PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

काठमाडौँका गल्लीमा हिँडिरहँदा भूकम्प आयो भने के गर्ने : किन सेलायो भूकम्प सुरक्षाका बहस?


पहिलोपोस्ट

काठमाडौँका गल्लीमा हिँडिरहँदा भूकम्प आयो भने के गर्ने : किन सेलायो भूकम्प सुरक्षाका बहस?

  • दीपज्योति श्रेष्ठ -
आज ‘भूकम्प सुरक्षा दिवस’। बिहान उठ्नासाथ पहिलो काम सबै पत्र-पत्रिकाहरुमा भूकम्प सुरक्षा सम्बन्धि केही नयाँ बहस छ कि छैन भनेर सरसर्ती हेरें। प्राय: सबैमा उही भूकम्प सम्बन्धि किंवदन्तीका कुरा, पुनःनिर्माण कहाँ पुग्यो भन्ने कुरा अनि प्रधानमन्त्री र पुनःनिर्माण प्राधिकरणले यसो भने उसो भने भन्ने नै थियो। तर मेरो ध्यान भने सुरक्षा दिवस भनेपछि बढी बहसहरु सुरक्षाको दृष्टिकोणबाट जस्तै विपद व्यस्थापन अनि ओपन स्पेसको प्रसपेकटिभहरुबाट छन् कि भन्ने आशा  थियो। 

सम्भवत: हाम्रो पुस्ताले महसुश हुनेगरी भूकम्प भोगेको पहिलो पटक होला वैशाख १२, २०७२ जसको कम्पन र परकम्पनहरुले अझै पनि हाम्रो मन मस्तिष्कलाई हल्लाइरहेकै छ। १९९० को भूकम्पको बारेमा त हामीले हजुरबुबा हजुरआमाबाट किंवदन्तीहरुमा मात्र सुनेका हौँ। २०३७ र २०४५ को पनि खासै स्मरणमा छैन किनकि त्यतिबेला सायद हामी धेरै साना थियौं। त्यही भएर फिल्म र कथामा बाहेक हाम्रो पुस्ताले पहिलोपटक ठूलो भूकम्प अनुभव गरेको यो नै पहिलोपटक हो भन्दा खासै फरक नपर्ला।

वैशाख १२ को भूकम्प हाम्रो लागि ठूलो शिक्षा भयो। सुरक्षाको पाटोमा हामी धेरै चुकेको हामीले महसुस पनि गर्‍यौँ र हामीले विश्लेषण पनि गर्‍यौँ। बच्चैदेखि हामीलाई सिकाउदै आएको भूकम्प आउदा घरभित्र भए टाउको छोपेर खाटमुनि बस्ने, ढोकाको कापमा लुक्ने, दराजको आडमा बस्ने भन्ने कुराहरु सुरक्षाको दृष्टिकोणले हाम्रोजस्तो संरचना हुने ठाउँमा गलत रहेछ भन्ने साबित भयो, भूकम्पले होइन संरचनाले मान्छे मार्ने रहेछ भन्ने अर्को कुरा पनि सिक्यौं। किनकि यसपालिको भूकम्पमा अधिकांस घरहरु हाम्रो गाउँहरुमा ढल्यो जुन बिना इन्जिनियरिङ बनाइएको थियो।

भूकम्प लगत्तै हाम्रोमा यी सब कुराहरुको बहस नभएको होइन तर भूकम्पका धक्काहरु हराउँदै जादा हाम्रो बहसहरु पनि सेलाउँदै गएको भने अवश्य हो। हुन त भूकम्प पछिको पुन:निर्माणको क्रममा घरहरु सरकारले तोके बमोजिम इन्जिनियरिंग हिसाबले नै बन्न पनि थाले, कति बनि पनि सके, कति बन्दै छन् तर के भूकम्प सुरक्षाको कुरा गरिरहदा घर र सम्पदा पुनःनिर्माणले मात्र समेट्छ त भूकम्प सुरक्षाका पाटाहरु?

भूकम्प सुरक्षा भनेर पुर्व भूकम्पहरुलाई मात्र सम्झेर बिलौना गरिरहने कि अब त्यसबाट सिकेका कुराहरुलाई लागु गराउन लागिपर्ने, बहस गर्ने? के भूकम्प सुरक्षाको कुरा गर्न खालि माघ २ या वैशाख १२ लाई मात्र कुर्नुपर्ने हो र?

हामी सबैले अनुभव गरेकै कुरा हो प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन। अझ हाम्रो जस्तो देश जुन जहिले भूकम्पको जोखिममा छ त्यहाँ भूकम्पको सुरक्षाका कुराहरुमा राज्य र नागरिकको स्तरमा निरन्तर बहसहरु भइराख्नु पर्छ कि पर्दैन?

वैशाख १२ पछि मलाई भूकम्प सुरक्षाको कुराहरुमा निकै चासो बढ्न थालेको छ। सायद त्यतिबेला ‘मर्दै, मर्दै, बाँचेर’ पनि होला। झन् किन हो मलाई यो काठमाडौं भूकम्पको दृष्टिकोणले निकै जोखिम लाग्छ। जता हेर्‍यो घरै घर, मान्छे-मान्छे। खाली ठाउँ कतै छैन। अक्सर काठमाडौंको गल्ली अनि सडकहरु (असन, इन्द्रचोक, ठमेल, पुतलीसडक, नयाँ बसपार्क) मा हिँडिरहदा सार्है डर लाग्छ। जहिले दिमागमा एउटा कुरा आउँछ यहाँ हिडिरहेको बेला भूकम्प गयो भने कहाँ जाने, कहाँ भाग्ने?

कहिलेकाहीँ मीटिंगहरुमा जानुपर्छ सुरुमा मलाई चासो भेन्यु कहाँ छ भन्नेमा हुन्छ। साह्रै अग्लो होटल, बिल्डिङहरुमा छ भने अक्सर म जान खोज्दिन। साँच्ची नै त्यो बेला भूकम्प गयो भने के गर्ने। शहर यति सफोकेटेड भइसक्यो कि घर र मान्छे बीच नै चेपिन्छु कि मारिन्छु कि जस्तो लाग्छ। पहिला-पहिला धुलोले निसास्सिएरै मर्ने भो, यो शहरमा सास फेर्ने खुला ठाउँ भए कति जाती हुन्थ्यो जस्तो लाग्थ्यो तर आजकल भूकम्प आएपछि भाग्ने खुला ठाउँ भएहुन्थ्यो यो शहरमा, मेरो टोलमा जस्तो मात्र लाग्छ।

साँच्ची भन्ने हो भने काठमाडौंमा औंलामा गन्न सकिने केहि मात्र खुला सार्वजनिक ठाउँहरु छन् जस्तै टुडिखेल, रंगशाला। त्यै पनि टुँडिखेल त दिनानुदिन हेर्दाहेर्दै सानो हुदैछ। यत्रो जनसंख्या र घरको घनत्व भएको देशको राजधानीमा खुला ठाउँहरुको कुरा गर्ने हो भने ज्यादै न्यून छ।

यसको अनुभव त हामीले वैशाख १२ र वैशाख २९ मा मज्जाले गर्यौं पनि। झन् यो तीन वर्षमा ती मध्य कतिवटा त घटीपनि सक्यो होला।

पुनःनिर्माणले पनि खासै समेट्न सकेको छैन ओपन स्पेसको कन्सेप्टलाई। हुन पनि हो पहिला सबैलाई बस्ने बास बनि हालोस्, भत्किएका संरचनाहरु देख्न नपाए हुन्थ्यो भन्ने चाहना हुन्छ तर अब के त? पुनः निर्माण सकेपछि के हाम्रो बहस उही भूकम्प जाँदा टाउको छोपेर लुक्नेनै हो कि अरु त? 

वैशाख १२ मा १-२ हप्तै घर बाहिर खुला ठाउँमा बसेको हामीलाई अझै याद छ होला। निरन्तरको परकम्पनहरुबाट बच्न गाउँमा त प्राय: खालि ठाउँहरु थिए र सजिलो थियो तर काठमाडौंमा धेरै मान्छे थोरै ठाउँ थियो तैपनि पायक पर्ने हिसाबले हामी बसेका थियौं। मलाई अझै याद छ घरनिर एउटा बाजो खेत थियो हामी सबै टोलका मान्छे त्यही बसेका थियौं तर भूकम्पको यो तीन वर्षमा पुन:निर्माणले के कति प्रगति गर्यो थाहा छैन तर हाम्रो टोलको त्यो बेलाको त्यो खाली ठाउँले भने निकै प्रगति गरिसक्यो, त्यहाँ ४-५ वटा अग्ला घरहरु बनिसके।

अब कथंकदाचित अर्को भूकम्प आयो भने हाम्रो टोल जुन काठमाडौं शहरभन्दा अलिक पर छ, गाउँजस्तै भन्ने गरिन्छ त्यहाँ त खुला ठाउँहरु भेटिन गाह्रो भइसक्यो भने मुख्य शहरमा बस्नेलाई यो पिरले कति सताउछ होला? साँचीनै घरमा भएको बेला भूकम्प आईहाल्यो भने घरको कौसी बाहेक भागेर जाने ठाउँ काही छैन, तल झर्यो साँघुरो गल्लिमै च्यापिएला भन्ने पिर, परसम्म खालि ठाउँनै छैन। 

भूकम्प आउदा ‘खुला ठाउँमा जाने, खुला ठाउँमा जाने’ त भन्छौं तर खै त खुला ठाउँ? कतिवटा छन् तपाईंको, मेरो, उनको, हाम्रो घर वरपर, काम गर्ने ठाउँ वरपर, हिंडडुल गर्ने ठाउँ वरपर खुला ठाउँहरु? के हामीले कहिल्यै खुला ठाउँहरु प्रति चासो देखायौं?

भूकम्प यो एकपटक आयो अर्को पटक आउन्न भन्ने होइन। जहिले पनि आयो त्यसले हरेक पटक केही न केही पाठ सिकाएर गयो। तर हामीमा ‘शर्ट टर्म मेमोरी’ हावी हुँदैछ। आउँदा सब कुरा अब मिलाउनुपर्छ भन्ने सोच्छौं। अनि केहि दिन पछि सब बिर्सन्छौं। हामीलाई इन्जिनीयरले भनेको घरले नपुगेर किस्ता लिइसकेपछि फेरि उही पाराले घर ठड्याउन हतार भइसक्यो। चर्किएका बिल्डिंग, भवन, होटलहरु भत्काएर बनाउन किन फेरि पैसा खर्च गर्नु भनेर टालटुल गरेर, रंग भरेर फेरी उही पारामा उभ्याउन त भूकम्पको एक वर्ष नबित्दै चटारो भएकै हो। असुरक्षित भनिएका अधिकांश भवनहरु हेर्दाहेर्दै एक महिनामै जस्ताको तस्तै बनेकै हो। अनि यसरी हामी सुरक्षित हुने कहिले? न त्यो घर, बिल्डिंगहरुको निरीक्षण कसैले गरेको छ न कम्प्लेन। अब अर्को पटकको भूकम्प नआउँदासम्म फेरी सुरक्षाका कुराहरु उही पुनःनिर्माण प्राधिकरणको मात्र ठेक्का जस्तो भइसक्यो।

स्थानीय तहहरु नभएर भूकम्पको समयमा विपद व्यवस्थापनको लागि धेरै गाह्रो भो भन्ने निकै चर्चा थियो। अहिले त स्थानीय तहहरु छन्। अब विपद व्यवस्थापनको जिम्मा स्थानीय तहलाई पूर्ण रुपमा दिनुपर्छ। आफ्नो स्थानीय तह भित्रका संरचनाहरु कतिको सुरक्षित छन्, कति खुला ठाउँहरु छन् भन्ने निरीक्षण र कारवाही गर्ने जिम्मा उनीहरुले लिनुपर्छ। प्रत्येक स्थानीय तहले ओपन स्पेसको कन्सेप्टहरु ल्याउनुपर्छ।

प्रत्येक वडा, नगरपालिका, गाउँपालिकाहरुले आफ्नो ठाउँहरुमा खुला ठाउँहरु बनाउने कामको थालनी आ-आफ्नो ठाउँहरुबाट सुरु गर्नुपर्छ नत्र उही भूकम्प सुरक्षा दिवस भन्दै कार्यक्रम र विज्ञापनमा मात्र बजेट सकेर हामी कदापी सुरक्षित हुँदैनौं। सुरक्षित घर बनाउने जिम्मा हामी नागरिकको तर सुरक्षित खुला ठाउँहरु बनाउने जिम्मा भने स्थानीय तह र सरकारको। नत्र उही हाम्रो पुस्ता भूकम्प भनेको पुनःनिर्माण मात्र भन्ने कुरामा रुमलिनेछन् अनि भूकम्प सुरक्षा झटपट झोलामा मात्र सीमित हुनेछ।
 



काठमाडौँका गल्लीमा हिँडिरहँदा भूकम्प आयो भने के गर्ने : किन सेलायो भूकम्प सुरक्षाका बहस? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट