PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'डाक्टर स्ट्रेन्ज'को अनुभवसहित हलिउडबाट शिल्पाको नेपाली फिल्मी यात्रा, भन्छिन् : टन्नै फिल्म गर्न आएको हुँ



पहिलोपोस्ट

'डाक्टर स्ट्रेन्ज'को अनुभवसहित हलिउडबाट शिल्पाको नेपाली फिल्मी यात्रा, भन्छिन् : टन्नै फिल्म गर्न आएको हुँ

सन् २००८ मा पढाइका लागि लण्डन पुगिन् शिल्पा मास्के। उनलाई कहिल्यै त्यहाँको विलासी जीवनशैलीले लोभ्याएन। त्यसैले योजना अनुसार पढाइ सकिनसाथ उनी नेपाल फर्किइन्। हुन त लण्डनमा उनको करियरको ढोका खुलिसकेको थियो। तर, उनको लक्ष्य थियो- हिरोइन बन्ने। त्यही योजना पूरा गर्न नेपाल फर्कनु अनिवार्य बन्यो।

फिल्म 'द ब्रेकअप' उनको लक्ष्यसँग जोडिन पुग्यो। लण्डन छँदै निर्देशक हेमराज बिसीले उनलाई फिल्मको लागि अफर गरेका थिए। नेपाल आइन् र 'द ब्रेकअप'बाट नेपाली रजतपटमा डेब्यू गरिन्। आशिरमान देशराज जोशीसँग स्क्रिन सेयर गरिन्। फिल्म प्रदर्शनमा आयो, उनले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्।

उनको दोस्रो फिल्म 'कागजपत्र' प्रदर्शनको तयारीमा छ। नेपाल आएको तीन महिना नबित्दै उनलाई 'कागजपत्र'का लागि अफर आएको थियो। फिल्ममा अधिकांश थिएटर कलाकारको अभिनय हुने कुरा थाहा पाउनासाथ उनले फिल्म गर्ने निर्णय गरेकी थिइन्।

फिल्ममा उनले अभिनेता नाजिर हुसेनसँग स्क्रिन सेयर गर्दैछिन्।

उनको तेस्रो फिल्म 'सानो मन' छायाँकनमा छ। छोटो समयमै एकपछि अर्को फिल्महरुमा काम गर्न व्यस्त देखिन्छिन्, शिल्पा।

उनी नेपाली फिल्म क्षेत्रमै भविष्य निर्माण गर्न चाहन्छिन्। भन्छिन्, 'हिरोइन भइदिम् न त भनेर आएकी होइन। मलाई अब यतै काम गर्नुछ।'

लण्डनमा हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'

१७ वर्षको उमेरमै लण्डन पुगेकी उनलाई सानैदेखि नृत्य र कला क्षेत्रमा विशेष रुची थियो। लण्डनमा पनि उनले नृत्य सिकिन्। बिजिनेस म्यानेजमेन्ट अध्ययन गर्दैगर्दा बीचमा नेपाल आएर केही सर्ट फिल्ममा अभिनय पनि गरिन्। त्यतिखेर उनले लण्डनबाट फर्केर आर्टमा नै काम गर्ने सोचिसकेका थिइन्। सम्झन्छिन्, 'नौ देखि पाँच बजेसम्म अफिसमा बसेर काम गर्छु भनेर कहिल्यै सोचिन। सँधै, कसरी कला क्षेत्रमा काम गरौं भन्ने हुन्थ्यो। त्यसैले लण्डन गएर बलिफ्लेक्स भन्ने डान्स ग्रुप जोइन गरेँ।'

त्यहाँ उनले ६ महिना नृत्य सिकिन्। त्यो बलिउडकै चर्चित डान्स क्रु रहेको शिल्पाको दाबी छ। बलिफ्लेक्ससँग नृत्य सिकेर उनले भारतीय गायक आतिफ आस्लमसँग एउटै स्टेजमा प्रस्तुति पनि दिने मौका पाएकी थिइन्।

१२ हजार दर्शकबीच नृत्य प्रस्तुत गरिसकेपछि उनको मनमा कला क्षेत्रमै केही गर्छु भन्ने अठोट झन् बलियो बन्यो।

***

२०१६ तिर मार्भल स्टूडियोको सुपरहिरो फिल्म 'डक्टर स्ट्रेन्ज'का लागि एसियन कलाकारको खोजी भइरहेको थियो। 'वीइ गट पप' भन्ने एजेन्सीमार्फत उनले त्यसबारे थाहा पाइन्। नेपाली नै खोजीरहेको सुनेपछि उनी अडिसन दिन पुगिहालिन्।

अडिसनमा डान्सका केही हाउभाउ गर्न लगाइयो। उनी छिटोछिटो ‍उक्त डान्सका स्टेप समात्थिन्। कोरियन, इन्डियनहरु थिए अडिसनमा। अडिसनमा उनले बाजी मारिन्। त्यसपछि उनले डक्टर स्ट्रेन्जमा काम गर्ने मौका पाइन्।

'सुरुमा सेटमा पुग्दा म त छक्क परेँ,' सुनाउँछिन् 'त्यहाँ नेपालको पाटन दरबारको सेट बनाइएको थियो, पानीपुरी स्टल, नेपाली फिल्मको पोस्टर सब देख्दा नेपाल नै पुगैझैं लाग्यो।'

उनले 'डक्टर स्ट्रेन्ज'का लागि ४ महिना काम गरिन्। हरेकदिन जाँदा सेटको परिवर्तन देखेर उनी छक्क पर्थिन्। उनले कहिले ब्याकराउण्ड, कहिले सेटमा उभिने मात्रै काम पनि गरिन्। फिल्ममा दुई दृश्य पाइन्। हलिउड फिल्ममा काम गर्न पाउँदा उनको खुशीको सीमा थिएन।

त्यसपछि उनले विभिन्न फिल्महरुमा काम गरिन् चाहे त्यो ब्याकराउण्डमा उभिने नै किन नहोस्। उनलाई त्यहाँबाट धेरै कुरा सिक्नु थियो। उनले २ वर्ष त्यताको फिल्म क्रुमा कामको अनुभव बटुलिन्। जुनियर आर्टिस्ट, सपोर्टिङ, ब्याकराउण्डमा बसेर काम गरिन्।

उनले मोडलिङ पनि गरिन्। विज्ञापनमा काम देखिइन्।

स्यानेटरी प्याड ह्विस्परको 'अलवेज'को विज्ञापन पनि खेलिन्। अहिले पनि अमेरिका र लण्डनको टेलिभिजनमा त्यो विज्ञापन आउँछ। उनले नेटफिल्क्सको 'द क्राउन' भन्ने सिरिजमा पनि काम गर्ने मौका पाइन्।

फिल्म 'मिसन इम्पोसिबल'मा जुनियर आर्टिस्ट भएर पनि काम गरेकी छिन् उनले। भन्छिन्, 'स्क्रिनमा त देखिन्छु, लामो दृश्य छैन। सायद मैले मात्र नोटिस गर्छु।'

त्यहाँ काम गरिरहँदा उनलाई सधैं लिड रोलले लोभ्याउँथ्यो। त्यसैले उनले नेपालमै फिल्म गर्ने सोचिसकेकी थिइन्। 'नेपालमा आदार पनि पाउने अनि आफ्नो देशमा त स्वतन्त्रता पनि त हुन्छ।'

'डक्टर स्ट्रेन्ज' गरिसकेपछि नै उनलाई नेपाली फिल्महरुको अफर आउन थालिसकेको थियो।

आफ्नो अभिनयमा निखार ल्याउन उनले फिल्म भन्दा पहिला एक्टिङ क्लास रोजिन्। उनले 'आइडेन्टी स्कूल अफ एक्टिङ'मा ७ महिना अभिनय सिकिन्। पढाई सँगसँगै अभिनय सिक्न उनलाई गाह्रो पनि हुन्थ्यो।

'म हप्ताको पाँच दिन काम गर्थेँ। दुई दिन बिदा लिएर एक्टिङ क्लास जान्थेँ,' उनले सम्झिन्, ‘त्यसताका जापानिज लुगा पसलमा काम गर्थेँ। त्यही कामको अनुभवले पनि हो मलाई काम सानो ठूलो हुँदैन भन्ने महसुस गराएको।'

एक्टिङ क्लास सकिन साथ उनी 'द ब्रेकअप' गर्न नेपाल आइन्। उनको नेपाली फिल्मको यात्रा यही फिल्मबाट सुरु भयो। प्रदर्शनमा आइसकेको फिल्मले ‌औशतमात्रै व्यापार गरेको उनको दाबी छ।

नेपाली तीन फिल्ममा काम गरिसकेकी शिल्पाले यता धेरै भिन्नता पाएकी छिन्। 'यहाँ धेरै लापार्वाही रुपले काम गरेको देखेँ। हलिउडमा सानो सानो कुरालाई पनि कति महत्वका दिइन्छ। तर, यहाँ त ठूलो काममा पनि लापार्वाही गर्छन्। कलाकारलाई सम्मान छैन। प्रोफेस्नालिज्म छैन।'

उनले त्यताका फिल्म निर्माण युनिटमा अधिकांश महिलाको सहभागिता पनि नियालेकी थिइन्। तर, यता मेकअप आर्टिस र डिजाइनरबाहेक फिल्मका अन्य क्षेत्रमा महिलाहरु कमै देखिन्।

'नेपालमा अभिनेत्रीहरुलाई त्यत्ति प्राथमिकता दिइएको पाइन,’ तुलना गर्दै अनुभव साटिन् उनले।

अब उनलाई मनोवैज्ञानिक थ्रिलर फिल्ममा काम गर्ने मन छ।

भन्छिन्, 'फिल्म गर्ने हुटहुटी थियो। एउटा फिल्ममात्र होइन, टन्नै फिल्म गरेर लामो समय नेपालमै बस्छु भनेर आएकी हुँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell