PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राजपाको अवरोधका कारण संसद आज पनि स्थगित, लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्दासम्म संसद चल्न नदिने अडान



राजपाको अवरोधका कारण संसद आज पनि स्थगित, लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्दासम्म संसद चल्न नदिने अडान

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधका कारण आजको संसद बैठक पनि स्थगित भएको छ। बैठक सुरुवातसँगै कार्यसूचीमा प्रवेश गराउने तयारीमा थिए सभामुख, तर राजपा नेपालका सांसदहरु आसनमा उभिइरहे।

सभामुख कृष्णबहादुर महराले राजपा सांसद लक्ष्मणलाल कर्णलाई आफ्ना कुरा राख्न समय दिए।

सांसद कर्णले सुरुमै भने, ‘बडो दुर्भाग्य हो आज हामीले संसदलाई अवरोध गर्न उभिनु परी राख्या छ।'

उनले सरकारले गरेका सहमतिहरु कार्यान्वयन नभएको आरोपसमेत लगाए।

'साधारण कुरो हो। राज्यसँग हामीले सम्झौता गर्‍यौँ। राज्यले आफ्नो ढुकुटी खर्च गरेर सर्वोच्च अदालतका न्यायाधीश गिरिसचन्द्र लालको अध्यक्षतामा एउटा आयोग गठन भयो,' उनले भने, 'छ महिना मधेसमा आन्दोलन भयो। त्यसको छानविन गर्न गठित आयोगको प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ।सत्य तत्थ्य नआएको कारणले मुद्धा फिर्ता नभएको कारणले एउटा आन्दोलनकारी रेशम चौधरी आज कैदको सजाय भोग्नुपर्ने वाध्यता आएको छ।'

चौधरीलाई जनताले अनुमोदन गरेपनि मधेसी र थारुहरु माथि मात्र अन्याय हुने गरेको आरोप लगाए। 'सम्पूर्ण राजनीतिक मुद्धाहरु फिर्ता हुन्छ। तर दुर्भाग्य हामी मधेसीहरु थारुहरुको मुद्दा फिर्ता हुँदैन्,' उनले अगाडि भने, 'राज्यले स्विकार गर्छ तर मुद्दा फिर्ता गर्दैन।'

उनले आफूहरुले पटक पटक गिरिसचन्द्र लालको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि पटक पटक आवाज उठाउँदा र पटक पटक संसद अवरुद्ध गर्दा पनि सार्वजनिक नगरेको आरोप लगाए। सांसद कर्णले संसद सरकार मातहत हो की होइन भन्दै प्रश्नसमेत उठाए।

'दुर्भाग्य यो सरकार संसदबाट गठन भएको हो की होइन थाहा हुँदैन। यो सरकार संसद मातहत हो की होइन?,' उनले प्रश्न गरे, 'संसदले बनाएको सरकार हो की होइन? यदी संसदले बनाएको सरकार हो भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् यो संसदबाट गराएको ध्यानाकर्ष पनि निर्देशन हो। त्यसलाई पनि सरकारले नमान्ने?'

सांसद कर्णले गिरिषचन्द्र लाल कर्ण आयोगको प्रतिवेदन सार्वजनिक नगर्दासम्म संसद चल्न नदिने बताए।

यसअघि गत बुधबार पनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो। उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell