PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनमा पक्राउ परेका क्यानडाली नागरिकलाई माफी दिन आग्रह



चीनमा पक्राउ परेका क्यानडाली नागरिकलाई माफी दिन आग्रह
फोटो : REUTERS

मन्ट्रीयल : क्यानडाले लागूऔषधको ओसारपसार गरेको आरोपमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ। क्यानडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानडाबीच कुटनीतिक विवाद चुलिएको छ।

क्यानडाले चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ। चीनले भने उक्त आरोप खारेज गरेको छ। चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा वृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय दिएको थियो।

गत वर्षको डिसेम्बरमा चिनीयाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको छ।

'हामीले क्यानडास्थित चिनीयाँ राजदूतसमक्ष यस बारेमा कुरा राखिसकेका छौं र हामीले क्यानडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,' क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले भने।

विदेशमन्त्री फ्रील्यान्डले क्यानडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरण गरे।

'हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,' उनले भने।

हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनमा पक्राउ गरिएको छ।

ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले 'शरीर बन्धक राजनीति' गर्न थालेको आरोप लगाएका छन्।

चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell