PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हेलिकप्टरमा सिट नपाउँदा जो भाग्यले बाँचे...



सविन ढकाल

हेलिकप्टरमा सिट नपाउँदा जो भाग्यले बाँचे...

काठमाडौँ : सांसद विजय सुब्बा बुधवार बिहान एउटा फोनको प्रतीक्षामा थिए। फोन गर्नेवाला थिए पर्यटन मन्त्री रवीन्द्र अधिकारी।

फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म घण्टी बजेन। सिंहदरबारमा बिहान राज्य व्यवस्था समितिको बैठक बसिरहेको थियो। नागरिकता विधेयकमा छलफल चलिरहेकै थियो।

सांसद सुब्बालाई मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए। 'दुई दिन अगाडिमात्र मेरो क्षेत्र भएकाले मलाई पनि जानुपर्छ भनेर उहाँको पिएलाई मेरो नाम टिपाएको थिएँ। जाने दिन खबर गरौंला भन्नु भएको थियो,' सांसद सुब्बाले पहिलोपोष्टसँग भने। 

फोन कुरिरहेका उनलाई एकाएक गृह सचिव प्रेमकुमार राईले एउटा अप्रत्यासित खबर सुनाए।

त्यो खबरले सुब्बामात्र होइन देशका धेरैलाई अत्यायो। पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना चढेको एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथीभरा नजिकै दुर्घटना भयो। खबर थाहा पाउँदा सबै छाँगाबाट खसे झै भए। ती सबैभन्दा सांसद सुब्बा आत्तिए। ‘मेरो त होस हवास नै उड्यो। अझै पनि डर लागिरहेको छ। संयोगले बाँचे,' उनले भने।

त्यही हेलिकप्टरमा जाउँला भनेर फोन कुरिरहेका उनले पछि थाहा पाए - उनका लागि सिट नै पुगेन। ‘सिट भएको भए म पनि जान्थेँ। मेरो अवस्था पनि त्यस्तै हुन्थ्यो होला,' दुखद् घटनालाई सम्झिँदै उनले पहिलोपोस्टसँग भने, 'यो सम्झँदा त एकदमै डर लाग्दो रहेछ।'

त्यसो त कालको मुखबाट उनी पटक पटक उम्केका छन्। प्रतिनिधिसभाको निर्वाचनको समयमा सुब्बा बम विस्फोटमा समेत परेका थिए। उनी त्यो त्रासदी र अहिलेको क्षण सम्झिँदै भन्छन्, ‘जीवनदान पाइरहेको छु। त्यतिखेर साधारण बम रहेछ बाँचे। तर, अहिलेको घटनाले सबैभन्दा धेरै डर लागेको छ।'

संयोग सुब्बाको मात्र रहेन, कृष्णगोपालको पनि उस्तै रह्यो।

काठमाडौँ क्षेत्र नम्बर ९ बाट सांसद भएका कृष्णगोपाल श्रेष्ठलाई पनि दुई दिन अगाडि मन्त्री अधिकारीले भेटेर सँगै जाउँला भनेका थिए। 

'दुई दिन अगाडिमात्र मेरो रवीन्द्र सँग संसदमा भेट भएको थियो। त्यतिखेर नै मलाई पनि जानुपर्छ है भन्दै थियो,' उनले सम्झिए, 'उनले हाँसेर आग्रह गर्दा मैले त्यहीँका सांसदलाई लैजानु नि भनेको थिएँ। तर, उसले तपाईँ पनि जानुपर्छ भनेको थियो।' 

राजनीतिक आधारका आधारमा सांसद श्रेष्ठभन्दा प्राथमिकतामा सांसद सुब्बा नै थिए। सुब्बाले सिट नभेटेपछि श्रेष्ठले ठाउँ पाउने कुरै भएन। आखिरमा यी दुवै सांसद हेलिकप्टर यात्रामा छुटे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell