PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भोलिदेखि सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द, डाक्टर भन्छन् : क्षमाप्रार्थी छौं



सागर बुढाथोकी

भोलिदेखि सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द, डाक्टर भन्छन् : क्षमाप्रार्थी छौं

काठमाडौं : अस्पतालमा काम गरिरहनुपर्ने सरकारी डाक्टरहरु यतिबेला सडकमा छन्। सेता कोट लगाएका उनीहरु हातमा पम्प्लेट बोकेर कहिले स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुग्छन् त कहिले माइतीघर मण्डलमा बसेर रक्तदान गर्छन्। अहिले त उनीहरुले सरकारी अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिसकेका छन्। 

दुई महिनादेखि सडक आन्दोलनमा बिताएका उनीहरु सामुहिक राजीनामा दिन तयारी गरिरहेको सुनाउँछन्। 

उनीहरुको मुख्य माग छ— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्‍यो।

यही माग सरकारले पूरा नगरेपछि उनीहरु आन्दोलनमा छन्। भन्छन्, 'यही अवस्थामा काम गर्न सक्दैनौं। सरकारले माग पूरा नगरे बरु खाडी जान्छौं।'

उनीहरुले पटकपटक आन्दोलन गरिरहेका छन्। एक महिनाअघि उनीहरुले अस्पताल बन्द गर्नेदेखि स्वास्थ्य मन्त्रालय घेराउजस्ता कार्यक्रम गरे। स्वास्थ्य मन्त्रालयले कागजमा मात्र माग पूरा गर्ने सहमति गर्‍यो। त्यसपछि फेरि उनीहरु 'वार कि पार' गर्ने भन्दै सडकमा निस्किएका छन्। सामुहिक राजिनामा दिन हस्ताक्षर समेत संकलन गरिरहेका छन्।

स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औं तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने लगायतका कागजी सहमति भए पनि कार्यान्वयन भएका छैनन्। त्यसैले उनीहरुले भोलिदेखि इमर्जेन्सी बाहेकका सेवा अनिश्चितकालीन रुपमा बहिस्कार गर्ने निर्णय गरेका छन्। 

किन यो अवस्था आयो त? 
सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेसँग पहिलोपोस्टका सागर बुढाथोकीले केही प्रश्न गरेका छन्।

तपाईँहरुले आन्दोलन गरिरहँदा सरकारी टोलीसँग भएका वार्ता बिना निष्कर्ष टुंगिरहेको छ? किन, कुन विषयमा कुरा मिलिरहेको छैन?

कुरा नमिलेको भन्दा पनि कार्यान्वयनमा नगएर हो। उहाँहरु हाम्रो मागमा सकरात्मक हुनुहुन्छ। तर, माग पूरा गर्नुस् भन्दा उहाँहरु चुप हुनुहुन्छ। माग पूरा गर्न उहाँहरु प्रकियामा जानु भएको छैन। कसरी माग पूरा गर्ने भन्ने विषयमा नै उहाँहरुमा अलमल देख्छु म। अहिलेसम्म केही प्रकियामा जानुभएको छैन।

उहाँहरुलाई प्रकियामा जान नै अलमल पार्ने खास माग के हो त तपाईँहरुको?

अहिले गाउँपालिकासम्म ८/९ तहका चिकित्सकले काम गरिरहेका छन्। माथिल्लो तहका चिकित्सक दुर्गममा नपुग्ने भएकाले तल्लो तहका चिकित्सकले नै दुर्गममा सेवा दिने अवस्था छ। जसले गर्दा गाउँ–गाउँमा गएर सेवा दिइरहेका चिकित्सकहरूको बृत्ति विकास नै रोकिएको छ।

 
अवैज्ञानिक तरिकाले जुन समायोजन नीति ल्याइएको छ, त्यसैमा सरकारी चिकित्सकको विरोध हो। चिकित्सकलाई पढेका आधारमा माथिल्लो अस्पतालमा आउने बाटो खोलिदिनु पर्‍यो नि! चिकित्सकलाई एउटै ठाउँमा सडाएर राख्न हुन्न्। चिकित्सकहरूलाई सरुवाको बाटो खोलिदिनु पर्छ। स्थानीय तहमा काम गर्ने चिकित्सकलाई प्रदेशमा आउने बाटो खोलिदिनुपर्‍यो। प्रदेशमा काम गर्ने चिकित्सकलाई संघको अस्पतालमा आउने बाटो खोलिदिनुपर्‍यो। चिकित्सकको असन्तुष्टिको विषय यही नै हो।

अनि सरकार प्रकियामै गएन वा तपाईहरुको माग पूरा गरेन भने के हुन्छ त?
सरकारले माग पूरा गर्दिन् भनेर प्रष्ट भन्नुपर्‍यो। अहिलेसम्म माग पूरा हुन्छ भनेर मात्र हामी अल्झिराखेको छौं। नत्र सामुहिक राजिनामा दिन हस्ताक्षर तयार छ। हामीले यो अवस्थामा काम गर्न सक्दैनौँ भनेर पटक पटक भनिरहेका छौं। सरकारले माग पूरा गर्दिनँ, भन्नुपर्‍यो हामी त्यही अनुसार गर्छौँ।

विशेषगरि निम्न आय भएका मानिसहरु जाने सरकारी अस्पताल बन्द भएपछि जनताहरु मारमा पर्ने भए। आन्दोलन गर्ने अरु कुनै विकल्प छैन?
यस सरकारले सोच्ने कुरा हो। हामीले त दुई महिना अघिदेखि आन्दोलन गरिरहेका छौं। सरकारलाई आफ्नो माग अवगत गरिराखेका छौं। तर, सरकारले टेर्दैन भने हाम्रो अरु विकल्प पनि छैन।

यस्तो आन्दोलन पहिलोपटक भएको पनि होइन। अरुले नि गरिरहेको आन्दोलन हो। अस्पताल बन्द हुँदा जनताहरुलाई असर पुग्छ त्यसका लागि क्षमाप्रार्थी छौं। तर, यसको जिम्मा सरकारले लिनुपर्छ।

भनेपछि भोलिदेखि देशभरका सरकारी अस्पतालका इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द हुन्छन?
हो। त्यो बाहेक हाम्रो अरु विकल्प रहेन। सरकारले माग पूरा नगरेसम्म हामी सेवा बहिष्कार गर्छौं। यसबाट पर्न गएको हानीको जिम्मा सरकारले लिनुपर्छ।

तपाईँहरु सरकारी अस्पतालको सेवा बहिस्कार गरेर निजी अस्पतालमा काम गर्न जानुहुन्छ, भन्ने आरोप लाग्छ नि?

हामीले यो कुरामा हाम्रा साथीहरुलाई सचेत गराइसकेका छौं। ड्युटी आवरमा हामी कोही निजी प्राक्टिस गर्न जाँदैनौं। ड्युटी आवरपछि काम गर्न त स्वास्थ्य मन्त्रालयले नै स्वीकृति दिएको छ।

यदि, ड्युटी आवरमा निजी अस्पतालमा काम गरेको कोही सरकारी चिकित्सक भेट्नुभयो भने खबर गर्नुस्, हामी आफैँ उहाँहरुलाई कारबाही गर्छौं।

अहिले हाम्रो आन्दोलन भनेको कर्मचारी समायोजन विधेयक विरुद्ध हो। हामी यसमै केन्द्रित छौं। यो आरोपको बारेमा बोल्ने दिन पनि आउँछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell