PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डीपीएल : सिवाइसी अत्तरिया च्याम्पियन



पहिलोपोस्ट

डीपीएल : सिवाइसी अत्तरिया च्याम्पियन
Photo : Dhangadhi Cricket Academy

धनगढी : सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै नटआउट ४७ रन बनाएपछि सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधि जितेको छ।

फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले  पराजित गर्दै अत्तरिया पहिलो पटक च्याम्पियन बनेको हो।

फाइनलको जितपछि अत्तरियाले समूह चरणमा महेन्द्रनगरसँग बेहोरेको हारको बदला समेत लिएको छ।

उपाधि जित्ने क्रममा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो। अत्तरियाका लागि सन्नी पटेलले २६ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा नटबउट ४७ रन बनाए। उनले अत्तिम ओभरको पाँचौ बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाए। अत्तरियाका लागि ओपनर जयकिसन कोल्सावालाले ३० र कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रनको योगदान गरे।

प्रतियोगिताअघि पेपरमा सबैभन्दा कमजोर आँकिएको अत्तरियाले प्रतियोगिताभर खेलेका सबै खेलमा एकरुपताको प्रदर्शन गर्दै उपाधिसँगै ३० लाखको नगद पुरस्कार आफ्नो पक्षमा पारेको छ।

अत्तरियाका लागि जयकिसन कोल्सावाला र पहिले खेल खेलिरहेका ज्ञानेन्द्र कुँवरले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर पाँचौ ओभरमा ज्ञानेन्द्र ७ रन बनाएर आउट भएपछि अत्तरियाले नियमित अन्तरमा विकेट गुमाएको थियो।

तेस्रो नम्बरमा ब्याटिङ गरेका सन्दीप जोरा सातौँ ओभरमा २ रन बनाएर रनआउट भए। यस्तै नवौँ ओभरमा महेन्द्रनगरका साग ढकालले जयकिसन कोल्सावाला र रित गौतमको विकेट लिएपछि अत्तरिया ८.३ ओभरमा ४३-४ को अवस्थामा पुगेको थियो। दशौँ ओभरको अन्तिम बलमा भुवन कार्की (६)  लाई शहाब आलमले अभिनाश बोहराको हातबाट क्याचआउट गराएपछि अत्तरिया १० ओभरमा ५४-५ को स्थितीमा पुग्यो।

छैटौँ विकेटका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र सन्नी पटेलले ३८ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए। तर १७औँ ओभरको चौथो बलमा दिपेन्द्र ऐरी मोहम्मद नाभिदको बलमा बोल्ड भएपछि अत्तरिया दबामा पर्‍यो।

तर सातौँ नम्बरमा ब्याटिङ गरेका सन्नी पटेलले अन्तिमसम्म क्रिजमा रहँदै जितको आधार तयार पारे। सन्नीले सातौँ विकेटका लागि कमल सिंह ऐरीसँग १९ रनको साझेदारी गरे। सन्नीलाई जितसम्म साथ दिएका जितेन्द्र सिंह ठकुरीले ४ बलमा ३ रन बनाए। सन्नी र जितेन्द्रले नटआउट १६ रनको साझेदारी गरे।

अन्तिम ओभरमा अत्तरियालाई जितको लागि ७ रन चाहिएको थियो। जसमा सन्नी र जितेन्द्रले चौथो बलसम्म १-१ रन लिए। अन्तिम दुई बलमा अत्तरियालाई जितका लागि ३ रन चाहिएको अवस्थामा सन्नीले पाँचौ बलमै छक्का प्रहार गरेर खेल जिताए।

बलिङमा महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। मोहम्मद नाभिदले १९ रन खर्चेर २ विकेट लिए। शहाब आलमले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १२३ रन बनाएको थियो।

महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४३ रन बनाए। कुशल मल्लले २५ र रोहित कुमार पौडेलले २४ रन जोडे। ४२ रन हादा ४ विकेट गुमाएको अवस्थामा दिलिप नाथ र कुशल मल्लले पाँच विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। दिलिपले ४१ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए।

कुशल मल्लले २२ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २५ रन बनाउँदा रोहितले २४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २४ रन योगदान गरे। आरिफ शेखले ११ र ओपनिङ गरेका मोहम्मद नाभिदले १० रन जोडे भने अन्य ६ खेलाडीले दोहोरो रन स्कोर गर्न सकेनन्।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। किफायती बलिङ गरेका सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर १ विकेट लिए। दिपेन्द्र रावतले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए।

अत्तरियाका खेलाडीले चुस्त फिल्डिङ गर्दै महेन्द्रनगरका ५ खेलाडी रनआउटमार्फत आउट गरेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell