PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बिचौलिया र कमिशनखोरले देश चलेको छ, प्रमुख दलका नेताबिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन : बाबुराम



पहिलोपोस्ट

बिचौलिया र कमिशनखोरले देश चलेको छ, प्रमुख दलका नेताबिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन : बाबुराम

काठमाडौं : देशका ठूल्ठूला भ्रष्टाचार काण्डमा प्रमुख दलका प्रमुख नेताहरुको संलग्नता हुने गरेको आरोप पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगाएका छन्।

नयाँ शक्ति पार्टी नेपालका संयोजकसमेत रहेका डा.भट्टराईले वाइडबडी विमान खरिद प्रकरणको भ्रष्टाचार, एनसेल कर छलीको भ्रष्टाचार र बूढीगण्डकीको भ्रष्टाचार जस्ता काण्डहरु प्रमुख दलका प्रमुख नेताहरुकै संलग्नतामा हुने गरेको आरोप लगाएका हुन्।

वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा.भट्टराईले एक दर्जन बिचौलिया र कमिशनखोरले देश चलाइरहेको दाबीसमेत गरे।

‘दर्जन जति बिचौलियाहरुको भागवण्डाले देश चलेको छ। प्रमुख दलका प्रमुख नेताहरुको संलग्नता बिना यत्रो ठूला भ्रष्टाचार काण्ड हुनै सक्दैन,’ कार्यक्रममा डा.भट्टराईले भने,‘वाइडबडी, एनसेल र बुढीगण्डकी जस्ता भ्रष्टाचारमा यिनीहरुको संलग्नता छ।’

वाइडबडी भ्रष्टाचारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको पनि मिलिमतो रहेको दाबी उनले गरे। दुबै दलले नेताहरुलाई जोगाउने र साना कर्मचारीलाई फँसाउने काम गरिरहेको उनले बताए।

‘केही दिनअघि बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच छलफल भएको थियो। त्यहाँ केही सहमति भएको थियो। त्यही बेला मलाई मनमा चिसो पसेको थियो,’ डा.भट्टराईले भने,‘पछि प्रचण्डजीले चितवनमा गएर भन्नुभयो सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रिय सहमति भएको छ भनेर। अनि मैले बल्ल थाहा पाएँ सहमति वाइडबडी भ्रष्टाचारमा भएको रहेछ।’

वाइडबडी भ्रष्टाचार छानविनका लागि सर्वदलीय, सर्वपक्षीय शक्तिशाली संसदीय समिति बनाउनु पर्ने नयाँ शक्ति पार्टीले माग गरेको छ। 

कार्यक्रममा डा.भट्टराईले वाइडबडीका बारे सरकारले गठन गरेको छानविन समिति भ्रष्टाचारलाई ढाकछोप गर्न बनाइएको दाबी गरे। उनले सर्वपक्षीय प्रतिनिधि सभा सदस्यहरुको संसदीय समिति बनाएर छानविन गर्नु पर्ने माग गरे।

अहिलेका संसदीय समितिहरुमा पनि सत्तापक्षको बहुमत भएको र सीमित दायरा भएकोले काम गर्न अप्ठेरो भएको उनले दाबी गरे।

वाइडबडीको सुरुवात आफू अर्थमन्त्री भएको बेला भएको जानकारी दिँदै डा.भट्टराईले २०६५ सालको बजेट भाषणमा आफूले वाइडबडी खरिद गर्ने उल्लेख गरेको बताए। 

निजी कम्पनीहरुसँग विदेश उडान भर्ने क्षमताको जहाज ल्याउने अवस्था नभएकोले  वायुसेवा निगमले नै लगानी गर्नु पर्ने भएकोले आफूले वाइडबडी खरिद गर्ने तयारी गरेको उनले बताए। 

यति ठूलो लगानी सरकारको जमानत बिना हुन नसक्ने भएकोले नयाँ जहाजका लागि सरकार जमानत बस्ने तयार भएको उनले जनाए। 
तर अहिले सबैको मिलेमतोमा भ्रष्टाचार भएको डा.भट्टराईले दाबी गरे।  
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell