PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एक सन्दीप उत्कृष्ट घोषित हुँदा अर्को सन्दीपले कमेडी गरेर दर्शक हँसाए, धर्मेन्द्रले खेलाडीकै गीत गाए, हेर्नुस १३ फोटोमा

एक सन्दीप उत्कृष्ट घोषित हुँदा अर्को सन्दीपले कमेडी गरेर दर्शक हँसाए, धर्मेन्द्रले खेलाडीकै गीत गाए, हेर्नुस १३ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: नेपाल क्रिकेट खेलाडी संघ सिप्यानले क्रिकेटहरहरुकै सम्मान स्वरुप पहिलो पटक एनसिसिएस सिप्यान क्रिकेट अवार्ड आयोजना गर्दै ५ विधामा अवार्ड प्रदान गर्‍यो। अहिले विश्वमै चर्चित भइरहेका युवा लेगस्पिनर सन्दीप लामिछाने वर्षको उत्कृष्ट खेलाडी घोषित भए।

राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मंगलबार आयोजित अवार्ड कार्यक्रममा सन्दीपले राष्ट्रिय टिमका कप्तान पारस खड्कासँगै दिपेन्द्र ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे।

क्रिकेट खेलाडीहरुको संस्थाले क्रिकेट खेलाडीहरुकै सम्मानमा आयोजना गरेको उक्त समारोहमा विभिन्न सांगितिक प्रस्तुती समेत थियो। साथै सन्दिप नामकै अर्का पात्र सन्दिप क्षेत्रीले पनि आफ्नो कलाकारिता प्रस्तुत गरे।

सन्दीप लामिछाने वर्ष खेलाडी घोषित हुनुअघि सन्दिप क्षेत्रीले क्रिकेटसँग सम्बन्धित रहेर आफ्नो कमेडी प्रस्तुत गरेका थिए। उनले क्रिकेट खेलको नियम अनौठो रहेको भन्दै त्यसलाई हाँस्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरे। साथै नेपाली क्रिकेटको अभिभावक संस्था क्रिकेट संघ नेपाल (क्यान) अहिले आइसीसीको निलम्वनमा रहेका बेला सबैले क्यान,क्यान भन्दै गर्दा क्षेत्रीले भने अब वि क्यान भनेर अगाडि बढ्नुपर्ने सुझाब दिए।

यस्तै नेपाली तारा पहिलो सिजनका फस्ट अनरअप बनेका धर्मेन्द्र सेवानले खेलाडीकै लागि तयार पारेको नयाँ गीत खेलाडी... गाए। उनले अर्को नयाँ गीत कता ढिडेँकी अनी अर्को चर्चित गीत हेर्दा राम्रो... पनि गाएर सुरुमै अवार्डको माहोल तताएका थिए।

खेलाडीको अवार्ड कार्यक्रममा खेलाडीकै लागि समर्पित गरेर आफ्नै शब्द र संगितमा गीत गाउन पाउँदा एकदमै खुशी लागेको सेवानले बताए। आफ्नो छुट्टै गायन शैलीका कारण चर्चित सेवानले तीन वटा गीत एकै पटक गाएका हुन्।

यस बाहेक एनसिसिएसका विद्यार्थीहरुले नेवारी नृत्य, झाँगड नृत्य लगायत प्रस्तुती दिएका थिए। एनसिसिएसकै मुख्य प्रायोजनमा क्रिकेट खेलाडीको संस्था सिप्यानले आयोजना गरेको अवार्डमा सन्दीप लामिछानेसँगै सीता राना मगर, रोहित कुमार पौडेल, करण केसी र कोमल पाण्डेले अवार्ड प्राप्त गरे।

सन्दीप र सीता वर्ष खेलाडी घोषित भए भने रोहित उदयीमान खेलाडी भए। यस्तै करण केसीले उत्कृष्ट क्षणको अवार्ड पाउँदा पाण्डे लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए।

 



ट्रेन्डिङ पोस्ट

Ncell