PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘ब्रेडचप’ले ब्रेकथ्रु गरेको रुमती बलात्कार प्रकरण  : २४ जनाबाट यसरी समातिए चन्दु र अन्सारी 



सविन ढकाल

‘ब्रेडचप’ले ब्रेकथ्रु गरेको रुमती बलात्कार प्रकरण  : २४ जनाबाट यसरी समातिए चन्दु र अन्सारी 

‘लाऊ यो खाऊ।‘

माघ १२ गते राति अब्बास अन्सारीले ममताको हातमा ब्रेडचप (पाउरोटीभित्र आलु हालेर मैदामा चोपेको एक परिकार) राखिदिए।
ममताले सहजै स्वीकार गरिनन्। भनिन्, ‘ मलाई खान मन छैन।‘

अब्बासले पटक-पटक खान कर गरिरहे। ममताले खाने मनै गरिनन्।


अनि अब्बास त्यहाँबाट हिँडे। 

माघ १३ गते, बिहान।

विराटनगरको बलुवाहीबाट एउटा डरलाग्दो खबर चारैतिर फैलिन्छ। १० वर्षकी रुमती दासको शव सिङ्गिया खोलामा फेला पर्छ, अर्धनग्न अवस्थामा। 

बाक्लो बस्ती। जोडिएका साना घरहरू। गाउँ छिर्ने सानो गोरेटो बाटो।

बालिकाको घरभन्दा करिब ८ सय मिटरको दुरीमा शव फेला परेको हुन्छ। प्रहरीले शवको मुचुल्का उठाउँदा शवको प्रकृति मुखबाट रगत बगेको, घाँटीमा कालो निल डाम देखिएको र यौनाङ्ग वरिपरि रगत जमेको थियो।

प्रहरीको अनुसन्धानमा देखिन्छ, बलात्कारपछि हत्या। साउन ११ गते कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेर आलोचित बनेको प्रहरीमा यो घटनापछि सतर्क हुन्छ।  

कसरी पत्ता लगाउने? 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीलाई चुनौती थपिन्छ। डिएसपीको कमान्डमा रुमती हत्या अनुसन्धानका लागि टोली गठन हुन्छ।

घटना गाउँ नजिकै थियो। पक्कै बाहिरको मान्छेले यस्तो गर्न सक्दैन। गाउँकै मानिस संलग्न हुनुपर्छ। प्रहरीको पहिलो अनुसन्धान यहीँबाट सुरु हुन्छ। शंका ‘न्यारोडाउन’ हुन्छ गाउँलेहरुबीच। 

घटना भएको दुई दिन बितिसक्दा पनि प्रहरीले केही प्रमाण हात पार्दैन। दुई दिनपछि एउटा टोपी फेला पर्छ। टोपी बालिकाको थियो। तर यसले कसरी अपराधीसम्म पुग्ने?

प्रहरीलाई शङ्का गाउँमा नै थियो। प्रहरीले गाउँका शङ्कास्पद २४ जना व्यक्तिलाई नियन्त्रणमा लिन्छ। अनुसन्धान सुरु गर्छ। प्रहरीको अनुसन्धानबाट सात जना बाहिरिन सफल हुन्छन्। १७ जना भने शङ्काको घेरामा नै पर्छ। 

यी १७ जना युवकमध्येबाटै  मदिरा सेवन गर्ने र यौन इच्छा बढी भएकाले अपराध गरेको हुनुपर्छ भन्ने निश्कर्ष प्रहरीको थियो।

दिन बित्दै जान प्रहरीले अनुसन्धानमा ढिलो गरेको भन्दै दबाब पनि बढ्दै गएको थियो। प्रहरीले १७ जनामा अनुसन्धान गर्छ। 
घटना भएको दिन को कहाँ थिए? प्राविधिक सहायता लिइन्छ। तर अप्ठेरो केमा पर्छ भने मोबाइल बोक्ने जम्मा पाँच जना मात्र। लोकेसन देखिँदैन। 

फलानो, ढिस्कानो घटना भएको दिन कहाँ थियो? गाउँ, छिमेकी र उनीहरूको बयानबाट प्रहरीले खोजी गर्छ। ११ जना फेरि प्रहरीको शंकाबाट बाहिर हुन सफल हुन्छ। घटना भएको रात उनीहरू अरू नै लोकेसनमा भएको देखिन्छ।

बाँकी ६ जना भने अनुसन्धानको घेरामा नै थिए।

ममतासँग प्रहरीको भेट

‘सर, मलाई त्यो दिन अब्बास अन्सारीले ब्रेडचप खान दिएको थियो। मैले खानै मानिनँ। मलाई त चपमा सेतो-सेतो के हालेको जस्तो लागेको थियो। खै चरेस हो कि के हो? 

ममताको यो बयानले प्रहरी झस्कियो।

प्रहरीको शङ्काको घेरामा पहिलेदेखि नै थिए अन्सारी। कहाँ थिए अन्सारी त्यो दिन? प्रहरीले खोज्न थाल्यो।

रुमती दास छिमेकीको जुन घरमा टेलिभिजन हेर्न जाँदै थिइन् त्यो घरमा केही समय अगाडि  अन्सारी पनि पुगेका थिए। तर उनी टिभी नहेरिकन फर्किए। छिमेकीको बयानले झनै प्रहरीको शङ्काको घेरामा पर्दै थिए अन्सारी।

माघ १८ गते प्रहरीले अन्सारीलाई नियन्त्रणमा लियो। १९ वर्षीय चन्दु महतो पनि प्रहरीको निगरानीमा थिए। घटनाको अनुसन्धानमा प्रहरीलाई प्राविधिक पक्षले साथ दियो। अन्सारीले मोबाइल बोक्ने गरेका रहेछन्।

माघ १२ गते अन्सारी कहाँ-कहाँ गए? प्रहरीले लोकेसन निकाल्यो। एउटा लोकेसनले प्रहरी चकित बन्यो। राति ९ बजेतिर अन्सारीको मोबाइल लोकेसन बालिकाको शव भेटिएको स्थानतिर नै देखियो।

प्रहरीले अन्सारीको साथीलाई पनि नियन्त्रणमा लियो। अन्ततः अन्सारीले बलात्कारपछि हत्या गरेको स्वीकार गरे।

ममताको ब्रेडचप नै प्रहरीको ब्रेक थु बन्यो। अन्सारीले त्यो दिन ब्रेडमा नशालु पदार्थ मिलाएर ममतालाई खुवाएर बलात्कार गर्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसी बताउँछन्। 

एसपी केसी भन्छन्, ’नखाएर उनी बचिन्। त्यसपछि उनीहरूले बालिकालाई बलात्कारको सिकार बनाएको देखिएको छ।‘

उनीहरू लागू औषध प्रयोगकर्ता थिए।  जोगबनी बजार गएर ५ वटा नाइट्रोसन ट्याब्लेट खाएर नशाको सुरमा बलात्कार गरेको देखिएको प्रहरीको दावी छ।

प्रहरीका अनुसार रुमती छिमेकीको घरमा टेलिभिजन हेर्न जाँदै थिई, उनीहरूले मौका छोपे। एउटाले रुमतीलाई बोक्यो, अर्काले मुख थुनिदियो।
करिब एक सय मिटर दक्षिण एउटा झाडीमा पुर्‍याएर बलात्कार गरेको, अनि घाँटी थिचेर हत्या गरेपछि छेउकै सिङ्गिया खोलामा फालिदिएको प्रहरीको दावी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell