PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

काठमाडौंमा गुञ्जिए डेउडा, एक दशकपछि काठमाडौंमा 'परेवा जोडी'



सहयोग रञ्जित

काठमाडौंमा गुञ्जिए डेउडा, एक दशकपछि काठमाडौंमा 'परेवा जोडी'

काठमाडौं : सुदुरपश्चिममा एक समय एउटा नाम धेरै चर्चामा रह्यो। उनले गाउने लोकगीतहरु श्रोतामाझ निकै चर्चित थियो। उनले करिब एक दर्जन एकल एल्बम निकालेकी थिइन्। धेरैले आफ्नो एल्बम बिकाउन उनलाई एउटा गीत गाउन लगाउँथे। तर, संगीत क्षेत्रमा भित्रिएको आधुनिकताले ती गायिका ओझेलमा परिन्। काठमाडौंमा मात्रै नभइ भारतका केही शहरमा समेत आफ्नो गीत प्रस्तुत गरेकी उनको स्वर एक दशकपछि आज काठमाडौंमा गुञ्जियो। 

उनी हुन् लोक गायिका डीक्रा बादी।

सिंगो सुदुरपश्चिममा आफ्नो गायन शैलीबाट प्रभावित बनाउन सफल उनले आज काठमाडौंमा एकल डेउडा गायन प्रस्तुत गरिन्। 
राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा डीक्राले डेउडा, दोहोरी र ठाडी भाकामा गीत प्रस्तुत गरेकी हुन्।  

आफ्नो श्रीमान् कित्थ्या बादीसँग दोहोरी गाउँदा दर्शकहरुले उनीहरुलाई साथ दिएका थिए। सुदुरपश्चिममा हुने केही महोत्सवमा गाउने डीक्राले पहिलो पटक आफ्ना श्रीमानसँग गीत गाएकी हुन्। यसभन्दा पहिला उनको श्रीमानले उनलाई सारङगीमा साथ दिँदै आएका थिए। आज पनि कित्थ्याले डीक्रालाई सारङ्गी बजाएर साथ दिएका थिए।

यस्तै गितार, मादल, बासुरीको तालमा उनले पहिलो प्रस्तुती दिइन्। एकल गायन सांगीतिक समूहबाट शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीले बाद्य बाधनमा साथ दिएका थिए। 

१४ वर्षको उमेरमा भारतमा भागी बिहे गरेको प्रसंग जोड्दै यो जोडीले दोहोरी गाउँदा दर्शकहरुले भाका थपेका थिए। उनीहरुलाई सुदुरपश्चिममा 'परेवा जोडी' भनेर सम्बोधन गर्ने गरिएको डीक्राले बताइन्। 

कार्यक्रममा बोल्दै डीक्राले पुन : दर्शकमाझ आउन पाउँदा खुशी महसुस गरेको बताउँदै भनिन्, 'चक्कामा धेरै गीत रेकर्ड गरियो। मेमोरी कार्डको जमाना चलेसँगै मानिसले गीतलाई बिर्से।' त्यसैले उनले अब भिडियो सहितको ठाडी भाका निकाल्ने तयारी गरिरहेको बताइन्। 

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गराउन नसक्नुमा बादी जस्तै कलाकारहरु ओझेलमा पर्नु मुख्य कारण रहेको कार्यक्रमको सह आयोजन गरेको रैथाने समूहकी अध्यक्ष झुमा लिम्बुले बताइन्। 

नेपाली संगीतलाई जिवन्त बनाउका लागि गाउँघरमा लुकेर बसेका लोक संगीतलाई बाहिर ल्याउनु पर्नेमा उनले जोड दिइन्। 
झुमाले डीक्रासँगै दुई दोहोरी गीत प्रस्तुत गरेकी थिइन्। 

कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रमा बादीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell