PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डा केसीको ९५% माग पुरा, तर मुटुबिनाको शरीरजस्तो, मुटुबिना मान्छे कसरी बाँच्ने? : गगन थापा



सागर बुढाथोकी

डा केसीको ९५% माग पुरा, तर मुटुबिनाको शरीरजस्तो, मुटुबिना मान्छे कसरी बाँच्ने? : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीको माग पुरा गर्नमा वर्तमान सरकार चुकेको आरोप लगाएका छन्। आज चिकित्सा शिक्षा विधेयकसम्बन्धी आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गरेका थापाले उक्त आरोप लगाएका हुन्।

राजधानीको होटल हार्दिकमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, 'शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डा केसीको माग सदनबाट पास गर्न खोजेका थियौं। तर प्रतिपक्षी दलले विरोध गरेको थियो। अहिले ९५ प्रतिशत माग पुरा भएको छ। ५ प्रतिशत माग पूरा भएको छैन। मुटु ठिक नगरेर अरू अंगमात्र ठिक गरेपछि के हुन्छ? मान्छे मुटुबिना बाँच्छ? डाक्टर केसीको मागमा त्यही भयो।'

सम्बन्धनम‌ै लफडा भएको दाबी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले  एउटा विश्विद्यालयले ५ वटाभन्दा बढी सम्बन्धन थेग्नै नसक्ने बताए। भने, 'यो विश्वविद्यालयले नै स्विकार गरेको थियो। त्यसैले माथेमा प्रतिवेदनमा ५ वटाभन्दा बढीलाई सम्बन्धन दिन सकिदैन भनेर लेखिएको थियो। डाक्टर केसीको १५ औं अनशनमा  सरकारसँग यही सहमति पनि भएको थियो।'

अहिले विधेयक पारित गर्दा काठमाडौंबाहिर ५ वटाभन्दा बढी कलेजलाई एउटै विश्वविद्यालयले सम्बन्धन दिन पाइने बनाइएको  छ। यसरी उपत्यकाबाहिर गुणस्तरमा सरकारले खेलाँची गर्न खोजेको उनको आरोप थियो। प्रश्न गरे, 'के  उपत्यका बाहिर चाहिँ गुणस्तर चाहिन्नँ?'

अहिले डा केसीले उपत्यकाबाहिर कलेज खोल्न पाइदैन भन्ने माग राखेको भन्दै झुट फैलाइएको थापाले बताए। उनले भने, 'डाक्टर केसीले उपत्यका बाहिर कलेज खोल्न नपाईने भन्नू भएको छैन। तर अहिले केसीले उपत्यका बाहिर पनि १० वर्ष कलेज खोल्न नपाउने भनेर अनशन बसे भनेर हल्ला चलाइयो। यो सरासर झुट हो। प्रोपोगान्डा हो।'

त्यसैगरी उनले अहिले पास भएको विधेयकअनुसार सिटीइभिटीले जति पनि अनमी अहेब उत्पादन गर्न दिने बनाएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले भर्खरै २०८० पछि स्वास्थ्य क्षेत्रमा अनमी अहेवलाई नराख्ने निर्णय गरेको बताए। 

यो विधेयकले स्वास्थ्य क्षेत्र भद्रगोल बनाउने काम गरेको उनको तर्क थियो। थापाले भने, 'स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न हेल्थ असिस्टेन्स र स्टाफ नर्स हुनुपर्छ। विधेयकले स्वास्थ्य क्षेत्र भद्रगोले बनाउने काम गर्‍यो। डाक्टर केसीसँगको सम्झौता विपरित गयो।'

शुरुमा आफू पनि केसीको मागसँग सहमत नरहेको उल्लेख गर्दै थापाले पछि बुझ्दा आफै गलत भेटिएको स्पष्ट पारे। भने, 'पहिले म पनि डाक्टर केसीसँगको सबै मागसँग सहमत थिइनँ। उहाँलाई जिद्दी नगर्नु भन्थे। तर बुझ्दै जाँदा म गलत रहेछु। डाक्टर केसी सही रहेछन्। माथेमा प्रतिवेदन ठीक रहेछ। स्वास्थ्य क्षेत्रको भद्रगोल रोक्न यो गर्नुको विकल्प छैन रहेछ।'

डा केसीसँग गरेका सबै सम्झौता पूरा गर्छु भनेर सरकारका मन्त्रीले नै भने पनि त्यो पुरा नगरेको उनले बताए।

सांसद थापाले अबको संसदमा फरक मत राख्ने बताएका छन्। उनले भने, 'अब संसदमा म फरक मत राख्छु। सरकारले चाह्यो भने अबको बैठकमा सरकारले सजिलै डाक्टर केसीको माग पूरा गर्न सक्छन्। त्यसको लागि प्रधानमन्त्रीले चासो देखाउनुपर्छ। उहाँले त्यो गर्नु भयो भने त्यो उहाँकै जित हो। न त कांग्रेसको जित हो न केसीको। त्यसैले प्रतिष्ठाको विषय नबनाई सहमति पालना गर्न म विनम्र अनुरोध गर्छु।'

पागल हामी, लाज हामीलाई लाग्नुपर्ने


मानिसहरूले डा केसीलाई पागलको संज्ञा दिएको उल्लेख गर्दै थापाले हामी आफै पागल भएको दाबी गरे। भने, 'मानिसहरुले गोविन्द केसीलाई पागल भन्छन्, पागल त हामी हौ। मानिसहरू डाक्टर केसीलाई लाज लाग्नुपर्ने भन्छन्, लाज त हामीलाई लाग्नुपर्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell