PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्राइस्टचर्च नरसंहार: अभियुक्तद्वारा अनलाइनबाट हतियार खरिद, वकिल नराख्ने अडान



क्राइस्टचर्च नरसंहार: अभियुक्तद्वारा अनलाइनबाट हतियार खरिद, वकिल नराख्ने अडान
फोटो: स्काईन्यूज

क्राइस्टचर्च : न्यूजिल्याण्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा आक्रमण गर्ने बर्टन टर्रान्टले बन्दुक र विस्फोटक पदार्थ अनलाईनबाट खरिद गरेको खुलेको छ।

शुक्रवार टर्रान्टले फेसबुक लाइभ गर्दै मस्जिदमा गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो भने त्यही संख्यामा मानिसहरु घाइते भएका थिए।

न्यूजिल्याण्डको 'गन सिटी लिमिटेड' का संचालक डेभिड टिप्पलले पत्रकार सम्मेलन गरी टर्रान्टले हतियारहरु आफ्नो स्टोरबाट अनलाइनमार्फत खरिद गरेको बताएका हुन्। उनले टर्रान्टले 'ए क्याटगोरटी' का ४ बन्दुक र विस्फोटक पदार्थ आफ्नो स्टोरबाट खरिद गरेको बारे प्रहरीलाई जानकारी गराइसकेको बताए।

यद्यपि, आक्रमणमा प्रयोग भएको भनिएको सेनाहरुले प्रयोग गर्ने जस्तो शक्तिशाली सेमिअटोमेटिक बन्दुक भने आफूहरुले नबेचेको बताएका छन्। टिप्पलले प्रहरीले प्रमाणीकरण गरेको मेल अर्डरपछि मात्रै हतियार बिक्रि गर्ने गरेको दाबी गरेका छन्।

उनले सो सेमि अटोमेटिक बन्दुकमा सिरियल नम्बर भए कहाँबाट आएको भन्ने आफूले बताउन सक्ने समेत बताए।

अस्ट्रेलियाबाट न्यूजिल्याण्ड आएर बसिरहेका टर्रान्टले गरेको आक्रमणलाई नरसंहारको संज्ञा दिँदै न्यूजिल्याण्ड सरकारले हतियार सम्बन्धी कानून नै संशोधन गर्न लगिरहेको बताइएको छ।

यता, टर्रान्टले अदालतमा आफ्नो मुद्दाको बहस आफै गर्ने अडान लिएका छन्।

अदालतले उनका लागि वकिलको व्यवस्था गरेपनि उनले आफूलाई वकिलको आवश्यकता नरहेको बताएको डच वकिल रिचार्ड पिटर्स ले बताए। पिटर्स नै अदालतमा टर्रान्टको प्रारम्भिक सुनुवाईमा सहभागी भएका थिए। टर्रान्टलाई अप्रिल ५ सम्म प्रहरी हिरासतमा  पठाइएको छ।

पिटर्सले टर्रान्ट मानसिक रुपमा स्वस्थ रहेकोले आफूले गरेको कार्यबारे उनी सचेत रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell