PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतको बिहारतर्फ मदिरा तस्करीः प्रहरीबाट बच्न महँगा गाडी



भारतको बिहारतर्फ मदिरा तस्करीः प्रहरीबाट बच्न महँगा गाडी

वीरगंजः नेपालबाट महँगा गाडीमा भारततर्फ मदिरा तस्करी हुने गरेको रहस्य खुलेको छ। बारा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा ठूलो परिमाणमा मदिरा फेला पारेपछि नाकाबाट महंगा गाडीमा मदिरा तस्करी भइरहेको पुष्टि भएको हो।

शनिवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सीमावर्ती पचरौता गाउँपालिका वडा नं ४ ईनावाबाट जिजे ५ सिए ६८३८ नम्बरको भारतीय स्कार्पियोलाई मदिरासहित समातेको थियो।

गाडीबाट सस्तो खाले मदिरा सौफी बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी गराए। उनले नेपालबाट भारततर्फ तस्करी गर्दै लगिरहेको अवस्थामा चालकसहित गाडी र अवैध मदिरा बरामद गरिएको बताए।

प्रहरीले स्कार्पियो चालक, बिहार, मोतिहारी जिल्ला, लखौरा ग्राम–१३ का २६ वर्षिय नितेश यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले थप कारवाहीको लागि मदिरा, स्कार्पियो र चालकलाई वीरगंज भन्सार कार्यालयमा पठाएको जनाएको छ।

तीन वर्षअघि बिहारका मुख्यमन्त्री नितिश कुमारको सरकारले बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती जिल्लाहरुबाट लुकीछिपी भारतमा मदिरा तस्करी हुने गरेको छ।

बाराबाट पक्राउ परेको मदिरा वीरगंजको रामगढवामा सञ्चालित उदयपुर डिस्टीलरी प्रालिको रहेको प्रहरीले जनाएको छ। तस्करीमा प्रयोग भएको मदिरामा राजस्वको स्टिकर रहेको थियो कि थिएन भन्ने बारेमा प्रहरीले खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell