PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नख्खु विस्फोट : २५ फोटोमा हेर्नुस् घटनाको २४ घण्टामा के के भयो?

नख्खु विस्फोट : २५ फोटोमा हेर्नुस् घटनाको २४ घण्टामा के के भयो?

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटबाहिर शुक्रबार राति ८ बजेतिर एउटा ठूलो विस्फोट भयो। घटनाको २४ घण्टासम्ममा के के भयो? हेर्नुस् प्रवीण रानाभाटले खिचेका २५ फोटोहरु

 

 

एकाबिहानै खबर आयो- घाइतेमध्ये एक लमजुङ घर भएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भयो। शुक्रबार राति मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। घाइते उनलाई अल्का, बिएन्डबी हुँदै मेडिसिटी ल्याइएको थियो।
गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी थिए। नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको प्रत्यक्षदर्शीले बताए। दुई छोरी र एक छोराका बुवा उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेको सिंहका भाउजु धनकुमारी गुरुङले सुनाइन्। धनकुमारीले रुँदै भनिन्, 'कान्छो देवरलाई यस्तो भएको थाहा पाउने बित्तिकै आएका। राति तीन बजे हिँडेको।'
मेडिसिटी अस्पताल परिसरमा मृतक र घाइतेका आफन्तहरुले आक्रोश पोखे- 'पुलिसले एनसेल घेरेर बस्याे तर घाइते र मृतकलाई साेध्न आएन। यस्ताे घटना हुँदा पनि सरकारलाई एनसेलकाे माया। यहाँ घाइते र मर्दा हेर्न, साेध्न आउनु पर्दैन?
मृतकका आफन्तले राहत नदिएसम्म शव नउठाउने अडान राखे।
बल्लतल्ल शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगियो।
त्यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले मेडिसिटी अस्पताल पुगी घाइते र मृतकका आफन्तलाई भेटी उपचार खर्च व्यहोर्ने प्रतिवद्धता जनाए। तर मृतकका आफन्तले मुखले बोलेर हैन लिखित चाहिने अडान राखे।
मेडिसिटी अस्पतालको प्रतीक्षा कोठामा कुरिरहेका थिए घाइते प्रतीक्षा खड्काका श्रीमान् रितेश। अनुसार राति ८ बजे उनीहरु नख्खुबाट फर्किँदै थिए। बागडोलतिर फर्कँदै गर्दा एनसेल कार्यालय बाहिर चर्को आवाजको सामना गरे। उनीहरु ट्रान्समिटर पड्के होलान् भनी घर लागे।
प्रतीक्षाले भनिन्- केही पड्केको होला भनेर हामी बागडोलस्थित घर लाग्यौ। घर जादा रिँगटा लाग्यो। पछाडिबाट केहीले छेडेको रहेछ। रगत आइरहेको थियो। अनि ट्याक्सी चढेर अल्का अस्पताल गयौं। हामी नख्खुबाट ३ मिनेटमा घर पुगेका थियौ। घरबाट केही बेरमै अल्का अस्पतालतिर लाग्यौ। १५ मिनेटमा जतिमा अस्पताल पुगियो। त्यहा एक्सरे गरेपछि गंगालाल जानू भने। तर हामी मेडिसिटी नजिक हुन्छ भनेर यतै आयौं। यहाँ आइपुगेपछि फेरि एक्सरे गरे। पछाडिबाट कुकरको सिट्ठी छिरेको रहेछ।
अपरेसनपछि प्रतीक्षाको शरीरबाट निकालिएको वस्तु।
प्रतीक्षाले भनिन्- कसले यस्तो गर्‍या होला। किन पड्काको होला? धन्न बाँचियो। अहिले ठीक छु। इन्फेक्सन नभए एक हप्तामा ठीक हुन्छ भनेका छन् डाक्टरले।
प्रतीक्षासँगै अर्की घाइते उरुषा मानन्धरको पनि मेडिसिटीमै उपचार भइरहेको छ।
मेडिसिटी अस्पतालका कार्डियाेभास्कुलर थेरासिक सर्जन डाक्टर अनिल आचार्यले भने, गुरुङलाई सुरूमा इमर्जेन्सीमा राखियाे। उहाँलाई ल्याउँदा दाहिने खुट्टा पुरै छुट्टिएकाे थियाे। घुँडाभन्दा तलकाे भाग थिएन। दाहिने खुट्टाकाे मुख्य रक्तनली फ्याक्चर भएर रगत धेरै भएकाे थियाे। मुटुकाे चाल बन्द भएकाे थियाे। ब्लड प्रेसर थिएन। हामीले ५ पटक सिपिआर गरेपछि पनि बचाउन सकिएन। अपरेसन थियटरमा लैजान लाग्दा डेथ भयाे।
विस्फोट भएको ठाउँमा पिच खाल्डो परेको छ।
छर्राले एनसेलको गेटमा गोली जस्तो प्वाल पारेको छ तर गेट भत्किएको छैन।
हिजो विस्फोटका कारण वरपरका घर, पसलका शिशा फुटेका छन्। त्यहाँ एउटा मरेको परेवा पनि भेटियो।
नजिकैको घरका शिशा फुटेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell