PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रम्प र किमबीच पुनः वार्ता हुन सक्ने अमेरिकी विदेशमन्त्रीको भनाई



ट्रम्प र किमबीच पुनः वार्ता हुन सक्ने अमेरिकी विदेशमन्त्रीको भनाई
फोटो:CNBC

वासिङ्टनः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः वार्ता हुन सक्ने बताएका हुन्।

उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता गर्ने उनको धारणा थियो।

ट्रम्प र किमबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो। सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएको बताइएको थियो। तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका थिए।

पोम्पेओले पनि हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको धारणा राखेका थिए। उत्तर कोरियाको आणविक कार्यक्रम यस दशककै गाह्रो विषय भएकोले यसमा अरु केही वार्ताहरु पनि गर्नुपर्ने हुनसक्ने उनको भनाई थियो।

अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो। तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ। तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell