PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

घाइतेले 'बचाऊ..' भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी



सागर बुढाथोकी

घाइतेले 'बचाऊ..' भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी

काठमाडौँ : नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको ज्यान गएको छ भने दुई जना घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। 

घटनाका प्रत्यक्षदर्शीले घाइतेको उद्दारमा लापरवाही भएको आरोप लगाएका छन्। एक प्रत्यक्षदर्शीले पहिलोपोस्टलाई यसरी घटना विवरण सुनाए-

मेराे नाम दमन बाेगटी। घटना हुँदा म त्यहीँ नजिकै थिएँ। पड्केकाे आवाज आएपछि त्यहाँ पुगेँ। म पुग्दा एक जना मानिस छटपटाइरहेकाे थियाे। पुलिस एकछिनपछि आयाे। एम्बुलेन्स आउँदा पुलिसले मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भन्याे। अरूले ट्याक्सी बाेलाउँदा उठाउन दिएनन्। उसले हात हल्लाउँदै 'बचाऊ' भनिरहेको थियो।  

घटना हुने बित्तिकै उठाएकाे भए बाँच्न सक्थ्याे कि। पछि मात्रै उसलाई उठाएर अस्पताल लगे। अल्का अस्पताल, बीएण्डबी हुँदै यहाँ मेडिसिटी ल्याउँदा पनि ढिलाे भयाे हाेला।

उहाँ आफ्नै गाडीमा हुनुहुँदाे रैछ। गाडीबाट झरेर हेर्न जादाँ लागेकाे रहेछ।

आफन्तको आक्रोश

घाइते र मृतकका आफन्तहरुले पनि आक्रोश व्यक्त गरेका छन्। हिजो राति नै सरकारले घाइते र मृतकलाई सम्पर्क नगरेको आरोप उनीहरुले लगाए। 

मेडिसिटी अस्पताल परिसरमा उनीहरुले आक्रोश पोखे- 'पुलिसले एनसेल घेरेर बस्याे तर घाइते र मृतकलाई साेध्न आएन। यस्ताे घटना हुँदा पनि सरकारलाई एनसेलकाे माया। यहाँ घाइते र मर्दा हेर्न, साेध्न आउनु पर्दैन? 

लमजुङका ४९ वर्षीय गुरुङलाई शुक्रबार राति मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। घाइते उनलाई अल्का, बिएन्डबी हुँदै मेडिसिटी ल्याइएको थियो।

गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सिंगापुरे गाेर्खा पेन्सनी समाजले घटनाको छानबिन गर्न पाँच जनाको समिति पनि बनाएको छ। 

दुई छोरी र एक छोराका बुवा उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेको सिंहका भाउजु धनकुमारी गुरुङले सुनाइन्।

धनकुमारीले रुँदै भनिन्, 'कान्छो देवरलाई यस्तो भएको थाहा पाउने बित्तिकै आएका। राति तीन बजे हिँडेको।'

धनकुमारीका अनुसार सिंहप्रसादकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यहीँ कक्षा ६ मा पढ्दैछन्। एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन्। चार दाजुभाइ मध्ये कान्छो सिंहका दुई जना दाइ अस्पताल आइपुगेका छन्। एकजना दाइ बेलायतमा रहेका छन्। उनका ६ जना दिदी बहिनी छन्।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा

शनिबार दिउँसो गुरुङको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।  परिवारले शव नबुझ्ने अडान भने यथावत राखेका छन्।

गृहमन्त्री रामबहादुर थापाले आज बिहान मृतकका आफन्त र घाइतेका परिवारसँग भेटेर उपचार खर्च तथा राहत रकम उपलब्ध गराउने आश्वासन दिएका थिए।

गृहमन्त्रीको मौखिक आश्वासनकै भरमा मात्र नहुने भन्दै आफन्तले शव नबुझ्ने बताएका थिए। 

आज बिहान गृहमन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए। 

घाइतेको अवस्था के छ?

दुई जना घाइते उरुषा मानन्धर र प्रतीक्षा खड्काको उपचार भइरहेको छ। 

उपचार भइरहेको मेडिसिटी अस्पतालका कार्डियाेभास्कुलर थेरासिक सर्जन डाक्टर अनिल आचार्यले प्रतीक्षालाई अझै एक हप्ता अस्पतालमा राख्नुपर्ने अवस्था हुनसक्ने बताएका छन्। 

उनले भने, 'मैले प्रतीक्षा र सिंह प्रसाद गुरूङलाई हेरेकाे हुँ। गुरुङलाई सुरूमा इमर्जेन्सीमा राखियाे। उहाँलाई ल्याउँदा दाहिने खुट्टा पुरै छुट्टिएकाे थियाे। घुँडाभन्दा तलकाे भाग थिएन। दाहिने खुट्टाकाे मुख्य रक्तनली फ्याक्चर भएर रगत धेरै भएकाे थियाे। मुटुकाे चाल बन्द भएकाे थियाे। ब्लड प्रेसर थिएन। हामीले ५ पटक सिपिआर गरेपछि पनि बचाउन सकिएन। अपरेसन थियटरमा लैजान लाग्दा डेथ भयाे।

'त्यस्तै प्रतीक्षाजीलाई ल्याउदा सिरियस थिएन। रगत बगेकाे थियाे। एक्स रे गरेपछि १ बजे अपरेशन गर्‍यौँ। पछाडिपट्टी ढाडबाट मेटल छिरेकाे रैछ। तर मेजर अंगमा छाेएकाे रैनछ। अब एक्स रे गर्दा ठीक देखियाे भने ओपिडीमा सार्छाै।  घाउमा इन्फेक्शन भएन भने एक हप्तामा डिस्चार्ज गर्छाै। अहिले अवस्था ठीक छ।'

त्यस्तै अर्थोपेडिक डाक्टर निभा चित्रकारले भने, 'मैले उरूषा मान्धरलाई हेरिराकाे छु। उसलाई अस्पताल ल्याउँदा हाेसमै थियाे। रगत बगेकाे र दुखाई धेरै थियाे। देब्रे खुट्टा इन्जुर्ड थियाे लगभग ५ देखि ६ सेन्टिमेटर घाउ। हड्डीसम्म फ्याक्चर भएकाे छ। खुट्टामा बमका टुक्राहरू थिए। सफा गरेर निकाल्याैँ, अझै निकाल्दैछाैँ। हिजाे राति र अहिले बिहान गरेर दुइपटक अपरेशन गर्‍यौँ। अझै अपरेशन गर्नुपर्छ। उरूषाकाे फ्याक्चर नर्मल पनि हैन, धेरै ठूलाे इन्ज्योर्ड भन्न पनि मिल्दैन। अहिले उहाँलाई ठीक छ। बमका फाेहाेरहरू निकाली नै रहेका छाैँ। हाम्राे टिमले हेरिरहेकाे छ।'

सम्बन्धित समाचार

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell