PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी



राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक सदनमा प्रस्तुत गररेका हुन्। 

त्यसअघि सांसद देवप्रसाद गुरुङले राष्ट्रिय पूँजी निर्माण हुने र राष्ट्रिय हितअनुकूलका विदेशी लगानी मात्र भित्र्याउनुपर्ने जोड दिँदै घरेलु उद्योग, कृषि, सुरक्षण मुद्रण, हस्तकलालगायत क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

सांसद भीमबहादुर रावलले विधेयकका सैद्धान्तिक पक्षमा सरकार संवेदनशील बताए। उनले राष्ट्रको सर्वोपरि हितका लागि विदेशी लगानी भित्र्याउने उद्देश्य भए पनि राष्ट्रिय हित तथा सुरक्षा, मौलिक उत्पादन र सीपलाई ख्याल राख्नुपर्ने बताए। 

माथिल्लो कर्णाली आयोजनाको दुई दुई पल्ट म्याद थप हुँदासम्म काम सम्पन्न हुन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले वैदशिक लगानी भित्र्याउने नाउँमा आयोजना सम्पन्न हुने समयावधि तोकिनुपर्ने बताए। विदेशी लगानीमा स्थापना हुने उद्योगमा काम गर्न आउने विदेशी श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिँदै उनले राष्ट्रिय हितमा हुने लगानी मात्रै भित्र्याउनुपर्ने प्रस्ट पारे। 

सांसद सोमप्रसाद पाण्डेयले उद्योगलाई प्रोत्साहन र बढावा दिन सरकार लाग्नुपर्नेमा जोड दिँदै विदेशी लगानी भित्र्याउँदा मुलुकका उद्योगी र उत्पादन सङ्कटमा पर्नसक्नेतर्फ ध्यान दिनुपर्ने बताए। उनले कृषिजन्य उद्योगमा विदेशी लगानी भित्र्याउन नहुने सुझाव पनि दिए। 

सांसद कृष्णभक्त पोरखेरलले विधेयकले विदेशी पूँजी, प्रविधि र लगानीलाई भित्र्याउन सामरिक योजना प्रस्तुत गरेको बताए। केही कृषिजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुन लागेको अवस्थामा सो क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा पर्न सक्ने जटिलतातर्फ सरकारले ध्यान दिनुपर्ने उनले औँल्याए। 

सांसद मेटमणि चौधरीले स्वदेशी पूँजीको निर्माण र विदेशी पूँजीको आर्जन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए। सांसद भरतकुमार शाहले घरेलु उद्योग, वन तथा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नहुने बताए। स्वदेशी लगानीमा स्थापना भएका साना उद्योगका क्षेत्रमा विदेशी लगानी खुला गरेर जाँदा स्वदेशी उद्योगधन्दा बन्द हुने अवस्था आउनेतर्फ उनले सचेत गराए। 

विधेयकको सैद्धान्तिक पक्षमा भाग लिँदै मोहन बानियाँ, केदार सिग्देल, गोपालबहादुर बम, सूर्यप्रसाद पाठक, नारदमुनि राना र सञ्जयकुमार गौतमले समृद्धिको यात्रा तय गर्नका लागि सर्वपक्षीय सहमति जरुरी रहेको बताए। सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री यादवले पूँजी र उच्च प्रविधिको प्रयोग नगर आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भएकाले विदेशी लगानी र प्रविधि भित्र्याउन जरुरी भएको बताए। 

कृषि, लघु र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउनु हुन्न भन्ने चासोलाई सरकारले सम्बोधन गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई नै केन्द्रमा राखेर विधेयक ल्याइएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell