PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'दोङराप' खोज्दै लिसंखुको गाउँगाउँ पुगे तामाङ स्रष्टाहरु, गाउँपालिकाको नाम संशोधन गर्न माग

'दोङराप' खोज्दै लिसंखुको गाउँगाउँ पुगे तामाङ स्रष्टाहरु, गाउँपालिकाको नाम संशोधन गर्न माग

नेत्र तामाङ/पहिलोपोस्ट


सिन्धुपाल्चोक: तामाङ जातिको मोक्तान र योञ्जनहरुको दोङराप(इतिहास) खोज्न उनीहरूको उद्गमथलो मानिने लिसंखुपाखरका गाउँगाउँमा तामाङ साहित्यकार तथा पत्रकारको टोली पुगेका थिए।

गाउँपालिका अन्तर्गत रहेको वडा ४ को अत्तरपुर, वडा २ को लिसंखु र वडा १ को ठुलो धादिङमा तामाङ स्रष्टाहरु छरिए र तामाङ कला र इतिहासबारे सोधखोज गरे।

बिहीबार साँझ काठमाडौँबाट पुगेका टोलीलाई स्थानीयले स्वागत गर्दै हराउँदै गएको सभ्यताबारे स्पष्ट पारेका थिए। कोही त यस्ता विषयमा त्यहाँका पछिल्ला पुस्तालाईसमेत सहभागी गराउन आग्रह गर्दै थिए।

तामाङ साहित्यिक यात्रा-२०७५ मार्फत त्यता पुगेका स्रष्टाहरु तामाङ समुदायका जनजीवन, संस्कार संस्कृति, कला, ऐतिहासिक कथन तथा मिथ, मौलिकता आदि विषय खोज्न र साहित्यमा उतार्न अन्र्दर्बुङबाट बस्ती छिर्न सुरु गरेका तामाङ साहित्यकारको टोली लिसंखुलाई केन्द्र बनाएर छरिए।

यही टोलीलाई त्यहाँको जीवन भोगाइ, तामाङ संस्कारको ताम्बा ताम, डम्फुरेका गीतरीत सुनाए स्थानीयले।

दोस्रो दिन ग्योइकाइ ल्हाम अर्थात् साहित्य यात्राको औपचारिक कार्यक्रम शुक्रवार छ्योइफेल कुन्देलिङ गुम्बामा भयो। काठमाडौंस्थित तामाङ डाजाङको आयोजना र लिसंखुपाखर गाउँपालिका वडा २ को आर्थिक सहयोगमा लिंसखु पाखरमा रहेको गुम्बामा कार्यक्रम आयोजना गरिएको थियो।

जापानका लागि पूर्व राजदूत एवं तामाङ अगुवा डा. गणेश योन्जनको प्रमुख आतिथ्य, गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालको विशेष आतिथ्यमा सुरु भयो कार्यक्रम।

बिहीबार साँझ सोधखोजबाट प्राप्त जानकारी र गाउँको अवस्थालाई एकीकृत गर्दै आयोजित कार्यक्रममा स्रष्टाहरुले आफ्नो कृति सुनाए। कार्यक्रम स्थानीय कलाकार सुब्बा योञ्जन, लावाङघ्याम्छो लामा, पदम बहादुर ग्याबा, फुरुडोल्मो रुम्बा र फुर्मो लामाको मौलिक गीत प्रस्तुत गरे। यस्तै राम गोम्जा, रञ्जना मोक्तान, धनकुमारी घिसिङ, संगीता थिङको फापरे ह्वाइ र म्हेन्दोमाया गीतले धेरैको ध्यान तान्यो।

तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, कान्छा सगरमाथा आरोही शम्भु तामाङको सहभागिता रहेको यात्रामा पत्रकार एवं साहित्यकार फुलमान बल, राजु स्याङतान र कवि रावत थिए। भने अन्य करिब दुई दर्जन तामाङ कवि तथा लेखक सहभागी भए। कवि मुक्तान थेबा, राम गोम्जा, हिरामाया घिसिङ, बुद्ध योञ्जन लामा, मणिकलाल घिसिङ, रोज मोक्तान, साम्देन दोङ, ईश्वर थोकर, रञ्जना मोक्तान, चन्द्री मोक्तान, मिलन ब्लोन, राजु ब्लोन, धनकुमारी घिसिङ, कविराज काल्तान, रचना मोक्तान, संगिता थिङ, अटुट दोङ, तेज योञ्जन, हिरामाया घिसिङ कुसुम, पारस लामा, इकमान लामा पुगेका थिए यात्रामा।

सानो संस्कृति जोगिएमात्र देशको पहिचान जोगिन्छ : गाउँपालिका प्रमुख नेपाल

गाउँपालिकाका अध्यक्ष कमल नेपालले सबै भाषा, धर्म र जातिका संस्कार संस्कृति जगेर्ना गरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता जनाए।

भने, 'नेपालमा धेरै जातजाति छन्। हामी विदेश पनि आउजाउ गर्छौँ। यही चरणमा हामीले हाम्रो भाषा, जात, संस्कृति र पहिचान बिर्स्यौ भने भोलि मुलुकको पहिचान पनि बिर्सन सक्छौ। त्यसैले हामी सानै विषयदेखि नै सबै चीजलाई संरक्षण गर्नुपर्छ। यहाँ विभिन्न जातका भाषा र विभिन्न संस्कृति मान्ने बस्छन्। यो हाम्रो नेपालको सुन्दरता हो। हामी मिलेर बसेका छौ। यसलाई जोगाएर राख्नसकेमा यहीबाट नै हाम्रो पर्यटन विकास हुने हो। यसैलाई हेर्न विदेशबाट मानिसहरू आउँछन्। तामाङहरुको एतिहासिक भूमि भएकोले पनि यो आकर्षणको केन्द्र विन्दु हो। यसलाई हामीले प्रचारमा ल्याउनुपर्छ। यसैको प्रयासस्वरुपम यो कार्यक्रम यहाँ भएकोमा मलाई पनि एकदम खुसी लागेको छ।'

गाउँपालिकाको नाम संशोधन गर्न माग

कार्यक्रममा उपस्थितले गाउँपालिकाको नाम संशोधन गर्न सुझाव दिए। तामाङहरुको ह्योन्जन थरको ऐतिहासिक थलो ह्रिस्याङगोको नाम नेपालीकरण भई लिसंखु लेखेकोमा तामाङ अगुवाहरुले विरोध जनाएका थिए।

त्यस्तैगरी तामाङ मोक्तानहरुको थलो मानिने अन्दर्बुङको नाम नेपालीकरण भएर अत्तरपुर भएकोमा उनीहरूको आपत्ति रहेको थियो।  कार्यक्रमका प्रमुख अतिथि गणेश योन्जनले आफ्नो पुर्खाहरुको ऐतिहास बोकेको ह्रिस्याङगो नाम परिवर्तन गरेर पहिचान मेटाउन खोजिएको भन्दै स्थानीय जनप्रतिनिधिलाई सच्याउन आग्रह गरे। आफ्नो मौलिक नाम सानैमा मेटिएकोमा दुखेसो जनाउँदै उनले भने, 'मेरो नाम कक्षा ५ सम्म फुर्बाछिरिङ थियो। जब हाइस्कुल गए तब शिक्षकले जबरजस्ती नाम परिवर्तन गर्न लगाए। त्यसबेलाबाट म गणेश भएँ।' आफूलाई जबरजस्ती नाम परिवर्तन गर्न लगाएको स्मरण गर्दै अबका दिनमा आफ्नै नाममा चिनिनुपर्ने भएकोले गाउँपालिकाको नाम संशोधन गर्नुपर्ने बताए।

स्थानीयपनलाई जोगाउन स्थानीयले नै कदम चाल्न सक्ने पत्रकार फुलमान वलले बताए। केही गाउँपालिकाको नाम परिवर्तन भइसकेको उल्लेख गर्दै उनले यसमा स्थानीय नै अघि बढे पुरनै नाममा फर्कन सक्ने उल्लेख गरे।

वडाध्यक्ष हस्तबहादुर मोक्तानले आफूहरुलाई स्थानीय नाम बिग्रिँदा आफैलाई अप्ठेरो लागेको बताए। भने, 'हामीलाई पनि नाममा केही अप्ठेरो लागेको र आफुहरु संशोधनको प्रयासमा रहेको बताए। स्थानीय तहका जनप्रतिनिधिमै तामाङहरुको बाहुल्यता रहेको उल्लेख गर्दै सबै मिलेमा गाउँपालिकाको नाम संशोधन गर्न असम्भव छैन।' उनले आगामी वर्षबाट बुद्धोदय उमाविमा तामाङ भाषामा पढाइ हुने प्रतिबद्धता जनाए।

गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तानले गाउँपालिकाको नाम संशोधनका लागि प्रयास गर्ने वचन दिइन्। त्यसैगरी उनले गाउँपालिकामा सोनाम ल्होछारको बिदाको लागि दबाव दिइरहेको उल्लेख गरिन्। कार्यक्रममा सहभागीलाई उपप्रमुख मोक्तानले प्रशंसापत्र प्रदान गरेकी थिइन्।

तामाङ डाजाङकी अध्यक्ष सञ्चु ब्लोनको अध्यक्षतामा आयोजित कार्यक्रम तामाङ साहित्यमार्फत स्थायीयको संस्कृति सम्बर्द्ध गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम संयोजक बुद्ध योञ्जनले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell