले नेपालको लागि सर्वाधिक ३५ गोल गरेकी छिन्।

नेपालको प्रशिक्षक हरि खड्काले सबैको मेहनतका कारण फाइनल पुगेको प्रतिक्रिया दिए। 'सबैको महेनतले फाइनल पुग्न सफल भयौँ। पहिलो हाफमा सोचे अनुसार खेल्न सकिएन। त्यसैले गोल धेरै हुन सकेन। दोस्रो हाफमा क्रस हरु राम्रो भयो र गोल पनि भयो।'

उनले नतिजाबाट सन्तुष्ट रहेको पनि बताए। 'सेमिफाइनलमा ४-० को जित हात पारेका छौँ। यसमा सन्तुष्ट छौँ। अब यसलाई निरन्तरता दिन्छौँ। यस खेलमा भएको कमी कमजोरी फाइनलमा दोहोर्‍याउने छैनौँ।'

नेपालले अब फाइनलमा भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई समान ३-० ले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell