PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

योगेश भट्टराईको विश्लेषण : प्रचण्डलाई जेल हाल्छु भनेर सोच्नु दिवास्वप्न हो



योगेश भट्टराईको विश्लेषण : प्रचण्डलाई जेल हाल्छु भनेर सोच्नु दिवास्वप्न हो

  • योगेश भट्टराई -

हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले स्थायी कमिटीको गत पुसको बैठकमा एउटा मार्मिक वक्तव्य दिनुभएको थियो। उहाँले भन्नुभयो, ‘जतिबेला एमाले र माओवादीको एकता हुन लागेको थियो, त्यो बेला मलाई पहिले फकाइयो- एकता नगर्न। मैले त्यो इन्कार गरेँ। त्यसपछि मलाई धम्की दिइयो। उनीहरुले मेरो जीवनको सुरक्षाकै बारेमा धम्की दिए। त्यो कुरालाई पनि मैले परवाह गरिनँ र पार्टी एकता गरेँ। अब जहाँबाट आएँ, त्यहाँको पुल भत्काइ सकेँ। पछाडि फर्किने ठाउँ छैन। अगाडि बढेँ।’

त्यतिबेला मैले सोचेको थिएँ, हाम्रो अध्यक्षले किन यति भावुक र उत्तेजित अभिव्यक्ति दिइरहनुभएको छ भनेर। तर आज फेरि एक पटक सम्झिदा उहाँले स्थायी समितिमा त्यो वक्तव्य सोची विचारी नै दिनुभएको रहेछ। 

हामीले कास्कीको सिकलेसबाट प्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमा उठाएर सिधै बालुवाटारमा राख्यौं। सहमतिको जगमा बालुवाटारमा नेपाली जनताका प्रतिनिधि प्रधानमन्त्रीसँग भेटाइएको थियो।

आज म प्रश्न गर्न चाहान्छु, प्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमा किन ल्याइयो? संविधान सभाको चुनाव किन गराइयो? अन्तरिम संविधान किन बनाइयो? अन्तरिम व्यवस्थापिका संसद बनाएर माओवादीलाई संसदमा किन ल्याइयो? आज जुन ठाउँमा संसद भवन छ, त्यो भवनको हलमा भव्य समारोहकाबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर प्रचण्ड र गिरिजाप्रसादले गर्नुभएको थियो। सिंगै देशले उत्सव मनायो। त्यो किन? त्यसपछि पनि चाहे केपी ओली र प्रचण्डका बीचमा होस् अथवा प्रचण्ड र शेरबहादुरका बीचमा होस्, पटक–पटक कागजमा हस्ताक्षर किन भयो? 

हाम्रो पार्टी यी सबै ऐतिहासिक दस्तावेज र घटनाक्रमको साक्षी हो। र, हामी त्यसबाट विचिलित छैनौँ र हुँदैनौं। हाम्रा नेताहरुलाई विचलित गर्ने कोसिस हुन्छ। यो कुरा आज संसारले सुन्ने गरी हामीले भन्नुपर्छ, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काम हामीले नै गर्ने हो। यसका आफ्ना विधि प्रक्रिया छन्। त्यही भएर हामीले बेपता छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थपेका छौं। त्यसमा पदाधिकारी बदलेर भए पनि काम पूरा गर्छौँ। 

अफ्रिकादेखि एसियाका धेरै देशहरुको शान्ति प्रक्रियाको मोडललाई हामीले बुझेका छौं। कतिपय अन्तर्राष्ट्रिय अनुभव पनि हामीसँग छ। मूलतः हाम्रै देशका आवश्यकता र औचित्यका आधारमा शान्ति प्रक्रिया पूर्ण हुन्छ। द्वन्द्वका बेला पीडित भएकाहरुको पुनर्स्थापना हुन्छ। त्यो बेला मृत्यु भएका परिवारका सदस्यहरुको भरणपोषण हुन्छ, घाइतेको भरणपोषण हुन्छ। उनीहरुको सन्तानको पनि रेखदेख र पुनर्स्थापन हुन्छ। न्याय निरुपण पनि हुन्छ, हामी त्यही प्रक्रियाबाट शान्ति प्रक्रियालाई टुँगोमा पुर्या्उने छौं।

नेपालको यो शान्ति प्रक्रियालाई बिथोलेर नेपाललाई युद्धको अन्तर्राष्ट्रिय थलो बनाउने कोसिस गर्नेहरुलाई हामी भन्न चाहान्छौं, प्रचण्ड अथवा अमुक–अमुक व्यक्तिहरुलाई हतकडी लगाएर जेलमा हालिन्छ र नेपालमा युद्धको एउटा कारखाना चलाइन्छ भनेर कसैले सोचेको छ भने कसैको त्यो दिवास्वप्न पूरा हुँदैन। त्यो हामी हुन दिदैनौं। 

त्यस कारण प्रचण्ड कामरेडलाई पनि भन्न चाहान्छु हिजो तपाईको पछाडि माओवादी पक्षधरहरुको एउटा जमात थियो। जनमत थियो। आज तपाई माओवादीको मात्र नेता होइन। आज देशभरका ५० लाखभन्दा बढी जनताहरुले विश्वासको मत हालेको पार्टीको नेता हो। तपाईँ एक्लो हुनुहुन्न। हिजोको भन्दा आज तपाईको जनमत बढेको छ। तपाईँ विचलित नहुनुस्।

ढिलाई हुनुमा हामी सबैको आ–आफ्नो कमजोरी होलान्। धेरै त यो बीचमा हामी संविधान बनाउन र चुनाव सम्पन्न गर्ने तिर लाग्यौं। शान्ति प्रक्रियाको मुख्य काममा ध्यान दिन पाएनौं। राष्ट्रले त्यहाँ ध्यान दिन पाएन। तीन तहको चुनाव गरायौं। शान्ति प्रक्रियामा आइसकेपछि संविधान बनाउने एउटा लामो प्रक्रिया हामीले अबलम्बन गर्‍यौँ। त्यसैले शान्ति प्रक्रियाका बाँकी कामका विषयलाई हामीले प्राथमिकतामा राख्न सकेनौं। त्यो हाम्रो कमजोरी भयो। त्यसकारणले ढिलाई भएको हो।

१९८९ देखि सुरु भएको दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया आज पनि टुँगिएको छैन। र, अहिले पनि सत्यनिरुपण मेलमिलाप आयोग क्रियाशिल छ। भनेपछि नेपालको शान्ति प्रक्रिया पनि एउटा लामो बाटो तय गर्छ।

हाम्रो देश सानो हुनु, आर्थिक हैसियत कमजोर हुनु, हाम्रो भूराजनीतिक अवस्था यस्तो हुनु, यी धेरै कारणले हामीमाथि आफ्ना स्वार्थका एजेण्डाको भारी बोकाउने अन्तर्राष्ट्रिय शक्तिहरु पनि छन्। उनीहरुको भारी हामीले बोक्नु हुँदैन तर कहिलेकाहीँ हामी यस्तो विवशतामा पर्छौ कि तिनीहरुले जबर्जस्ती बोकाइ दिन्छ। त्यसकारण हामीले नचाहँदा पनि ढिलो भएको छ। 

यो स्वार्थकेन्द्रित शक्तिको टकराव पनि छ। कति देशलाई, कति अन्तर्राष्ट्रिय संस्थाहरुलाई कहिलेको रिस हामीमाथि पोख्नु छ। शान्ति प्रक्रियामा हामीलाई सघाएको संयुक्त राष्ट्र संघको मिसनलाई अब तपाईको काम सकियो, तपाईँलाई धन्यवाद। तपाईँ विदा हुनस् भन्नुको रिस अहिले हामीमाथि पोख्नु छ। कुन देशसँग हामीले हतियार किन्यौं त्यसको रिस कुनै अर्को देशलाई आज हामीमाथि पोख्नु छ। हाम्रा देशका कुनै ठूला पूर्वाधारका परियोजनाहरुलाई हामीले कुनै देशको कम्पनीलाई दियौं, त्यसको रिस अरु कुनै देशले हामीमाथि पोख्नु छ। 

मलाई लाग्छ यिनै कारणले हामीलाई एउटा प्लेग्राउण्ड बनाउन खोजिएको छ। म भन्न चाहन्छु, हाम्रो पार्टीले यो मुलुकलाई कुनै पनि अन्तर्राष्ट्रिय मुलुकको स्वार्थ समूहको खेल मैदान बनाउन दिदैन। र, यसो भनिरहँदा म उत्तेजित भएर भनेको होइन। सँगसँगै यो मुलुकको आर्थिक सम्वृद्धि, विकास, हाम्रो प्रजातन्त्रको स्थायित्व, स्थायी शान्तिको निम्ति फेरि हामी हाम्रा छिमेकी राष्ट्रदेखि टाढा–टाढाका हाम्रा मित्रहरु अन्तर्राष्ट्रिय समुदायहरुको साथ सहयोग र समर्थन पनि सँधै अपेक्षा गरिरहन्छौं।

(वीपी साहसितको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell