PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

#10yearschallenge: पुराना यादहरुको सम्झना, यसरी भइरहेको छ सामाजिक सञ्जालमा भाइरल



पहिलोपोस्ट

#10yearschallenge: पुराना यादहरुको सम्झना, यसरी भइरहेको छ सामाजिक सञ्जालमा भाइरल

तपाईँ १० वर्षअघि कस्तो देखिनु हुन्थ्यो? तपाईँको गाउँघर कस्तो देखिन्थ्यो?

प्रविधि र आधुनिकीरणसँगै एक दशकमा धेरै कुरा परिवर्तन भइसके।

तर अहिले फेरि मानिसहरु आफ्ना १० वर्ष अघिका यादहरु ताजा गर्दैछन्। सामाजिक संजालको माध्यमबाट।

अहिले फेसबुक, ट्वीटर¸ इन्स्टाग्राम लगायतका सामाजिक संजालमा #10YEARSCHALLENGE (दश वर्षे च्यालेन्ज)  भाइरल भइरहेको छ।

सामाजिक संजाल प्रयोगकर्ताहरु आफ्ना दश वर्ष अघिका तस्विर र अहिलेको तस्विर राखेर पोस्ट गरिरहेका छन्।

सामाजिक सञ्जालमा यस्ता च्यालेन्ज आइरहेका हुन्छन्। तर यो च्यालेन्ज भने केही दिनमै भाइरल हुन पुगेको हो। यो च्यालेन्ज कहाँ र कसरी सुरु भयो भनेर भन्न सकिएको छैन। यद्यपि यो फेसबुकबाट प्रेरित भएको विश्वास गरिएको छ।

फेसबुकले सबै प्रयोगकर्तालाई आफूले पोस्ट गरेको पुराना सामाग्री 'मेमोरी' का रुपमा देखाउँदै आइरहेको छ। मानिसहरुले त्यसैको नक्कल गर्दै यो च्यालेन्ज सुरु गरेको अनुमान गरिएको छ।

#10YEARSCHALLENGE  लाई #HowHardAgingHitYou  र #GlowUpChallenge  भनेर पनि भन्ने गरिएको छ।

खासमा १० वर्षयता मानिसमा आएको बदलावको बारे जानकारी दिन यो च्यालेन्ज सुरु गरिएको बताइएको छ। उमेर बढेसँगै शाररीक र प्राकृतिक रुपमा आउने परिवर्तनलाई महसुस गर्न र त्यसलाई सबैमाझ साझा गर्न यो च्यालेन्जले सहयोग गरेको छ।

दश वर्षअघि सामाजिक सञ्जाल र 'फोटो फिल्टर'हरुको त्यति प्रयोग हुँदैनथे। त्यसैले पनि सामाजिक सञ्जाल, फोटोग्राफी र व्यक्तिहरुको फेसन शैलीमा आएको 'युगान्तकारी परिवर्तन'का कारण २०१९ मा उनीहरुको पहिलाका यादहरु साटासाट गर्ने माध्यम यो च्यालेन्ज भएको छ।

फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा #10YEARSCHALLENGE स्वीकार गरेर आफ्नो दश वर्षअघिको फोटो र अहिलेको फोटो राख्ने शैली बढ्दै गएको छ।

हलिउड सेलिब्रेटीहरुले खुलेर यो च्यालेन्जमा सहभागिता जनाइरहेका छन्। निक वेल, ग्राबिल्ले युनियन, केट हडसन , निकी मिनाज,  नि यो, रिस्स विथरस्पुर, जस्टिन बाल्टोनी लगायतका कलाकारहरुले आफ्ना इन्स्टामा आफ्नो १० वर्षअघि र अहिलेको तस्विर राखेका छन्।

यो च्यालेन्ज भाइरल भएसँगै द गार्डियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरु १० वर्षअघि कस्तो देख्थे भनेर एउटा फिचर नै तयार गरेको छ। पछिल्ला केही दिनहरुमा धेरै सेलिब्रेटीहरुले यो च्यालेन्ज मानेर आफ्ना तस्विरहरु राखेको तर ट्रम्प प्रशासनका कोहीले यो च्यालेन्ज स्वीकार नगरेको भन्दै गार्डियनले अमेरिकी उपराष्ट्रपति माइक पेन्से, प्रेस सेक्रेटरी साराह सान्डर्स , ट्रम्पका छोरी ज्वाइँ इभानका ट्रम्प र जारेड कुसनर लगायतका तस्विरहरु सार्वजनिक गरेको छ।

केही ट्विटर प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा बाराक ओबामा राष्ट्रपतिका रुपमा रहेको बेलाको डाइनिङ रुमका तस्विर र हालै सार्वजनिक भएका ट्रम्पको तस्विरको तुलना गरेका छन्। 
 

सीएएनले समेत ट्रम्प, मिसेल ओबामा लगायतका तस्विररुलाई फिचर बनाएको छ।

बलिउड कलाकारहरु सोनम कपुर, राज कुमार राव, सोनु सुद, इश्हा गुप्ता, श्रृति हसन,  डायना पेन्टी, हुमा कुरेसी लगायतले यो च्यालेन्जमा सहभागी भएका छन्।

ट्रम्प जस्तै भारतीय नेताहरुको मेमे समेत बन्न थालेका छन्। इन्डिया टुडेले भारतीय प्रधानमन्त्रीको अंकमाल गर्ने प्रवृतिमाथि व्यंग गर्दै पहिले मुकेश अम्बानीसँग अंकमाल गरिरहेका मोदी अहिले डोनाल्ड ट्रम्पलाई अंकमाल गर्ने अवस्थासम्म पुगेको 'सिरियल हगर' भनेर उल्लेख गरेको छ। उसले भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी , बहुजन समाज पार्टीकी अध्यक्ष मायावती लगायत नेताहरुको तस्विर प्रकाशन गरेको छ।

हलिउड र बलिउडमा यो च्यालेन्ज निकै भाइरल भएसँगै यसले नेपाली कलाकारिता क्षेत्रमा पनि प्रवेश पायो। 

नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा यो च्यालेन्ज अन्तर्गत तीनवटा तस्विर सार्वजनिक गरेकी छिन्। २००८ र २०१८ मा खिचिएका आफ्ना तस्विरहरु उनले सार्वजनिक गरेकी हुन्।

यस्तै पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, मलिना जोशी , नायक सरुक ताम्राकार लगायत पनि यो च्यालेन्जमा सहभागी जनाएका छन्।

#10YEARSCHALLENGE लाई मनोरञ्जनात्मक रुपमा लिइए पनि यसलाई मानिसहरुले आफ्नो वातावरण, रहनसहन मा आएको परिवर्तन, समाजमा घटिरहेका घट्नाहरुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गराउँदै मानिसहरुलाई सचेत गराउन समेत प्रयोग गरेका छन्। मानिसहरुले यो दश वर्षमा भएको सिरिया युद्ध, नेपालको संघीयतामा रुपान्तरण जस्ता विषयहरु समेत उठान गरेका छन्।

ट्रेन्डिङ नेपाल भन्ने पेजले अनसनरत डा. गोविन्द केसीको माग पूरा नहुने भयो भन्दै सरकारमाथि व्यङ्ग्य गरेको छ।

सामाजिक संजालमा भाइरल हुनु र त्यसको रेकर्ड अरुले तोड्नु कुनै नौलो होइन।

केही वर्षअघि प्लानकिङ च्यालेन्ज भाइरल हुँदा मानिसहरुले विभिन्न स्थानमा सुतेर आफ्ना फोटोहरु सामाजिक संजालमा राखेका थिए। बाटो, होर्डिङ बोर्ड, रेफ्रिजिरेटर भित्रै मानिसहरु पल्टेको फोटोहरु भाइरल भएका थिए।

हट वाटर च्यालेन्ज, फायर च्यालेन्ज, हरलम सेक,  आइस बकेट च्यालेन्ज लगायत च्यालेनजहरुले मानिसहरुलाई सामाजिक सञ्जालमा समयसमयमा मनोरञ्जन दिँदै आइरहेको छ। सन् २०१९ को पहिलो च्यालेन्जले केही दिनैमै सामाजिक सञ्जालमा हंगामा मच्चाइसकेको अवस्थामा वर्षभरि आउने यस्ता च्यालेन्जहरुको प्रतीक्षामा सञ्जाल प्रयोगकर्ताहरु हरसमय तयार नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell