PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

केटीको निहुँमा साथीकै हत्या, यसरी भयो विभत्स घटना



सविन ढकाल

केटीको निहुँमा साथीकै हत्या, यसरी भयो विभत्स घटना

काठमाडौं : आफूसँगैको किशोरीसँग बिहेको कुरा गरेको निहुँमा पोखरामा युवकले आफ्नो टिनएजर साथीको हत्या गरेका छन्। 'केटी'का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिंजालीको हत्या भएको हो। उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मगलवार पर्वत जिल्ला मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।

गत सोमवार पाल्पा रम्वापानी घर भइ पोखराको लेकसाइड बस्ने १४ वर्षीय सिंजालीको शव पोखरा ६ लेकसाइडमा निर्माणधीन घरमा फेला परेको थियो। सिंजाली र कुमारबीच केटीको निहुँमा झगडा हुँदा हत्या गरेको प्रहरीले जनाएको छ।

घटना भएको दिन राति १२ बजे सचिन, अभियुक्त भनिएका कुमार र अन्य तीन जना निर्माणाधीन घरभित्र छिरेका थिए। त्यसको ४६ मिनेटपछि मृतकबाहेक अन्य तीन जना अभियुक्त बाहिर निस्केका थिए। लेकसाइडमा रहेका सीसी टिभी क्यामरामा उनीहरुको गतिविधि समेत कैद भएको प्रहरीले फेला पारेको छ। 

यस्तो थियो घटना
गत सोमबार करिब ४ बजेतिर घटना घटेको स्थल (जहाँ सडक बालबालिका बस्ने गर्दथे) बेनी काले भनिने, कुमार गर्बुजा, मोटे भनिने सुशान्त परियार, डल्ली भनिने सुनिता गुरुङ रक्सी खाएर बसेका थिए। सचिन सिंजाली पनि उनीहरुसँग रक्सी पिएर बसेका थिए।

करिब साढे ४ बजे सेन्टर पोइन्टभित्र सचिन, कुमार र सुनिता छ्याङ खान गए। उनीहरुले  सय रुपैयाँको छयाङ खाए।

त्यसपछि करिब  दुई घन्टा सेन्टर पोइन्टमा माग्न बसे।

११ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसँग उनीहरुको भेट भएको प्रहरी अनुसन्धानमा देखिन्छ। 

त्यसपछि त्यहाँबाट निस्की सचिन, कुमार, सुनिता, सुसान्त घटनास्थल पुग्छन्। त्यही जुत्ता टाँस्न प्रयोग हुने गम (डेनड्राइट)को नशा लिन्छन्। यसै क्रममा सुनितासँग सचिनले कुराकानी गरे। बिबाह गर्ने कुरासम्म हुन थालेपछि कुमारलाई रिस उठिसकेको थियो। त्यसपछि सुनिता सुत्न भनेर गइन्। कुमार, सचिन, सुशान्त, सुकदेव माग्न निस्किए।

उनीहरु १२ बजेतिर घटनास्थल पुगी दुई बोतल बियर र एउटा स्याउको रक्सी (बटारे) पिए।

रक्सी पिउँदै गर्दा कुमार र सचिनबीच सुनिताको विषयमा विवाद भयो। त्यही झोकमा सचिनले आफूसँग भएको सानो हाते चक्कु निकाली कुमारलाई खुट्टामा हाने। त्यसपछि कुमारले चक्कु खोसी घोप्टो पारी उनकै घाटी सेरेको बयान अभियुक्तले दिएको डिएसपी गुरुङले जानकारी दिए। सोही चक्कुले पेट र ढाडमा २/३ पटक प्रहार गरी करिब १२:४५ बजे उनीहरु फरार भएको प्रहरी अनुसन्धानमा देखिन्छ। 

त्यसपछि ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरी शान्तिवन बाटिका जाने बाटोमा चक्कु ढुंगाले छोपी फेरि पृथ्वीचोक फर्किएका थिए कुमार। ट्याक्सी चालकले शव देखपछि प्रहरीलाई खबर गरेर भोलि पल्ट नै कुमारलाई लेक साइडबाट प्रहरीले समातेको हो। अन्यलाई न्यरोडबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell