PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नख्खु विस्फोट : एनसेलकै सुरक्षा गार्ड नियन्त्रणमा, विप्लवका ज्वाइँ शंकाको घेरामा



सविन ढकाल

नख्खु विस्फोट : एनसेलकै सुरक्षा गार्ड नियन्त्रणमा, विप्लवका ज्वाइँ शंकाको घेरामा

काठमाडौँ : एनसेल कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा एनसेल कार्यालयकै सुरक्षा गार्डसमेत छन्। एनसेलकै सुरक्षा गार्डलाई चाहिँ प्रहरीले किन लियो नियन्त्रणमा?

शुक्रवार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। उनको पाटन अस्पतालमा पोस्ट मार्टम हुँदैछ। विस्फोटमा परी घाइते भएका अन्य दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

राजधानी उपत्यकामै भएको विस्फोट र सर्वसाधारणको मृत्युले एकपटक फेरि प्रहरी प्रशासनलाई झस्क्याएको छ। द्वन्द्वकालकै शैलीमा भएको विस्फोटले गृह मन्त्रालयमाथि पनि दवाव बढाएको छ। त्यसैको असर हो घटनाको अनुसन्धानमा प्रहरीको सक्रियता हलक्कै बढेको।

प्रहरीले शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएको पनि छ। यसरी नियन्त्रणमा लिनेक्रममा एनसेलको कार्यलय सुरक्षाका लागि खटिएका दुई जना गार्ड पनि प्रहरीको नियन्त्रणमा परेका छन्। तर, उनीहरुको संलग्नताबारे अहिलेसम्म प्रष्ट खुलिसकेको छैन। प्रहरीको बयानमा उनीहरुले केही कुरा झुट बोलेकाले प्रहरीले उनीहरुमाथि पनि अनुसन्धान जारी राखेको छ। ‘उनीहरुको व्यवहार केही शंकास्पद भएकाले हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले भने।

कसरी परे त उनीहरु शंकाको घेरमा?

घटना भएको समय उनीहरु कार्यालय सुरक्षामै खटिएका थिए। मोटरसाइकलमा आएका व्यक्तिले कार्यालयभित्र शंकास्पद वस्तु फालेको कार्यालयमा रहेको सीसी क्यामरामा कैद भएको छ। त्यसपछि सुरक्षामा खटिएका गार्डहरुले नै त्यो शंकास्पद वस्तु कार्यलयको गेट बाहिर फ्याँलेको देखिन्छ। उनीहरुले त्यो शंकास्पद वस्तु गेट बाहिर किन फ्याँले? के उनीहरुलाई त्यहाँ बम थियो भन्ने थाहा थियो ? यो प्रश्नको जवाफ प्रहरीले पाउन सकेको छैन। 

‘शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गर्नुपर्ने थियो। उनीहरुले बाहिर फ्याल्नु गल्ती भयो। उनीहरु शंकाको घेरमा छन्,' नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले भने।

प्रहरीले सुरक्षा गार्डबाहेक अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। साथै, प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ। नख्खु घटनाको वास्तविकता केही दिनमा नै बाहिर आउने प्रहरीको दावी छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूजा सिंह भन्छिन्, 'अनुसन्धान सकारात्मक दिशामा नै अगाडि बढेको छ। एक दुई दिनमा नै सबै पत्ता लाग्छ।'

काठमाडौं र ललितपुरको घटनामा एउटै समूह

नख्खुमा विस्फोट भएको खबर फैलिए लगत्तै काठमाडौँको नक्सालस्थित लोत्से चोकमा शंकास्पद वस्तु फेला पर्‍यो। केही समयमा नेपाली सेनाको डिस्पोजल टोली बोलाइयो। आँगन रेष्टुरेष्ट अगाडि प्रेसर कुकुरभित्र रहेको विस्फोटक पदार्थ सेनाले डिस्पोज गर्‍यो।

तर, घटना कसले गरायो भन्ने समेत खुल्न सकेन। तर, प्रहरीको अनुसन्धानले भने ललितपुरको घटना गराउने समूह र काठमाडौंमा विस्फोटक पदार्थ राख्ने समूह एउटै भएको खुलेको छ। एक प्रहरी अधिकृतले भने, 'घटनालाई धेरै कोणबाट हेर्दा एउटै समूहले गराएको भन्ने देखिएको छ। यसमा थप अनुसन्धान गरिरहेका छौं।'

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली परिचालन गरिएको छ।

विप्लवका ज्वाइँको संलग्नता !

यसअघि पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी तथा विस्फोट गराएको प्रहरीको दावी छ। अहिले पनि धेरैले नख्खुको घटनलाई विप्लव नेतृत्वको समूहले गरेको आशंका गरिरहेको छ। अर्धभूमिगत रहँदै आएको यो संगठनले भने घटनाको जिम्मेवारी लिइसकेको छैन। 

प्रहरीले अहिले नेत्रविक्रम नेतृत्वको समूहले विस्फोट गराएको आशंकामा त्यस कोणबाट पनि अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानको घेरामा अखिल (क्रान्तिकारी)का ललितपुर जिल्लाका अध्यक्ष विनोद लुइटेलको संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान गरिरहेको छ। अध्यक्ष लुइटेल नेत्रविक्रम चन्द्रका ज्वाइँ समेत पर्छन्। यो समाचारका लागि उनलाई सम्पर्क गर्दा उनको फोन स्वीच अफ थियो।

सामाजिक सञ्जालमा एनसेलमाथिको कारबाही किन लेखिएको एउटा पर्चा पनि भेटिएको छ। तर पर्चामा कुनै पार्टी वा समूहको नाम उल्लेख छैन। त्यसमा 'जय जनता' मात्रै लेखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell