PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बन्ला त मेड इन नेपाल गाडी? कोरियाली कम्पनीले पायो प्लान्ट राख्न स्वीकृति तर गाडी उत्पादनको अनुभवै छैन



पहिलोपोस्ट

बन्ला त मेड इन नेपाल गाडी? कोरियाली कम्पनीले पायो प्लान्ट राख्न स्वीकृति तर गाडी उत्पादनको अनुभवै छैन

 काठमाडौं : लगानी बोर्डले कोरियाली कम्पनी मोट्रेक्सलाई नेपालमै गाडी एसेम्बल्ड गर्ने स्वीकृति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले चार पाङ्ग्रे गाडी एसेम्बलका लागि स्वीकृति दिएको हो। 

यो कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कोरियाली कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्ने गरी भेहिकल म्यानुफ्याक्चरिङ युनिट स्थापना गर्न विदेशी लगानी स्वीकृत गरिएको जानकारी दिए। 

कम्पनीले वार्षिक पचास हजार युनिट गाडी उत्पादन गर्ने क्षमताको एसेम्बल्ड प्लान्ट लगाउने अधिकारीले जानकारी दिए।

‘पहिलो पाँच वर्ष वार्षिक २० हजार थान कार, जीप उत्पादन गर्ने योजना बोर्डमा पेश गरेको छ’ उनले भने, 'उनीहरु प्लान्ट स्थापना गर्न सिरियस कम्पनी हुन्।’ 

कम्पनीले प्लान्ट लगाउने क्षेत्र समेत हेरेर गइसकेको जानकारी दिँदै अधिकारीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्ने बताए। 

मोतिपुर औद्योगिक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर)को काम सकिएर वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ।

अधिकारीले प्लान्ट स्थापनाका लागि कम्पनीले कर छुट लगायतका माग राखेको बताए।

‘उनीहरुले कर छुट लगायतका मागहरु राखेका छन्। यो नेगोसियसनका आधारमा तय हुनेछ’ उनले भने।

गाडी उत्पादनको अनुभव छैन

नेपालमा एसेम्बल्ड प्लान्ट राख्न बोर्डले अनुमति दिएको कम्पनी मोट्रेक्सको गाडी उत्पादनको अनुभव भने छैन। 

सन् २००१ मा कोरियामा स्थापना भएको यो कम्पनीले गाडीमा राखिने विभिन्न इन्फोटेनमेन्ट (विभिन्न एक्सेसरिज) उत्पादन गर्दै आएको छ। कम्पनीको वेवसाइटमै आफ्नो व्यवसायको बारेमा लेखेको छ-‘अडियो भिज्युअल नेभिगेशन र अडियो भिडियो लगायतका अन्य इन्टरटेन्टमेन्टका सामाग्री कार उत्पादकको अनुरोधमा उत्पादन गर्छौ।’

कम्पनीले कार पार्किङका लागि सहज बनाउन एराउन्ड भ्यू मोनिटर, रियर सीट इन्टरटेनमेन्ट, स्मार्टफोनमार्फत् गाडी लक गर्ने सिस्टम, गाडी व्यवस्थापनका लागि जिपिएस लगायतका प्रविधि निर्माण गर्दै आएको छ। 

यसले हुन्डाई र किया कम्पनीका कारका लागि पनि एक्सेसरिज उत्पादन गर्छ। 

यो  कम्पनीको कोरियास्थित मुख्यालयमा ३ सय ७० जनाले रोजगारी गर्छन्। कम्पनीको वेबसाइटका अनुसार ११ देशमा यसका शाखा छन्- भियतनाम, चिली, रसिया, अस्ट्रेलिया, युएई, ब्राजिल, अमेरिका, भारत, मेक्सिको, टर्की र चीन। 

लगानी बोर्डका सिइओ अधिकारीले कोरियामा गाडीका लागि आवश्यक एसेसरिज उत्पादन गरे पनि नेपालमा भने गाडी नै उत्पादन गर्न आवेदन हालेको बताए। 

तर नेपालमै गाडीको अधिकृत बिक्रेता रहेका एक व्यवसायीले भने मोट्रेक्स एसेम्बल्ड प्लान्ट स्थापना गर्न कठिन हुने बताउँछन्।

‘नेपालमा नाम चलेका ब्राण्डले एसेम्बल्ड प्लान्ट नलगाएका बेला एसेसरिज उत्पादन गर्ने कम्पनीले कसरी गाडी उत्पादन गर्छ? ब्राण्ड स्ट्याब्लिस्डदेखि धेरै काम गरेर गाडी उत्पादन गर्नु चुनौतीको विषय हो। अझ नेपालमा ब्राण्ड कन्सियस भएकाले नेपालमा गाडी उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था छैन’ उनले भने।

नेपाल ल्याउने को हो?

यो कम्पनी नेपाल ल्याउने व्यक्ति हुन् सञ्जय प्रधान। प्रधान क्याप्टेन आरपी प्रधानका छोरा हुन्। 

उनी केही वर्षअघि हुण्डाईको नेपालको आधिकारिक बिक्रेता एभ्को इन्टरनेशनलको संचालक हुन्। आरपीले कस्मिक एयर र नेपालमै कस्मिक इङयाङ बाइक एसेम्बल्ड गरेर उत्पादन गरेको थियो। 

वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्रधान टाट उल्टिएपछि कस्मिक एयर पनि बन्द भयो।  वित्तीय व्यवस्थापन गर्न नसक्दा हुण्डाईको गाडी समेत समयमा डेलिभरी गर्न नसकेपछि अधिकृत बिक्रेता पनि खोसियो।

कस्मिक एयरको टिकट। साभार : एयरटिकेटहिस्ट्री

धेरै गाडी बेच्ने किन आएनन्?

सबैभन्दा बढी प्यासेन्जर भेहिकल बिक्री हुने मारुती सुजुकी, हुण्डाई, महिन्द्रा र टाटाले नेपालमा प्लान्ट लगाउने प्रस्ताव गरेका छैनन्। 

सात वर्षअघि नेपालमै प्लान्ट लगाउने घोषणा गरेको टाटाले पनि प्लान्ट लगाउने निर्णय स्थगित गरिसकेको छ। एसेम्बल्ड प्लान्टका लागि ठूलो लगानी चाहिने र नीतिगत स्थिरता नभएमा लगानी डुब्ने भएकाले ती कम्पनीले नेपालमा एसेम्बल्ड प्लान्ट नलगाएका हुन्। 

पछिल्लो समयमा महिन्द्राले नेपालमै प्लान्ट स्थापना गर्न चाहेपनि औपचारिक प्रस्ताव भने गरेको छैन। स्रोतका अनुसार नीतिगत स्थिरता भएमा महिन्द्राले पहाडमा चल्ने बोलेरो नेपालमै एसेम्बल्ड गर्ने गरी प्लान्ट स्थापना गर्नेछ। तर त्यसका लागि सरकारले जग्गादेखि कर छुट लगायतका मुद्दा भने सम्बोधन गर्नुपर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell