PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँमा होलीको उमङ्ग : १८ स्थानमा कार्यक्रमको अनुमति, १०७ ठाउँमा चेक प्वाइन्ट, दुई हजार सुरक्षाकर्मी

काठमाडौँमा होलीको उमङ्ग : १८ स्थानमा कार्यक्रमको अनुमति, १०७ ठाउँमा चेक प्वाइन्ट, दुई हजार सुरक्षाकर्मी

रासस/पहिलोपोस्ट


काठमाडौँ : रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । 

विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ। तराईका जिल्लामा भने भोलि होली मनाइन्छ। चितवनलगायतका कतिपय जिल्लामा दुवै दिन होली मनाउने चलन छ। 

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन्। 

हिरण्यकश्पु नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ। 

होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन्। 

सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ। अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रुपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ। 

बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। 

आज बिहान काठमाडौँका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन्। भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन्। मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन्। होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने सांस्कृति कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ। कतिय भने होली मनाउने तयारीमा देखिएका थिए। 

उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध 

सरकारले होलीका अबसरमा उत्छृङ्खलता प्रदर्शन नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ। खुशियाली साटासाट गरी मनाइने होली(फागू) पर्व मर्यादित रुपमा मनाउन सरकारले सबैमा आग्रह गरेको हो। 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गर्दै भने, “पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि भएमा कारवाही हुन्छ।” 

नेपाल प्रहरीले समेत होली विशेष सुरक्षा योजना ल्याएर विशेष सुरक्षा व्यवस्था मिलाएको छ। यसपालि तीन दिनअघिदेखि नै होलीमा अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ। प्रहरीले होली उच्छृङ्खल नहोस् भनेर समुदायसँग मिलेर माइकिङ गरी प्रचारप्रसारका कार्यक्रम गरेको थियो। 

ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए। यसपटक काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ। होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। 

सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुत बनाइएको जनाएको छ। 

सवारी आवागमन न्यून 

आज होलीका कारण काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ। अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन्। सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए। चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको उनले बताए। 



ट्रेन्डिङ पोस्ट

Ncell