PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँखा 'जनयुद्ध'ले खोसे पनि जीवनको दोस्रो इनिङ्समा क्रिकेटको कनेक्सन



स्वेच्छा राउत

आँखा 'जनयुद्ध'ले खोसे पनि जीवनको दोस्रो इनिङ्समा क्रिकेटको कनेक्सन

विकेट किपर रेडी?' 
'रेडी' 
'फिल्डर रेडी हो?' 
'रेडी' 
'ब्याट्स वुमन रेडी?' 
'रेडी' 
बलरले पालैपालो सोधिन्। सबैले तयार रहेको बताए। त्यसपछि बल फालिन्।

फाइल फोटो।

यहाँ दृश्य फरक लाग्छ। क्रिकेट खेल्दा बलरले बल स्पिन गरेर कुममाथि लैजाँदै फालेको सबैले देखेका छन्। अनि ब्याट्सम्यानको दृष्टि पूरा उसको हात र बलमा रहन्छ, ब्याटिङका लागि। तर, यहाँ बलरले स्पिन गरिनन्। पिचमा गुडाएर बलिङ गरिन्। 'रेडी' भएर बसेकी ब्याट्स वुमनले पिचमा ब्याटलाई घुमाउँदै हानिन्।

मैदानबाट आवाज आयो 'चौका चौका'। दर्शकहरु पनि खुशीले चिच्याए।

साता साता मुलपानी क्रिकेट मैदानमा देखिएको दृश्य हो यो। यहाँ नेत्रहीन महिला क्रिकेट टिमहरु बीच खेल भइरहेको छ। खेलाडी, दर्शक प्राय नेत्रविहीन नै छन्- आफ्नो टिमको समर्थनमा उफ्रिँदै कराउँदै। नजिकै रहेका साथीसँग हात मिलाउँदै वा अंगालो हाल्दै उत्साह साट्छन्। 

खेल भए नजिकै दुई पुरुष उभिएका थिए, एक अर्काको हात समाएर। चौकाको आवाजसँगै उनीहरुले पनि हात केही दह्रोगरी कसे र, हल्लाए। दुवैको मुहारमा गजबको मुस्कान छायो। तर, उनीहरुले एक अर्काको अनुहार देखेका थिएनन्। दुवैले नदेख्नुको कथा उस्तै उस्तै छ। देख्न छाडेपछिको यात्रा पनि उस्तै।

***
नाम: विक्रमबहादुर राना
उमेर: ४४
ठेगाना: बैतडी (हाल काठमाडौं)
पेशा: नेपाली सेना (सेकेन्ड लेफ्टिनेन्ट)

बैतडीको डिलासैनी गाउँ। गाउँमा आउने आर्मी पुलिसलाई इज्जतका साथ हेर्थे गाउँलेले। प्रायजसोका आमाबुबा चाहन्थे - छोरा पनि आर्मी बनोस्, पुलिस बनोस्। उस्तै सान बोकेर घर आओस् - बुट बजाउँदै।

सान र मानसँगै धेरैको घरमा मामको जोहो गराएको थियो, फौजको जागिरले।


विक्रमबहादुर कक्षा पाँचमा पढ्दै थिए उनको बुबा बित्दा। एसएलसी सम्मको पढाई आमाको सहारामा पूरा गरे। कलेज पढ्न गाउँमा सम्भव थिएन। शहर झर्न घरको आर्थिक पाटो सबल रहेन।


उमेर बढ्दै जाँदा जिम्मेवारी घट्दो नहुने रहेछ। त्यसैले खेलाडी बन्ने सपना देखेका उनले भलिबल र दौडको रुची थाँती राखे। सुनसरी आए, सेनामा भर्ती हुन।


‘खेलाडी बन्छु भन्थेँ। भात खान जागिर पनि खान पर्ने भयो। अनि पढाई पनि गाउँतिरै छोडेर आएँ,’ विक्रम सुनाउँछन्।

२०५४ सालको अन्त्यमा इटहरी आए उनी। भर्ती भए, तालिम सुरु भयो। सुरुवाती तलब पन्ध्र सय रुपैयाँ।

तालिमपछि सिपाही भए। सल्यान, पोखरा, गोरखा विभिन्न ठाउँमा सरुवा भयो। मासिक तीन हजार तलब थियो, आफू जहाँ पुगे पनि पैसा घर पठाउँथे।

माओवादीले थालेको जनयुद्ध उत्कर्षतर्फ थियो। सुरक्षा फौजमा घरसँगै देशप्रतिको जिम्मेवारीवोध बढ्दो थियो। उस्तै गरी परिवारमा बढ्दो थियो, डर र चिन्ता।

‘डराउने भए राष्ट्रका लागि योगदान गर्छु भनेर अघि सर्नै हुन्थेन नि, होइन?’, उनी भन्छन्।

गोरखाबाट काठमाडौं सरुवा भयो। स्पेसल कोर्सका लागि।

२०६० साल, भदौ २६ गते। संकटकाल, जनयुद्धले सिर्जित 'आतंकको' समय। विक्रमबहादुरको टोली काठमाडौंको उत्तरमा रहेको अल्लेस्थित ब्यारेकबाट शिवपुरी राष्ट्रिय निकुञ्जको बाटो हुँदै गुर्जु भञ्ज्याङ जाँदै थियो- नुवाकोटको लिखु खोला, गुरुङ गाउँ जाने गाडीहरु चेकिङका लागि।

वरपर जङ्गल, बीचमा बलौटे माटोको बाटोमा १५ जनाको टोली हिँड्दै थियो।


गुर्जु भञ्ज्याङ इलाका पुग्न लागेका थिए, अचानक बम बिष्फोट भयो। 


'अनि त उद्धारका लागि हेलिकप्टर आएको र सैनिक अस्पताल छाउनी ल्याइएको याद छ,’ विक्रम त्यतिमात्र सम्झन्छन्।


त्यसपछिका हरेक घटना उनले महसुस गरे, देख्न पाएनन्। घटनास्थलमै दाया आँखा गुमाए। बायाँ आँखाले धमिलो देखे, केही दिन।

उपचारपछि ठीक हुन्छ भनिएको थियो। दुर्भाग्य, एक सातापछि त्यो पनि शल्यक्रिया गरेर फाल्न पर्‍यो। धमिलिएको उनको दृष्टि पूरै अन्धकार बन्यो। 


घरमा घटनाबारे जानकारी पुगेको थिएन। त्यसैले त्यो अवस्थामा पनि आफन्त वरपर नहुनुले उनलाई अधिक पीडा दियो। आमाको मुहार सम्झिए। सोचे - 'आफू बुट बजाउँदै जाँदा आमाको मुहारमा हेर्न नपाउने भएँ।'


श्रीमतीको बोली सम्झिए। 'म शान्ति सेना गएको हेर्ने उसको धोको पूरा नहुने भयो,' उनले सम्झिए।


एक महिनापछि परिवारसँग भेट भयो। आफ्नो पीडा एकातिर छँदै थियो परिवारको पीडा पनि थपिँदा उनलाई धेरै गाह्रो भयो। आमाले श्रीमतीलाई र श्रीमतीले आमालाई सम्हाल्न सुझाएको सुन्थे। सुक्सुकाएको सुन्थे। तर, केही गर्न सक्थेनन्। केही गर्न नसक्नुले अर्को पीडा थप्थ्यो। 


'मेरो भरमा रहेको परिवारले मलाई नै अरुको भरमा हिँडेको देखे। कस्तो भयो होला?'


तर, परिस्थिति स्वीकार्नु र आफू दह्रो बन्नुको विकल्प थिएन। 


'लागेको थियो बारुद बन्दुक बोक्योपछि केहीको पनि डर हुँदैन। तर, त्यसरी एम्बुसमा परियो,' उनी केही नोस्टाल्जिक सुनिन्छन्, 'ममात्र हुँ यसरी केही नदेख्नेजस्तो लाग्थ्यो। सबैकुरा सकियो, बाँच्नुको औचित्य रहन्न जस्तो लाग्थ्यो। तर, त्यसो होइन रहेछ।'


देशका लागि योगदान गर्न देख्नै पर्छ, हेर्नै पर्छ भन्ने सोचेनन्। केही अवस्थालाई पछाडि छोडेर अघि बढे। 


कामलाई निरन्तरता दिए। खेलकुद थाँती राखेर भर्ती भएका उनले पुन: खेलकुदका लागि तालिममा समय दिन पाए। 'समय परिस्थितिसँगै सबै कुरा फेरियो तर रहर फेरिएको रहेनछ। म फेरी रमाउन थालेँ,' उनले भने।


यसैबीच, विक्रम नेपाल नेत्रहीन संघसँग जोडिन पुगे। आफूले दृष्टि गुमाउनुअघि ह्वाइट केन बोकेर हिँड्ने केहीलाई परबाट देखेका मात्र थिए। संघमा जोडिएपछि आफूजस्तै हालतमा बाँची रहेका धेरै छन् भन्ने बुझे। कुरा गरे, उनीहरुमा पनि आफूमा जस्तै पीडा छ भन्ने थाहा पाए। सँगै रहर र केही गर्ने अठोट छ भन्ने पनि बुझे।


२०६२ सालमा पाकिस्तानबाट केही मानिस आएका थिए, नेत्रहिन क्रिकेट प्रशिक्षणका लागि। नेत्रहीन संघमा आवद्ध २० जनालाई उनीहरुले ब्लाइन्ड क्रिकेटबारे बुझाए, प्रशिक्षण दिए। 


'समाजमा नेत्रहीन व्यक्तिले केही गर्न सक्दैन भन्ने धारणा स्थापित थियो। त्यस्तोमा ब्लाइन्ड क्रिकेट हाम्रा लागि पनि रोचक विषय थियो, ' विक्रम सुनाउँछन्। प्रशिक्षार्थीमध्ये एक थिए उनी। 


प्रशिक्षण लिएकाहरुले अन्य २० जनालाई सिकाए। र, २०६३ कै अन्त्यमा नेत्रहीन क्रिकेट संघ स्थापना गरे। पहिलोपटक काठमाडौं, भक्तपुर, कीर्तिपूरको फरकफरक टोली बनाएर टुर्नामेन्ट आयोजना गरे। त्यस्तै २०६४ मा पोखराका नेत्रविहीनहरुलाई प्रशिक्षण दिए। क्लब स्थापना गरे र खेल आयोजना गरे। 


गज्जब त के भयो भने, आम महिलालाई खेलकुदमा लाग्न गाह्रो अवस्था थियो। त्यस्तोमा पनि नेत्रहीन महिला चाहिँ मैदानमा देखिए- ब्याट र बलसहित। 


'विश्वको पहिलो नेत्रहीन महिला क्रिकेट टिम नेपालमा बन्यो। यो नेत्रहीन क्रिकेट साथै नेपाली खेलकुदको लागि महत्वपूर्ण योगदान हो,' विक्रम गर्विलो सुनिन्छन्। 


उनी स्वयंले २०६३ देखि २०६६ सम्म नेत्रहीन क्रिकेटमा लगातार 'बि १' समूहमा वर्ष उत्कृष्ट खेलाडी ठहरिए। सन् २००८ मा पाकिस्तानमा पहिलोपटक भएको अन्तर्राष्ट्रिय नेत्रहीन ट्वाइन्टी २० क्रिकेटमा सर्वाधिक १२६ रन जोडे। त्यस्तै ४० ओभरको गेममा भने ६० रन बनाएर 'म्यान अफ द सिरिज' जितेका थिए।


हाल उनी नेत्रहीन क्रिकेट संघका महासचिव हुन्। 


उनी एथलेटिक्स अन्तर्गतका पारा ओलम्पिक खेलाडी समेत हुन्।


२०६६ सालमा भएको राष्ट्रिय खेलकुदमा उनले सय मिटर दौडतर्फ टाइमिङका आधारमा साउथ एसियन रेकर्ड राखेका थिए। दुई सय मिटरतर्फ भने श्रीलंकन एथलेट्ससँग बराबरी थियो। सन् २०१२ मा लण्डन ओलम्पिक खेलेपछि सय र दुई सय मिटरतर्फ पनि उनको साउथ एसियामा नयाँ रेकर्ड बन्यो।  


गत वैसाखमा भएको राष्ट्रिय खेलकुदमा सय, दुई सय मिटर दौड र सर्ट फुटमा उनी राष्ट्रिय गोल्ड मेडलिस्ट हुन्। 

आफ्नो सबै उपलब्धी र प्रयासहरुलाई उनी देशको लागि योगदानर समाजको लागि उदाहरणको संज्ञा दिन्छन्। 'यस्तै कुराहरुले त मानिसको सोच परिवर्तनमा भूमिका खेलेको छ नि। मैले त केही वर्षअघि र अहिले समाजले अपाङ्गता भएकालाई गर्ने व्यवहारमा धेरै परिवर्तन महसुस गरेको छु,' उनले आफ्नो अनुभव साटे। 


खेलकुदले नेत्रहीन खेलाडीको व्यक्तित्व र आत्मविश्वास विकासमा पनि निकै सहयोग पुर्याएको उनको विश्वास छ। 'हामीले ल्याउने मेडल र सपाङ्गले ल्याउने उस्तै हो। हामी खुशी छौं राष्ट्रको नाममा जित्न पाउँदा,' उनले सुनाए।


उनी बोलिराख्दा सँगै बसेर सुनिरहेका अरुण ढुङ्गाका कहिले गम्भीर मुद्रामा हुन्छन् त कहिले मुसुक्क हाँस्छन्। कहिले उठेर महिला टोलीको खेलतर्फ ध्यान मोड्छन्। अनि कहिले विक्रमको कुरामा सहमतिको टाउको हल्लाउँछन्। 

***

नाम : अरुण ढुङ्गाना
उमेर : ३९  
ठेगाना : भिरकोट, स्याङ्जा (हाल काठमाडौं)
पेशा/पद: सशस्त्र प्रहरी/डिएसपी


२०६२ साल असार १८ गते। दिउँसोको दुई बजेको थियो। कपिवस्तुमा खटिएका नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्रको टोली माओवादीले बिच्छ्याएको धरापमा पर्‍यो। घटनास्थलमा के भयो इन्स्पेक्टर रहेका अरुणलाई याद छैन। ब्युउँझदा छाउनी अस्पताल काठमाडौंमा थिए र उनी सामुको दृश्य धमिलो थियो।


उनलाई पनि अपरेसन गरे आँखा ठीक हुने आश्वासन दिइएको थियो। तर, यथार्थ फरक रह्यो। उनले देख्न छाडे। तर, जिम्मेवारीबाट पछि हटेनन्। कामलाई निरन्तरता दिए। आफ्नो क्षमता सदुपयोगका लागि अवसर खोजे। चुनौती स्वीकारे। 


अन्तर्राष्ट्रिय स्तरमा नेपालका नेत्रहीन टोली पनि सक्रिय रहेको क्रिकेटसँग उनी पनि जोडिए। 


हाल उनी वाग्मती नेत्रहीन क्रिकेट संघका अध्यक्ष हुन्। मुलपानी मैदानमा वाग्मती नेत्रहीन क्रिकेट टिमका खेलाडीहरु लिएर आए, अन्य क्रिकेट टिमकासँगै प्रशिक्षण गराउन। अन्य समय छरिएर रहने र आ-आफ्नो पेशा, व्यवसायमा व्यस्त रहने महिला खेलाडीहरु सबैकुरा बिर्सिएर खेलिरहँदा उनी दङ्ग छन्। किनकि यस्तो अवसर बिरलै जुर्छ - कुनै खेल विशेष प्रशिक्षणको क्रममा वा सिधैं खेल मैदानमा।


‘खेलकुद हामी नेत्रहीनहरुको लागि सिर्जनात्मक एवं मनोञ्जनात्मक माध्यम हो,’ उनी भन्छन्, ’यो खेलले हाम्रो क्षमता अभिवृद्धिमा त सहयोग पुर्याएको छ नै। साथै आम मानिसले हामीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ।‘ 


उनको क्लबका भगवती भट्टराईको नेतृत्वमा नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली हाल पाकिस्तानको महिला नेत्रहीन टोलीसँग मैत्रीपूर्ण खेलका लागि पाकिस्तानमा छन्। उनी खुशी छन् उनीहरुका लागि। 


उनी उपलब्धी र सफलताको गाथासँगै चुनौती र अप्ठ्याराहरुको समीक्षा गर्न आवश्यक रहेको बताउँछन्। नेत्रहीन क्रिकेटका लागि भौतिक पूर्वाधारदेखि आर्थिक पक्षको विकासमा साथ र सहयोगको आवश्यकता उनको निचोड हो। 


सँगै बसेका विक्रम सहमतिको स्वरमा थप्छन्, 'अप्ठ्यारो त देशलाई नै छ। त्यसलाई कम गराउन हाम्रो पनि भूमिका महत्वपूर्ण हुनसक्छ। अन्तर्राष्ट्रिय स्तरमा हाम्रो खेल, जित, मेडल, देशको नामले पनि योगदान पुर्याउन सक्छ। यो सबको मूल्याङ्कन हुनुपर्‍यो।' 

चार महिनाअघि राष्ट्रिय खेलकुद परिषद्ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन तीन हजार मासिक भत्ता प्रदान गर्ने घोषणा गर्‍यो। ती तीनमध्येका एक हुन्, विक्रमबहादुर। 

उनी राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका लागि पनि सीमित बजेट छुट्याइदिए विकास र प्रवर्द्धनमा राहत मिल्ने तर्क राख्छन्। नेत्रहीन क्रिकेटका लागि वार्षिक बजेट पाँच लाख आउँछ त्यसैबाट महिला पुरुष दुवैको खेल गराउनुपर्ने बाध्यता संघको छ। 

‘खेल र खेलाडीहरुको आवश्यकता ध्यानमा राखेर बजेट छुट्याए अझ धेरै गर्न सकिन्छ,’ भन्छन्, 'खेलकुद परिषदमा आउने बजेटको १० प्रतिशत अपाङ्गता भएकाको खेलकुदका लागि दिए पनि धेरै राहत हुन्थ्यो।' 

*** 
आ- आफ्नो पेशाबाट बचेको समय नेत्रहीन क्रिकेट एवं अन्य खेलकुदका लागि दिइरहेका यी दुई पात्र जिम्मेवारी निभाउँदा निभाउँदैको अवस्थामा नेत्रविहीन बने। तर, जिम्मेवारीबाट भाग्न चाहेनन्। निरन्तर सेवामा रहे। 

देख्न नसके पनि देशको नाम उचो भएको सुन्ने चाहना सधैं तीव्र रहेको बताउँछन्। 

शनिबार पाकिस्तान नेपाली नेत्रहीन महिला क्रिकेट टोली पाकिस्तान गए। एक खेल जिती पनि सके। यी दुवैजना थप जितको कामना गर्छन्। भन्छन्, ’सिरिजको लागि आवश्यक तयारी गरेका छौं। चार वर्षअघि बेलायत विरुद्धको सिरिज पनि ३-० ले जितेका थियौँ। योपटक पनि त्यस्तै आशा गरौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell