PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आर्नोल्ड क्लासिकको विजेता रोली विङ्कलार नेपाल आउने



पहिलोपोस्ट

आर्नोल्ड क्लासिकको विजेता रोली विङ्कलार नेपाल आउने

काठमाडौँ : सन् २०१८ का 'आर्नोल्ड क्लासिक अष्ट्रेलिया'को विजेता रोली विङ्कर नेपाल आउने भएको छन्। अर्को महिना (फेब्रुअरी) मा नेपालमा पहिलो पटक आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा ‘गेष्ट पोजर’ का रूपमा डच रोली विङ्कलार नेपाल आउने भएका हुन्।

उक्त प्रो क्वालिफायरको आयोजक आइएफबीबी लिग नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै विङकलर नेपाल आउने घोषणा गरेको हो। सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका रोली २०१८ मा तेस्रो भएका थिए।

प्रो क्वालिफायर फेब्रुअरी १५-१५ (फागुन ३-४ गते) कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ।

बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ। 'फुटबलको वर्ल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो। प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन।'

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन्। उनले रोली विङ्कलरलाई नेपालमा ल्याउन सक्नु ठूलो सफलता हुने समेत बताए।

‘द बिष्ट’ र ‘ सामुराई’ को उपनामले चर्चित विङ्कलार विश्वको सबैभन्दा ठूलो ज्यान भएको व्यक्तिको रुपमा लिइन्छ। उनी चार दिनको लागि नेपाल आउन लागेका हुन्।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग प्रो क्वालिफायरमा भाग लिन विश्वका सय भन्दा बढी देशका बडिबिल्डरहरु नेपाल आउँदैछन्।

प्रो क्वालिफायरमा चार क्याटेगोरी ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ। चार क्याटेगोरीको विजेताले मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन्।

'प्रो कार्ड जितिसकेका खेलाडीहरु पनि यस क्वालिफायरमा खेल्न आउन इच्छुक छन्। यो क्वालिफायर नेपाली खेलाडीहरुको लागि पनि राम्रो प्ल्याटफर्म हो। हामी नेपालबाट राम्रो खेलाडीहरुलाई छानेर प्रतिस्पर्धा गराउनेछौँ।' आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले बताए।

प्रो क्वालिफायरमा सहभागिता जनाउने विदेशी खेलाडीले २५० र नेपाली खेलाडीले २०० अमेरिकी डलर दर्ता शुल्य तिर्नुपर्ने गुरुङले जानकारी दिए।

केही समय अघि मात्र नेपालका महेश्वर महर्जनले विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्समा ७५ केजी तौलमा स्वर्ण पदक जितेका थिए।

महेश्वरले पनि प्रो क्वालिफायर खेल्न भन्ने जिज्ञासामा सानु गुरुङले भने, 'मैले महेश्वरलाई पनि भनेको छु। उसले खेलेको प्रतियोगिता र यसमा फरक छ। तर उसले खेल्यो भने नेपालले पनि प्रो कार्ड जित्ने सम्भावना छ।'

थाइल्याण्डमा भएको प्रतियोगितामा च्याम्पियन बनेका महेश्वरले भने अबको लक्ष्य मिस्टर युनिभर्स जित्नु रहेको बताइसकेका छन्।

प्रो क्वालिफायरमा अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने आयोजकले जनाएको छ। यस्तै जजहरु समेत विदेशबाट नै आउने सानु गुरुङले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell