PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'लुट्न सके लुट' गीत युट्युबबाट डिलिट गरिएको बारे के भन्छन् गायक/गायिका?



पहिलोपोस्ट

'लुट्न सके लुट' गीत युट्युबबाट डिलिट गरिएको बारे के भन्छन् गायक/गायिका?

'लुट्न सके लुट कान्छा' बोलको गीत चर्को विवादमा आएपछि लोकदोहोरी गायक पशुपति शर्माले शनिबार राति युट्युबाट गीत हटाए। हटाए पनि यो गीतले चर्चा पाइरहेको छ। यो प्रकरणबारे गायक गायिका के भन्छन् ?

डिलिट नै गर्नुपर्ने त थिएन जस्तो लाग्छ: कुलेन्द्र विश्वकर्मा

'सालको पात टपरी'बोलको गीतबाट यतिखेर चर्चामा रहेका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले सिर्जनालाई डिलिट गरेकोमा दु:ख व्यक्त गरे। उनले भने, 'मलाई यस विषयमा खासै धेरै जानकारी त छैन। गीत त सन्देशमूलक नै थियो। घोचपेच बढी भयो भन्ने सुनिराथें। उहाँले कसरी, किन डिलिट गर्नुभयो, मैले यकिन त भन्न सक्दिनँ। आफूलाई नराम्रै भएर त डिलिट गर्नुभयो होला? गीत सचेत गराउने किसिमको छ। सृजना हो, डिलिट नै गर्नैपर्छ जस्तो लाग्दैन मलाई।'

हटाइ हाल्नुपर्ने लाग्दैन : प्रमोद खरेल

'यो कुरा गोप्य'बाट यतिखेर दर्शकको माया बटुलिरहेका गायक प्रमोद खरेल गीत हटाइहाल्नु पर्ने नदेखिएको बताउँछन्। उनी भन्छन्, 'नेपालमा भएका बेथिति,राजनीतिक परिवर्तनहरु, क्रान्ति, जनचेतनामूलक आन्दोलनहरुमा गायकहरुको ठूलो भूमिका छ। रामेश, जीवन शर्मादेखि लिएर पशुपति शर्मासम्म आइपुग्दा परिवर्तनका लागि नेपाली कलाकारहरुको योगदान ठूलो छ। पशुपतिले पनि बेथितिहरुलाई नै गीतमा उजागर गरेका हुन्। त्यसमा चाहीँ पार्टी विशेषकै झण्डा, केही कुरा तोकिएरै भनियो भन्ने मैले सुनें। त्यसमा गायक आफैले परिमार्जन गर्ने भनेकै छन्।

उनी थप्छन्, 'पहिला पनि कसैले न कसैले यस्तो बेथितिलाई उजागर गर्दै आएका छन्। पशुपतिले जुन विषय उजागर गराउन खोजे, त्यो यो देशको आवश्यकता नै हो। सबैले देखेका अनि भोगेका छन्, देशमा भ्रटाचार चरम छ, सुशासन ध्वस्त छ, बलात्कारी खुलेआम हिँडिरहेको छ। यस्तै कुरालाई उनले गीतबाट भनेका छन्। यसमा कुनै गल्ती छैन। उहाँले किन डिलिट गर्नुभयो त्यो मलाई थाहा छैन। हटाइहाल्नु पर्ने लाग्दैन। कलाकारले यस्तो कुरा उजागर गर्न पाउँछन्।'

दबाबमा गीत डिलिट गर्नु गलत : प्रकाश सपूत

'बोल माया'बाट चर्चामा रहेका गायक प्रकाश सपुतले दबाबमा गीत डिलिट गर्नु गलत रहेको बताउँछन्। उनले भने, 'मलाई यस्तो कन्ट्रोभर्सी स्वभाविक नै लाग्छ। गीत मन पराउनु, मन नपराउनु स्वभाविक हो। पशुपति दाइ जति सृजनामा खरो हुनुहुन्छ, उत्तिकै विवादबाट पन्छिने स्वभावको हुनुहुन्छ। गीत रिलिज भएपछि कतिले नराम्रो कमेन्ट गर्नुभएपछि स्वभाविक रुपले उहाँले गीत डिलिट नै गर्नुभयो। तर, गीत डिलिट नै गर्नु हुन्थेन। दर्शक स्रोताको प्रतिक्रियाले अलिकति गलत नै गरें कि भन्ने अनुभव गरेर डिलिट गर्नु भएको पनि हुनसक्छ। कलाकारलाई स्वतन्त्रता चाहिन्छ। उहाँले आफ्नै समीक्षा गरेर गीत हटाउनु भएको भए स्वभाविक कुरा हो। यदि कसैको दवाव आएर उहाँले गीत डिलिट गर्नु भएको हो भने यो सरासर गलत हो।'

गीत हटाउन आवश्यक थिएन : प्रीति आले

दोहोरी ब्याटलकी चर्चित गायिका प्रीति आलेले गीत हटाउन आवश्यक नभएको प्रतिक्रिया दिइन्। भनिन्, 'यस्तो विषयवस्तुमा आवाज उठाउँदै गर्दा दुई चारजनाले दिएको दबाब, धम्कीहरुमा डराउनु पर्ने थिएन जस्तो मलाई लाग्छ। जुन आँटले त्यत्ति बोल्ने साहस गर्नुभएको थियो, हामी सबै कलाकारको समर्थन थियो यसमा। अधिकांश दर्शकको पनि साथ थियो उहाँलाई।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell