PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

क्रान्तिकारी माओवादी फौजी रणनीतिमा, युवालाई प्रशिक्षण, 'भ्रष्टहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने तयारी'



बीपी साह

क्रान्तिकारी माओवादी फौजी रणनीतिमा, युवालाई  प्रशिक्षण, 'भ्रष्टहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने तयारी'
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले हिजो मंगलवारबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सुदुरपूर्व र सदूरपश्चिमको टोलीले सीमा अतिक्रमित क्षेत्रको निरिक्षण, कोणसभा र सीमा क्षेत्रका जनतासँग अन्तर्क्रिय गर्दै छ।

मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको पूर्व झापाबाट सुरु गरेको मेची–महाकाली अभियान टोलीले आज झापाको गौरीगञ्ज– ५ स्थित फत्तेपुरमा भारतीय पक्षबाट सीमा अतिक्रण गरिएको भूमिको निरीक्षण गर्दैछ।

यतिखेर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी क्रान्तिको आधार तयार गर्ने भन्दै संघर्षका कार्यक्रमलाई अगाडि बढाउन थालेको छ।

गत पुसमा बुटवलमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले तय गरेको 'संघर्ष संगठन र संघर्ष' रणनीति अनुसार देशभर युवाहरु परिचालन गर्दै संघर्षलाई अगाडि बढाउने तयारीमा रहेको क्रान्तिकारी माओवादीले यसबीच युवाहरुलाई फौजी तालिमसमेत सम्पन्न गरेको पार्टीका एक नेताले पहिलोपोस्टलाई जानकारी दिए।

'यसबीच सातै प्रदेशका युवाहरुलाई फौजी प्रशिक्षण दिइएको छ,' ती नेताले भने, 'युवाहरुलाई क्रान्तिको आधार तयार गर्ने गरी प्रशिक्षण दिइएको छ। जनगणतन्त्र स्थापनाका लागि संघर्ष अपरिहार्य छ। त्यसैले पनि युवा विद्यार्थीहरुलाई यसको आधार तयार गर्ने गरी जिम्मेवारी दिइएको छ।'

क्रान्तिकारी माओवादीले माघको अन्तिम साता मात्र गण्डकी प्रदेश स्तरीय युवा प्रशीक्षण फौजी प्रशिक्षण दिएको थियो।

यसरी फौजी प्रशिक्षण दिइएका युवाहरुलाई क्रान्तिकारी माओवादीले फागुन १ गते जनयुद्ध दिवसका दिन देशैभर 'रेड मार्च' गराएको थियो। अहिले तिनै युवाहरुलाई देजमोले गरेको मेची महाकाली अभियानमा हिँडाएको छ क्रान्तिकारी माओवादीले।

तालिम लिएका युवा फौजी कारवाही गर्दै

क्रान्तिकारी माओवादीले आफ्नै सबै जनवर्गीय संगठनलाई आफ्नो क्षेत्रमा संघर्षका कार्यक्रम गर्नसमेत निर्देशन दिएको छ। जसअनुसार युवा विद्यार्थीले आफू अनुकुलका संघर्षका कार्यक्रम तय गर्न थालेका छन्।

पार्टीको निर्देशन अनुसार देशभर पार्टी निकट क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारीले भ्रष्टहरुलाई कारवाही गर्ने अभियानको तयारी गरिरहेको एक नेताले बताए। 'युवा लिगले तलैदेखि भ्रष्टहरुको नाम संकलन गरिरहेको छ। स्थानीय स्तरदेखि नै भ्रष्टहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने तयारी भइरहेको छ,' ती नेताले भने, 'वाइडबडी प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो दलेर सुरुवात भएको छ। यो अभियान अगाडि बढ्छ।'

क्रान्तिकारी माओवादीले प्रशिक्षण दिएर तयार पारेका युवाहरुलाई सबैतिर परिचालन  गर्दै छ।  

आज के हुँदै छ अभियानमा

हिजो झापाबाट सुरु भएको पूर्वी टोलीको यात्रा आज विराटनगर पुग्ने छ। आज झापाको गौरीगञ्ज– ५ स्थित फत्तेपुरमा भारतीय पक्षबाट सीमा अतिक्रण गरीएको क्षेत्रमा प्रदर्शनसहित कोणसभा हुने छ। कोणसभामा पार्टीका नेता तथा देजमोका अध्यक्ष गजुरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यहाँबाट अभियान टोली मोरङ जिल्लातर्फ प्रस्थान गर्नेछ। उक्त अभियान टोलीले आजै मोरङको उर्लाबारीमा कोणसभा गर्ने छ।

त्यहाँबाट टोली मोरङकै दाइनियाँ र धनपाल गाउँपालिकाको कर्सिया भन्ने गाउँमा स्थानीयवासीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेता गजुरेलले जानकारी दिए। टोली आज प्रदेश १ को विराटनगर पुग्ने छ।

उता क्रान्तिकारी माओवादीका स्थायी कमिटी सचिव तथा देजमोका सचिव परि थापाले नेतृत्व गरेको पश्चिम कञ्चनपुरबाट सुरु भएको मेची–महाकाली अभियान टोलीले आज कञ्चनपुरको बेलौरीमा कोणसभा गर्दै गोविन्दपुर पुनर्वास क्षेत्रमा अतिक्रमित भूमिको निरीक्षण गर्ने, गोविन्द बजारमा कोणसभा र स्थानीय जनतासँग अन्तक्रिया गर्ने छ। अभियान टोली आजै कैलाली पुग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell