PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कौमार्य फर्काउने सर्जरीको ट्रेण्ड, 'हाइमेनोप्लास्टी' यथार्थ कि भ्रमको ब्यापार?



स्वेच्छा राउत

कौमार्य फर्काउने सर्जरीको ट्रेण्ड, 'हाइमेनोप्लास्टी' यथार्थ कि भ्रमको ब्यापार?

स्वाती श्रीवास्तवको मागी विवाह हुने भयो। बुबा आमाले खोजेको केटा, आदित्यलाई उनले पनि भेटिन्। केटा मन पनि पर्‍यो। एक-दुई पटकको भेट र नियमित कुराकानीपछि दुईजना नजिकिए। केही महिनामै उनीहरुको विवाहको मिति तय भयो। 

विवाह तय भएसँगै स्वातीलाई एउटै कुराले निकै पिरलेको थियो। त्यसअघि उनी अर्कै पुरुषसँग प्रेम सम्बन्धमा थिइन् जोसँग उनी शारीरिक सम्पर्क राख्थिन्। 

विवाहपूर्वको यौन सम्पर्कलाई स्वीकार नगर्ने पारिवारिक एवं सामाजिक परिवेशमा हुर्किएकी उनी, चाहन्थिन् उनको कौमार्य (भर्जिनिटी) गुमिसकेको कुरा हुनेवाला श्रीमानलाई थाहा नहोस्। चिन्तासँगै उनी अनेक उपायको खोजीमा लागिन्। त्यस्तैमा 'हाइमेनोप्लास्टी'को बारेमा थाहा पाइन्। 

'हाइमेनोप्लास्टी'लाई कौमार्य पुन: निर्माण गर्ने शल्यक्रियाको रुपमा व्याख्या गरिँदै आएको छ। यो एक किसिमको 'जेनिटल रिकन्सट्रक्सन सर्जरी' हो। जसले योनीभित्र हुने पातलो झिल्ली (हाइमेन) सँग सम्बन्ध राख्छ। उक्त झिल्ली पहिलोपटक यौन सम्पर्क राख्दा च्यातिने आम विश्वास छ। च्यातिएको त्यही झिल्ली जोड्नु वा सिलाउनुलाई हाइमेनोप्लास्टी भनिन्छ। 

स्वातीले शल्यक्रिया गराइन्। विवाह अघि नै पचास हजार भारतीय रुपैयाँ तिरेर हाइमेनोप्लास्टी गराएको अनुभव (टाइम्स अफ इन्डिया) मार्फत् साटेकी छिन् उनले।

उनले लेखेकी छिन्, 'संकोचित सोच भएको समाजमा विवाह अघि कौमार्य गुम्नु भयानक विषय हो। त्यसैले मेरा लागि पैसाभन्दा महत्वपूर्ण फेरि भर्जिन बन्नु थियो।' 

भारतीय समाजभित्रको यो परिवेश नेपालकोभन्दा फरक छैन। किनकि नेपालमा पनि हाइमेनोप्लास्टीको ट्रेन्ड सुरु भइसकेको छ। महिला रोग विशेषज्ञ एवं प्रसुति गृहका प्रमुख निर्देशक जागेश्वर गौतमका अनुसार शल्यक्रियाले बाँकी रहेका झिल्लीहरु जोड्ने र शल्यक्रियापछिको पहिलो शारीरिक सम्पर्कमा रगत देखिने विश्वास राखेर महिलाहरुले शल्यक्रिया गराउने गरेका छन्।

जागेश्वर भने यो शल्यक्रियालाई सही मान्दैनन्। 

'किनकि पहिलोपटक यौन सम्पर्क राखेपछिमात्र झिल्ली च्यातिन्छ र च्यातिएको झिल्ली फेरि उस्तै बनाउन सकिन्छ भन्ने दुवै कुरा गलत हुन्', उनी भन्छन्, 'यो सर्जरी मान्छे झुक्काउने प्रक्रिया हो।' 

उनका अनुसार महिलाको यौनाङ्ग दुई भागबाट विकास हुन्छ। पाठेघरतिरबाट र छालातिरबाट बढेर आउने भागहरु जोडिन्छन् र योनी बन्छ। जोडिएको ठाउँमा केही मासुहरु (रेम्न्यान्ट) बाँकी रहन्छ। त्यही बाँकी रहेका मासुहरुले झिल्ली (हाइमेन) बन्छ। हाइमेन एकदम पातलो तन्तु हो।
 
'त्यो तन्तु पहिलोपटक शारीरिक सम्पर्क राखेपछिमात्र च्यातिन्छ भन्ने विश्वास गलत हो। झिल्ली च्यातिएका सबैले यौन सम्पर्क राखिसके भन्ने हुन्न', डाक्टर जागेश्वरले बताए। उनका अनुसार साइकलिङ गर्ने, एथलेट्स् लगायत खेलकुदमा सक्रिय महिला, महिनावारी हुँदा ट्याम्पुनको प्रयोग गर्नेहरुको सम्पर्क नराख्दै उक्त झिल्ली च्यातिएको हुन्छ। केहीको बच्चा नजन्माएसम्म नच्यातिने पनि हुन्छ।
 
'त्यसैले हाइमेनलाई भर्जिनिटीसँग मात्र जोडेर हेर्नु ठीक होइन। हाम्रो समाजमा पनि गलत मान्यता स्थापित छ,' उनले भने। 

सन् २०१६ मा प्रकाशित द डेमोग्राफिक एण्ड हेल्थ सर्भेका अनुसार नेपालमा पहिलोपटक यौनसम्पर्क राख्ने महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ। ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीन चौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ। उक्त अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

त्यस्तै प्रसुति गृहले चार वर्षअघि उपत्यकाको एक कलेजका युवा युवतीबीच गरेको अध्ययनमा पनि ३० प्रतिशत युवती र ४२ प्रतिशत युवकले विवाहअघि नै यौन सम्पर्क राख्ने गरेको देखाएको थियो।  

तर, पनि यौन तथा यौनिकताको विषयमा समाज उदार छैन। खाना, लुगा र बासस्थानपछिको अर्को महत्वपूर्ण आवश्यकता भनिए पनि यसलाई हाउगुजीको विषय बनाइन्छ। विशेषत: विवाह अघि शारीरिक सम्बन्धमा सक्रिय रहेका महिलासामु आउनसक्ने प्रश्नले उनीहरुको व्यक्तिगत चरित्र, सामाजिक प्रतिष्ठा, पारिवारिक संस्कार लगायत विषयमा प्रहार गर्छ। 

त्यसको असर, कौमार्य गुमेको थाहा नदिने पक्षमा रहन्छन् प्राय महिला। पहिलोपटक श्रीमानसँग शारीरिक सम्पर्क राख्दा रगत नदेखिनुले निम्त्याउन सक्ने अवस्थासँग डराएर हाइमेनोप्लास्टीबारे खोज्ने र यो सर्जरी गराउनेहरुको सङ्ख्या बढ्न थालेको बताउँछन् डाक्टर गौतम। 

 

केले निम्त्याउँछ हाइमेनोप्लास्टी गर्ने अवस्था? 

'विवाहअघिको यौन सम्पर्क स्वीकार्य नहुनु नै पहिलो कारण हो', जागेश्वर गौतम भन्छन्, 'सर्जरीबारे बुझ्न आउने महिलामा डर पाएको छु। कौमार्य गुम्नुकै कारण श्रीमान वा प्रेमीले छोड्ने डर।‘ 

कौमार्य गुम्नुलाई ठूलो गल्ती ठान्नुका कारण पर्ने मनोवैज्ञानिक असरले पनि यस्ता सर्जरीहरुको ट्रेन्ड बढेको उनले बताए।  


त्यस्तै कौमार्यलाई इज्जत र चरित्रको मापक बनाउनुले पनि हाइमेनोप्लास्टीलाई बाध्यात्मक बनेको गौतमले जानकारी दिए। भने, 'महिलाको कौमार्यलाई चरित्रसँग दाज्नु सामाजिक समस्या हो। जसको हल महिला स्वयं खोज्छन्। त्यही खोज्नेहरु हाइमेनोप्लास्टीका लागि अस्पताल र क्लिनिकहरुमा पुग्ने गरेका छन्।' 

धार्मिक एवं सामाजिक मान्यताहरुका कारण पनि महङ्गो पैसा तिरेर हाइमेनोप्लास्टी गराउने महिला बढ्दो छन्। बोर्डली भाइसमा प्रकाशित एक रिपोर्टका अनुसार जर्मनी र नेदरल्यान्ड्समा यो सर्जरी गराउनेमा प्राय मुस्लिम महिला रहेका छन्। 

कुरानको सुराह १७. ले पति पत्नीबाहेकको यौन सम्बन्धलाई गलत भन्छ। धार्मिक मान्यताकै कारण यो धर्म मान्ने केही समुदायमा भर्खर विवाह गरेर आएकी श्रीमती वा बुहारीको कौमार्य जाँच्ने प्रचलन समेत रहेको छ। बोर्डलीका अनुसार यस्ता धेरै समुदायमा पहिलोपटक शारीरिक सम्पर्क राख्दा रगत देखिए, नदेखिएको हेरेर उसको कौमार्यको मूल्याङ्कन गरिन्छ। बोर्डलीका लागि डाक्टर वाल्टरले भनेकी छिन्, 'यस्तो चलनदेखि म दङ्ग पर्छु। परिवारको लागि कौमार्यको प्रमाण जुटाउन जोडी नै पनि आउने गरेका छन्। उनीहरु किन आफ्नो औंला काँटेर रगत निकाल्दैनन्?' 

 

हाइमेनोप्लास्टी आत्मसन्तुष्टिको बाटो 

हाइमेनोप्लास्टीले हाइमेन पुन: निर्माण नहुने दाबी गर्छन् डाक्टर। भने, 'त्यति पातलो झिल्ली सिलाउनु गाह्रो काम हो। सिलाउँदा पनि च्यातिने सम्भावना धेरै हुन्छ।' 

यो सर्जरीलाई आत्मसन्तुष्टिको लागि गरिने सर्जरी हो भन्छन् उनी। 'हाइमेन पूर्ण रिपेयर नभए पनि सर्जरीपछि योनीको आकारमा परिवर्तन हुन्छ। जसका कारण श्रीमान वा प्रेमीले आफूलाई भर्जिन ठान्ने भ्रम छ। तर, त्यो त महिला स्वयंलाई थाहा हुने कुरा हो। सर्जरीले उनको दिमागबाट आफ्नो कौमार्य गुमिसकेको कुरा हटाउन सक्छ र?' 

योनीलाई यौन सम्पर्कअघिको जस्तै अवस्थामा ल्याउन वा योनीद्वार कस्नका लागि विभिन्न उपचार र शल्यक्रियाहरु गरिन्छ। तीमध्येका केही भेजिनोप्लास्टी, लाबियाप्लास्टीहरु हुन्। स्वरुप र सुन्दरताका लागि गरिने केही शल्यक्रिया सफल भए पनि च्यातिएको झिल्लीलाई पुरानै अवस्थामा ल्याउन असम्भव रहको दाबी गर्छन् कोलम्बिया युनिभर्सिटी अन्तर्गत् कलेज अफ फिजिसियन एण्ड डाक्टरका प्राध्यापक रुथ एल फिकब्याच।

सन् २००९ मा प्रकाशित जर्नलमा उनले लेखेका छन्, 'हाइमन रिपेयर हुने कुरा होइन। र यसको प्रयास गर्नु पनि ठीक होइन।' 

जर्नलमा जनाए अनुसार शल्यक्रियाको यो विधामा रगतजस्तै देखिने 'जेलाटिन क्याप्सियोल' प्रत्यारोपण गरिन्छ। जुन राखिसकेपछि पहिलोपटक यौन सम्पर्क राख्दा रगतजस्तै पदार्थ श्राव हुन्छ। 

जर्नलका अनुसार सन् २००९ र २०१० ताका अमेरिकामा यो सर्जरी निकै प्रचलित थियो। अहिले भने यो शल्यक्रियाले साँच्चै काम गर्छ वा गर्दैन भन्ने विषयमा छलफल हुन थालेको छ। यसले पारेका असरका कारण प्रश्न उठ्न थालेका छन्।

 

के पार्छ हाइमेनोप्लस्टीले असर

विवाहअघि हाइमेन रिपेयर गराएकी स्वातीले आफू पछुताएको उल्लेख गरेकी छिन्। टाइम्स अफ इन्डियामा उनले लेखेको अनुभवमा भनेकी छिन्, 'आदित्यलाई मैले भर्जिन छु भनेर त ढाँटे तर आफैलाई ढाँट्न सकिन। म भर्जिन भए नभएको कुरा त मलाई थाहा थियो। त्यही कुराले म मानसिक रुपमा विचलित भएँ। 


उनले विवाह सम्बन्धमा कौमार्य रहनु नरहनुले भन्दा बढी दुईबीच प्रेम भए नभएको कुराले महत्व राख्ने लेखेकी छिन्। 


डाक्टर जागेश्वर गौतम पनि मानसिक विचलनलाई यस्ता कस्मेटिक सर्जरीको मुख्य असर मान्छन्। भने, 'मानसिक रुपमै कमजोर भएपछि एउटा अंगलाई राम्रो बनाएर के काम?' 

उनका अनुसार भेजाइनासँग सम्बन्धित विभिन्न शल्यक्रियाहरुले महिलाको यौनाङ्गमा 'इन्फेक्सन' गराउने सम्भावना बढी हुन्छ। 
शल्यक्रियापछिको सम्पर्कमा योनी दुख्ने, योनीको आकार नमिलेको जस्ता समस्या लिएर धेरैजना आएको बताउँछन् उनी। 
'यौन तथा प्रजनन स्वास्थ्यका लागि पनि हाइमेनोप्लास्टी गलत साबित हुनसक्छ,' उनले भने। 

 

सरकारी अस्पतालमा छैन यो सेवा 

निजी अस्पतालहरुमा एकदेखि डेढ लाख रुपैयाँमा यसखाले सर्जरी गरिन्छ। 

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पनि हाइमेनोप्लास्टीको आग्रह हुन थालेको छ। 

'तर हामीले गर्दैनौँ। किनकि म यसलाई चिकित्सा, सामाजिक, शारीरिक, मानसिक कुनै पनि रुपमा सही मान्दिनँ,' उनले भने। 
'योनी नभएका वा छोटो भएका। पाठेघर नभएकाहरु समाधान खोज्दै आउने गर्छन्। उनीहरुको आग्रह सुन्छौं र सम्बोधन पनि गर्छौं। त्यो उनीहरुको आवश्यकता हो, अधिकार हो। तर, हाइमेनोप्लास्टी गर्दैनौं। प्रष्ट भन्छौं, किन? कोही कन्भिन्स हुन्छन्, कोही हुँदैनन्’, उनले बताए।

 

महिला पुरुष असमानताको संकेत 

विवाहको केही दिनपछि स्वाती श्रीवास्तवाको श्रीमानले विवाहअघि आफूले एकजना मात्र नभएर धेरैजनासँग यौन सम्पर्क राखेको नहिच्किचाइ बताएका थिए। त्यो बेला उनलाई आफूले कौमार्य प्रष्ट्याउन गरेको खर्च र बोलेको झुटले नराम्रो महसुस गरायो।

‘त्यो बेला मलाई आफैंसँग निकै हिनताबोध र लज्जा महसुस भयो,’  उनले भने।

डाक्टर गौतम यही पक्षलाई लिएर पनि हाइमेनोप्लास्टी लगायत शल्यक्रिया सुझाउँदैनन्। 

‘विवाह अघि महिला पुरुष दुबैले सम्पर्क राख्छन् भने कौमार्यको प्रमाण किन महिलाले मात्र जुटाउन पर्ने?’ , उनको प्रश्न छ,  ‘पति वा प्रेमीको विश्वास जित्न शल्यक्रिया गर्न तयार महिला पुरुष साथीलाई चाहिँ सजिलै विश्वास गरिदिने?’ 

महिलाहरुले आफ्नो शरीरमाथिको अधिकार नबुझ्नुका कारण पनि महिलाहरु भ्रामक प्रक्रियाको पछि लागेको तर्क उनको छ। 

अमेरिकन सोसाइटी अफ प्लास्टिक सर्जरीले हाइमेनोप्लास्टी र अन्य प्रकारका भेजाइनल सर्जरीको ट्रेन्ड बढेको जनाएको छ। साथै, महिला अधिकारका लागि विश्वभर अभियानहरु चलिरहँदा यस्ता शल्यक्रियाले समानताको नारा र मुद्दालाई कमजोर बनाउने संकेत समेत गरेको छ। 
कोलम्बलिया युनिभर्सिटीको उक्त जर्नलमा लेखिएको छ- राजनीति, शिक्षा, स्वतन्त्रतामा महिला र पुरुग समानताको कुरा हुन्छ। विवाहअघि शारीरिक सम्पर्क राख्न पाउनु पनि उनीहरुको इच्छा तथा व्यक्तिगत स्वतन्त्रताको कुरा हो। तर, हाइमेनोप्लास्टी यो कुराको ठीक विपरीत छ। विपरीत भएर पनि यसको प्रयोग बढ्दो छ। महिलाहरु आफ्नै अधिकारको घेरालाई साँघुरो बनाउँदै छन्। 

हाइमेनोप्लास्टीको सबल तथा दुर्बल पक्षबारे छलफल हुँदै आए पनि यो पूर्णतया ठीक वा बेठीक भन्ने निष्कर्ष निस्किएको छैन। कसैले आफ्नो इच्छा र आवश्यकता अनुसार यो शल्यक्रिया गराउन पाउँछन्। अन्य किसिमका प्लास्टिक सर्जरीजस्तै यसलाई पनि कानुनी वा गैरकानुनी मानिँदैन।  

‘असर र आवश्यकतालाई ध्यानमा राखेर चाहनेले सर्जरी गराउन पाउँछ तर गुमिसकेको कौमार्य फर्किन्छ भन्ने गलत प्रचार हुनु हुँदैन’, गौतम  भन्छन्, 'सकिन्छ भने आफ्नो स्वतन्त्रता र अधिकारको सदुपयोग गरौं। सकिन्न भने व्यायाम लगायत स्वस्थ विकल्प पनि हुन्छन्। खोजौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell