PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अंग्रेजीमा मुखमुखै लागेको भन्दै प्रहरीद्वारा कुटपिट



पहिलोपोस्ट

अंग्रेजीमा मुखमुखै लागेको भन्दै प्रहरीद्वारा कुटपिट

काठमाडौँ : गएको आइतबार राति करिब साढे ९ बजेतिर (बाग्लुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत बजारबाट फर्किँदै थिए। उनीसँगै थिए साथीहरु बिक्री गैरे र कृष्ण खत्री। 

घर पुग्नुअघि प्रहरी बिट थियो। त्यहाँ पुगेपछि प्रहरीले उनीहरूलाई सोधपुछको लागि रोक्यो। प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले उनीहरूलाई सोधपुछ गर्दै थिए। केही समयमा नै उनीहरू बीच भनाभन सुरु भयो। त्यसपछि एकाएक माहौल बिग्रियो। कुटाकुट हुन थाल्यो। मदिराले लठ्ठिएका उनीहरूमाथि प्रहरी हाबी हुनपुग्यो। प्रहरीको सबैभन्दा बढी निशानामा परे सोमबहादुर। 

सोमबहादुरमाथि प्रहरीले जथाभावी लट्ठी र बुट बजार्न पुग्यो। कृष्ण भन्छन्, ’हामी घर फर्किँदै थियौँ। प्रहरीले ‘ए मा साला हो’ भन्यो।

सोमबहादुरले  अङ्ग्रेजीमा ‘ह्वाट डु यु मिन बाई मा साला’ भनेर प्रश्न गर्नुभयो। त्यसपछि प्रहरीले अमेरिका हो कि अष्ट्रेलियामा हो, अङ्ग्रेजी छाँट्छन् भन्दै भकुर्न थाल्यो।‘

करिब ४ सय मिटरको दूरीमा बस्नेतको घर छ। उनी लर्खराउँदै घर पुगे।

‘खाना खान आउनु भएन। म सुत्छु भनेर जानुभयो। तर सुत्न सक्नु भएन। कोखा घोच्यो भन्नुभयो,‘ बस्नेतकी श्रीमती कृष्णाले सुनाइन्। 
उनलाई तत्काल स्थानीय आरती अस्पतालमा पुर्या इयो। सामान्य उपचारपछि उनी राति नै घर फर्किए। ‘घर फर्किएपछि पिसाब आयो भन्दै बाथरुम जानु भएको उहाँ त्यही बेहोस हुनुभएछ। त्यसपछि केही बेरमा होस आयो फेरि बेहोस हुनुभयो,‘ फेवा सिटी अस्पतालमा श्रीमानको हेरचाह गरिरहेकी कृष्णाले सुनाइन्।

प्रहरी निरीक्षक केशव सिंह थापा प्रहरीले कुटपिट गरेको स्वीकार गर्छन्। भन्छन्, ’हाम्रो जवानहरूले कुटपिट गरेको देखियो। विवाद बढ्दै गएपछि घटनाले गम्भीर रूप लिएछ। हामी थप अनुसन्धान गरिरहेका छौँ।‘

स्थानीय अस्पतालमा उपचार नभएपछि बस्नेतलाई पोखराको फेवासिटी अस्पतालमा लगिएको हो। बस्नेतको चार दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो। बस्नेतको शरीरमा ५० भन्दा बढी टाँका लगाइएको छ। उनको पिसाब नलीसमेत फुटेको छ। 

‘पिसाबको नली फुटेको छ। चार दिनदेखि केही पनि खानुभएको छैन। एकदम गम्भीर अवस्था छ। निर्दयी प्रहरीले कुट्नु कुटेछ,‘ कृष्णाले भनिन्।
सोमबहादुर सँगै भएका अन्य साथीको अवस्था भने सामान्य नै छ। ‘मैले हातले केही प्रहरीको लात्ती ब्लक गरे तर उहाँलाई मिलेर कुटेका हुन्,‘ खत्रीले भने। 

प्रहरीले ठूलो गल्ती गरेको र कुटपिट गरेकाले उचित क्षतिपूर्ति र कारबाहीको लागि कदम अगाडि बढाएको  गलकोट नगरपालिकाका मेयर भरत शर्माले बताए। मेयर शर्माले भने, ’गल्ती भएको भए प्रहरीले कारबाही गर्न सक्थ्यो। हिरासतमा लिनुपर्ने हो तर यसरी कुटपिट गर्नु मानवअधिकार विपरीत हो। हामीले प्रहरीलाई कारबाहीको लागि माग गरेका छौँ।‘

जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दिपक रेग्मीले प्रहरीको गल्ती भएकाले कारबाही सुरु गरेको बताएका छन्। 

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ। एसपी रेग्मीले भने, ’प्रहरीको गल्ती देखिएको छ। हामी दुवै जना प्रहरीलाई कारबाही गर्छौं।‘  रिसइवीको कारण कुटपिट गरेको भए सेवाबाट नै निलम्बन गर्ने तयारी भइरहेको छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell