PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली बर्थ डे केक काट्न व्यस्त भएपछि कार्यदलले प्रतिवेदन बुझाउन पाएन



पहिलोपोस्ट

ओली बर्थ डे केक काट्न व्यस्त भएपछि कार्यदलले प्रतिवेदन बुझाउन पाएन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिनको कार्यक्रममा व्यस्त भएपछि शनिबार पार्टी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउन पाएको छैन।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन परेको छ। 

पार्टी एकीकरणका लागि गठित ९ सदस्यीय कार्यदललाई शुक्रबार नेकपाको सचिवालयले विघटन गरेको थियो। कार्यदल विघटन गरिएको प्रति असन्तुष्टि जनाएको समूहले तयार पारेको प्रतिवेदन शनिबार अध्यक्षलाई बुझाउने तयारी गरेका थिए।

तर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिएपछि समूहले प्रतिवेदन बुझाउन पाएन। 

‘आज प्रधानमन्त्री ज्यूको बर्थडे छ। केक काट्नेलगायतका के के कार्यक्रममा व्यस्त हुनु भएको छ,’ कार्यदल सदस्य बेदुराम भुषालले पहिलोपोस्टसँग भने,‘प्रधानमन्त्री ज्यू व्यस्त हुँदा प्रतिवेदन बुझाउने समय पाइएको छैन। रातिसम्म समय पाइएला कि भन्ने प्रतिक्षामा छौं।’

कार्यदल सदस्य भुषालका अनुसार कार्यदल विघटन भएपनि एउटा प्रतिवेदन तयार भएको छ। सबै सदस्यहरुको सहमति नभएपनि आफूहरुले तयार पारेको प्रतिवेदनले सबैलाई समेटेको तर त्यही बुझाउन समय नपाइएको उनले बताए।

गत पुस १२ गते नेकपाको स्थायी समितिले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको समय अवघि १५ दिन दिइएको थियो। 

कार्यदलभित्र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबीच सहमति नहुँदा दुई महिनासम्म कार्यदलले एकीकरणको खाका कोर्न सकेको छैन। प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्तावमा शुक्रबार कार्यदल विघटन भएको हो।

कार्यदलका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली पक्ष कार्यदलमा अल्पमतमा परेपछि कार्यदल विघटन भएको हो। कार्यदलभित्र प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा उभिएका थिए।

प्रतिवेदन बुझाउन चाहने समूहमा भुसालसहित योगेश भट्टराई, वर्षमान पुन र सुरेन्द्र पान्डे लगायत रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell