PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीलंकाविरुद्ध क्लिनसिट राखेर फाइनल पुग्छौँ : हरि खड्का



गोविन्दराज नेपाल

श्रीलंकाविरुद्ध क्लिनसिट राखेर फाइनल पुग्छौँ : हरि खड्का

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिप अन्तर्गत भोलि सेमिफाइनल खेल हुँदैछ। बुधबार पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ।

घरेलु टोली नेपाल समूह ए को विजेता र श्रीलंका समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई पराजित गर्दा कुनै गोल खाएको थिएन।

सेमिफाइनलमा पनि कुनै गोल नखाई फाइनल पुग्ने लक्ष्य रहेको नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले बताए। 'भोलिको खेलका लागि तयार छौँ। बिहान ११ बजे म्याच छ। त्यसका लागि मानसिक र शारीरिक रुपमा तयार छौँ। हामी क्लिनसिट राख्दै फाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका विरुद्ध खेल्दैछौँ।' खड्काले मंगलाबार शहिद रंगशालमा  सञ्चारकर्मीसँग भने।

'हामी स्कोर भन्दा पनि क्लिन सिट लिएर फाइनल प्रवेश गर्ने सोच छ। स्कोर भन्दा ब्युटिफुल गेम खेल्ने राम्रो खेल्ने जित्ने अनी फाइनल पुग्ने।' श्रीलंका विरुद्धको स्कोर प्रेडिक्सनबारे खड्काले भने।

नेपालले समूह चरणमा दुवै खेल ३-० को अन्तरमा जितेको थियो। यस्तै श्रीलंका विरुद्ध नेपालले यसअघि साफ च्याम्पियनसिपमा खेलेको कुनै पनि खेलमा हार बेहोरेको छैन।

समूह बी मा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दै भारतसँग खेल्नुअघि नै सेमिफाइनल यात्रा तय गरेको थियो। तर भारतसँग ५-० ले हारेपछि श्रीलंका समूह उपविजेता बनेको हो।

भारतसँग फराकिलो अन्तरले हारेपनि प्रशिक्षक खड्काले श्रीलंकालाई कमजोर रुपमा नलिने बताए। यद्यपी उनले श्रीलंका भन्दा नेपाल नै बलियो रहेको बताए।

'अपोनेन्टलाई कहिल्यै पनि कमजोर मान्नु हुन्न। तर यो प्रतियोगितामा हामी अलीकती स्ट्रोङ देखिएका छौँ श्रीलंका भन्दा। तैपनि उनीहरुलाई रेस्पेक्ट गरे हाम्रो जुन गेम छ ट्रेनिङमा सिकेका टेक्निकल ट्याक्टिल कुराहरुलाई लागू गरेर खेल्नेछौँ।'

खड्काले श्रीलंकाले काउन्टर अट्याकमा खेल्न सक्ने बताउँदै संयम भएर खेल्नुपर्नेमा जोड दिए।

'मेरो विचारमा श्रीलंकाले अली डिफेन्सिभमा जोड दिएर काउन्टरमा खेल्छ जस्तो लाग्छ। हामी त्यही डिफेन्सिभ लाइनलाई तोड्न प्राक्टिसमा गरेअनुसार खेल्छौँ।'

'हाम्रो डिफेन्स लाइनलाई तोड्ने श्रीलंकाको प्लेअरहरु देखेको छैन। तर हामी उपाधि दाबेदारीका रुपमा प्रस्तुत भइरहेकाले उनीहरुले काउन्टरमा खेल्दा त्यसमा हामीले अली संयम भएर खेल्नुपर्छ।'

प्रशिक्षक खड्काले नेपालको फरवार्ड लाइन स्ट्रोङ रहेको र हरेक खेलमा सुधार गर्दै गएको प्रतिक्रिया दिए। 'हाम्रो फरवार्डहरुले गेम वाइ गेम इम्प्रुभ गरिरहेका छन् र हाम्रो हतियार नै फरवार्ड हो। हामीसँग जतिखेर पनि गेम चेन्ज गर्न सक्ने क्वालिटिको स्ट्राइकिङ लाइन छ। भोलि सेमिफाइनलमामा अझै राम्रो गर्छ।'

श्रीलंका विरुद्धको खेल जित्नेमा शतप्रतिशत पक्का हुनुहुन्छ भन्ने प्रश्नमा खड्काले भने, 'उपाधिको लक्ष्य लिएर आएको टिम भएकोले हामी जित्नेमा कन्फिडेन्ट छौँ तर ओभर कन्फिडेन्ट छैनौँ।'

यस्तै नेपालकी कप्तान निरु थापाले श्रीलंकाले पछिल्लो समयमा सुधारिएको खेल प्रदर्शन गरिरहेको बताउँदै श्रीलंकालाई कमजोर नआँक्ने बताइन्। उनले नेपालको डिफेन्स लाइन र फरवार्ड लाइन बलियो रहेको र मिडफिल्डमा पनि सुधार गर्दै श्रीलंका विरुद्ध खेल्ने बताइन्।

अर्को सेमिफाइनलमा भोलि नै दिउँसो चार पटकको च्याम्पियन भारत र बंगलादेश खेल्दैछन्। नेपालले श्रीलंकालाई हराएमा यस खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ। यसअघि चारै पटक फाइनल खेल्दै उपाधि जितेको भारत यस पटक पनि सम्भावित दाबेदारको रुपमा रहेको छ।

खड्काले भारतको हरेक खेल राम्रोसँग अध्ययन गरिरहेको तर भारत नै सेमिफाइनल पुग्छ भनेर भन्न नसकिने बताए। 'भारतको खेल हामीले रिड गरिरहेका छौँ। उनीहरुको कमजोर र बलियो पक्ष हेरिरहेका छौँ। तर भारत नै फाइनल पुग्छ भन्ने छैन। फुटबल र लाइफ कहिल्यै पनि निश्चित हुँदैन।' खड्काले भने।

'त्यसैले हामी पनि श्रीलंका विरुद्ध होशियार भएर जितका लागि खेल्छौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell